स्थानीय तहलाई राजस्व असुलीमा दबाब

स्थानीय तहले लक्ष्य अनुसार राजस्व असुली गर्न सकेका छैनन् । आर्थिक वर्ष सकिन एक महिनामात्रै बाँकी रहेको अवस्थामा पनि राजस्व असुलीमा दबाबको अवस्था कायमै रहेको छ । आर्थिक वर्षको अन्त्यतिर आइपुग्दासम्म पनि अधिकांश पालिकाहरूलाई राजस्व संकलनमा समस्या देखिएको हो । कुनै पालिका लक्ष्यको नजिक पुगेका छन् भने कुनैमा ५० प्रतिशत पनि संकलन भएको छैन ।
तुलसीपुर उपमहानगरपालिकामा चालु वर्षको दश महिनामा आन्तरिक राजस्वतर्फ १२ करोड ६४ लाखमात्रै संकलन भएको छ । पालिकाले ४० करोडको लक्ष्य लिएको छ । आर्थिक वर्षको अन्त्य नजिकिएकोले यो वर्ष लक्ष्यअनुसार राजस्व संकलन गर्न नसक्ने पालिकाले जनाएको छ । गतवर्ष पनि पालिकाले लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको थिएन । पालिकाले अहिले नदीजन्य पदार्थ, भूमिकर, मनोरञ्जन कर, घर नक्सा पास करलगायत १७ वटा शीर्षक कर संकलन गर्ने गरेको राजस्व शाखा प्रमुख ललित घर्ती बताउँछन् ।
यो वर्ष लक्ष्यअनुसारको कर संकलन गर्न नसके पनि आर्थिक वर्ष अन्तिमसम्म करिब २८ करोडसम्म राजस्व संकलन हुने उनको भनाइ छ । यो वर्ष सबै क्षेत्रमा आर्थिक मन्दी छाएकोले पालिकालाई राजस्व संकलनमा समस्या परेको हो । अहिले तुलसीपुरले राजस्व संकलनका लागि घरको नक्सा पास अनिवार्य गर्नुपर्ने नीति लिएको छ । घर नक्सा पास नगराएमा पालिकाबाट पाउने विद्युत, खानेपानी लगायतको सेवाबाट वञ्चित गर्नेसम्मको निर्णय गरिएको छ । घोराही उपमहानगर भने राजस्व संकलन लक्ष्य नजिक पुगेको बताउँछ ।
जेठ २१ सम्म पालिकाले १६ करोड ९६ लाख ४१ हजार ८ सय ७३ रूपैयाँ संकलन गरेको छ । पालिकाले २९ वटा शीर्षकमा कर संकलन गर्ने गरेको छ । सबैभन्दा धेरै सिफारिस दस्तुरबाट दुई करोड ६७ लाख, ८९ हजार रूपैयाँ संकलन भएको छ । त्यसैगरी बहाल कर दुई करोड २१ लाख, लागत सहभागिता दुई करोड ६ लाख, मालपोत तथा भूमिकर एक करोड ८९ लाख, सम्पत्तिकर एक करोड ७३ लाख संकलन भएको छ । घोराहीले गतवर्ष पनि लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको थियो ।
यो वर्ष पनि लक्ष्यभन्दा बढी राजवस्व संकलन गर्ने सूचना अधिकृत भिम बहादुर चौधरीले जिकिर गरे । गतवर्ष लक्ष्यभन्दा धेरै राजस्व संकलन गरेको दंगीशरण गाउँपालिकालाई यो वर्ष भने सकस भएको छ । गतवर्ष ८५ लाखको लक्ष्य रहेकोमा एक करोड ८९ लाख ७४ हजार चार सय ६ रूपैयाँ संकलन गरेको थियो । यो वर्ष लक्ष्यमा पुग्न सकस भएको छ । चालुवर्षमा एक करोड ३५ लाखको लक्ष्य रहेकोमा अहिलेसम्म ७१ लाख ७८ हजार रूपैयाँ संकलन भएको राजस्व शाखा प्रमुख किरण पोख्रेलले बताए ।
यो वर्ष प्राकृतिक स्रोत बिक्री नहुँदा राजस्व संकलनमा समस्या परेको हो । तर पनि असार अन्तिमसम्म लक्ष्य पूरा हुने पालिकाले जनाएको छ । पालिकामा २१ वटा शीर्षकमा राजस्व संकलन हुने गरेको छ । गतवर्ष लक्ष्यको ७२ प्रतिशत राजस्व संकलन गरेको बंगालाचुलीमा यो वर्षमा ५० प्रतिशतमात्रै संकलन भएको छ । गतवर्ष दुई करोड ३२ लाख लक्ष्य रहेकोमा एक करोड ६८ लाख ६८ हजार २ सय १ रूपैयाँ राजस्व संकलन भएको थियो । यो वर्ष भने एक करोड ५० लाखको लक्ष्य रहेकोमा ७५ लाख १३ हजार संकलन गरेको छ ।
बंगलाचुलीको राजस्वको प्रमुख स्रोत भनेको खानीजन्य स्रोत हो । लमही नगरपालिकामा पनि चालुवर्षमा लक्ष्यअनुसार राजस्व संकलन गर्न सकस भएको छ । गत आर्थिक वर्ष ०७८/७९ मा ३२ करोड ८३ लाख ५० हजार लक्ष्य रहेकोमा नौ करोड ९१ लाख २५ हजार ६ सय ६८ रूपैयाँ ८२ पैसा संकलन भएको पालिकाले जनाएको छ । चालुवर्षमा भने गतवर्ष भन्दा कम राजस्व संकलन भएको छ । चालुवर्षमा ३३ करोड ८० लाख लक्ष्य रहेकोमा दश महिनाको अवधिमा चार करोड ८ लाख ९१ हजार चार सय ३८ रूपैयाँ २९ पैसा संकलन भएको सूचना अधिकारी नरेन्द्र कुमार गुप्ताले बताए ।
यो वर्ष राजस्वको लक्ष्यमा पुग्न नसकिने उनले बताए । पाँच करोड २२ हजार पाँच सय लक्ष्य लिएको गढवा गाउँपालिकाले हालसम्म दुई करोड ६४ लाख ३५ हजार ६ सय २१ रूपैयाँ मात्रै संकलन गरेको छ । गतवर्ष पनि गढवाले लक्ष्यअनुसारको राजस्व संकलन गर्न सकेको थिएन । गतवर्ष पाँच करोड ५० लाखको लक्ष्य लिएको पालिकाले २ करोड ३ लाख ३८ हजार २८ रूपैयाँ ८५ पैसा संकलन गरेको राजस्व शाखा प्रमुख कुलराज कुमालले जानकारी दिए । चालुवर्षमा नदीजन्य पदार्थमा भने जस्तो ठेक्का नलागेकोले सोचे अनुरूप राजस्व संकलन हुन नसकेको कुमालले बताए ।
पालिकाले अहिले १८ वटा शीर्षक राजस्व संकलन गर्ने गरेको छ । राजपुर गाउँपालिकालाई पनि राजस्व संकलन गर्न सकस परेको छ । चालुवर्षमा नदीजन्य पदार्थको ठेक्का नपरेकोले राजस्व संकलनमा समस्या परेको गाउँपालिकाले जनाएको छ । चालुवर्षमा तीन करोड ५४ लाखको लक्ष्य रहेकोमा ९१ लख ७७ हजार चार सय ३२ रूपैयाँ संकलन भएको राजस्व शाखा प्रमुख महेश शर्माले जानकारी दिए । यो वर्षको लक्ष्यअनुसारको राजस्व संकलन नभएपनि अन्तिमसम्म हुने उनको भनाइ छ ।