सहकारीमा बचत फिर्ता र ऋणीलाई तनाव «

सहकारीमा बचत फिर्ता र ऋणीलाई तनाव

वित्तीय क्षेत्र यतिबेला संकटमा छ । हाम्रो देश नेपाल मात्रै होइन, अन्य आर्थिक रूपमा सम्पन्न मुलुकहरू पनि यतिबेला वित्तीय समस्यासँग जुधिरहेका छन् । वित्तीय क्षेत्रमा देखिएको संकटको बाछिटाले नेपालमा सबैभन्दा बढी सहकारी क्षेत्रलाई प्रभावित बनाएको छ । वित्तीय संकटले सबै क्षेत्रलाई छोएको छ तर बजारमा चर्चा धेरै सहकारीको छ । केही ऐनविपरीत चलेका सहकारीका कारण सबै सहकारी एउटै हुन् भन्ने भाष्य निर्माण गरिँदै छ ।

सहकारीहरू यसको मर्मअनुसार चल्ने हो भने संसारका जुनसुकै समस्या आउँदा पनि सहकारीहरू जोगिनुपर्ने हो । सहकारीलाई सदस्यहरूले बचाउनुपर्ने हो । तर हाम्रोमा विशेष गरी बजार क्षेत्रमा सञ्चालित कतिपय सहकारी सहकारीको मर्म र भावनाअनुसार नचलेका कारण सहकारी क्षेत्र पनि समस्यामा देखिएको छ । सदस्यकेन्द्रित व्यवसायका रूपमा रहेको सहकारीलाई ग्राहककेन्द्रित बनाएका कारण, सहकारीहरूलाई उपयोग गरेर निजी सम्पत्ति जोड्नतर्फ कतिपय सहकारी लागेका कारण आज सहकारीमा समस्या देखिएको हो ।

सहकारीले बचत फिर्ता गर्न नसक्नुको कारण ऋण नउठ्नु हो भन्ने जानकारी पाएपछि बचतकर्ता र सहकारीका सञ्चालकहरू जुटेर ऋण उठाउने योजना बनाउन सक्छन् । त्यसका लागि उनीहरूले आवश्यक कानुनी प्रक्रिया त अगाडि बढाउनेछन् नै, त्योभन्दा पनि बढी सामाजिक पहिचानको समस्या अगाडि आउन सक्ने देखिन्छ ।

सहकारी क्षेत्रमा देखिएको समस्या र समाधानका विषयमा सहकारीको नियमनकारी निकाय सहकारी विभागले तीन निष्कर्ष निकालेर विज्ञप्ति प्रकाशित गरेको छ । विभागले २०८० जेठ १२ गते प्रकाशित गरेको विज्ञप्तिअनुसार अहिले नेपालमा समस्या देखिएका सहकारीहरूमा तीन प्रकारका समस्या औंल्याएको छ । सहकारी विभागको निष्कर्षमा सहकारीमा देखिएका तीन प्रकारका समस्या र समाधानका तीन उपाय निम्नानुसार रहेका छन् :

१. कोभिडपछि विश्वको अर्थतन्त्रमा समस्या देखिँदै गयो । रूस र युक्रेन युद्धले पनि वित्तीय क्षेत्रमा असर पुर्‍यायो । विश्वकै समस्याको असर नेपालमा पनि परेको छ र त्यसले सहकारी क्षेत्रलाई प्रभावित बनाएको छ । नेपालमा रहेका करिब ३० हजार सहकारीमध्ये १५ हजारभन्दा बढीले वित्तीय कारोबार गर्छन्, बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरूमा यतिबेला तरलताको समस्या देखिएको छ ।

सुरुमा एक–दुइटा सहकारीले बचत फिर्ता गर्न नसकेको विषय बढ्दै गएका कारण राम्रै तरलता भएका सहकारीमा पनि बिस्तारै समस्या देखिन थाल्यो । संस्था विधिसम्मत चलाएका तर पछिल्लो वित्तीय संकटका कारण तरलताको प्रेसरमा परेका सहकारीहरू पहिलो प्रकारले समस्यामा परेका सहकारी हुन् । उनीहरूको वित्तीय अवस्था, सम्पत्ति र दायित्व खराब छैन, स्वस्थ छ । यी समस्याग्रस्त भएका होइनन्, यिनलाई वित्तीय संकटसँगै खराब सहकारीको हल्लाको असर परेको हो ।

२. दोस्रो तरिकाका सहकारीमा जम्मा भएको बचत रकम सदस्यहरूलाई लगानी गरिएको छ तर थोरै व्यक्तिलाई धेरै लगानी तथा घरजग्गा, सेयर, सुपर मार्केटलगायतका क्षेत्रमा लगानी गरेका कारण सहकारीहरू समस्यामा देखिएका छन् ।

३. तेस्रो तरिकाका सहकारीहरूमा सञ्चालकहरूको बदनियत देखिएको छ । विभिन्न खालका प्रलोभन देखाएर ठूलो मात्रामा बचत संकलन गर्ने र त्यो रकम यिनले आफ्नो नाममा, आफन्तहरूका नाममा घरजग्गा खरिद गर्ने, कम्पनी खडा गरेर त्यसमा लगानी गरेका छन् ।

यी तीन प्रकारका समस्याको पहिचानपछि यसको समाधान पनि तीन प्रकारले नै गर्र्नुपर्छ भन्ने विभागको निष्कर्ष छ ।

समाधानका उपाय

१. आर्थिक क्षेत्रमा आएको समस्याका कारण समस्या देखिएका सहकारीहरूको दायित्व र सम्पत्तिको अवस्था पहिचान गर्ने, आर्थिक अवस्था स्वस्थ छ, तर तरलताको प्रेसरमा छन् भने त्यस्ता सहकारीलाई सहजता प्रदान गर्नका लागि विभागले सेयर सदस्यहरूलाई अनुरोध गर्न सक्छ । त्यसका लागि सञ्चालकहरूले सदस्यहरूसँग अन्तरक्रिया गरी समस्याको समाधान निकाल्नुपर्छ । संस्थाका सञ्चालकहरूले संस्थाको सम्पूर्ण अवस्था प्रस्ट हुने र त्यसको जिम्मेवारीपूर्ण रूपमा आफूहरूले लिने गरी श्वेतपत्र जारी गरेपछि वित्तीय क्षेत्रमा देखिएको समस्या समाधानसँगै सहज रूपमा संस्था सञ्चालन हुन्छ भन्ने प्रतिबद्धता गरेपछि बचत फिर्ताका लागि समयसीमा तोक्न सक्नेछन् ।

२. दोस्रो तरिकाले समस्यामा परेका सहकारीहरूको हकमा ती सहकारीका सञ्चालकले पनि आफ्नो सम्पूर्ण अवस्था प्रस्ट हुने गरी श्वेतपत्र जारी गर्नुपर्नेछ । संस्थाको दायित्व भुक्तानीका लागि सञ्चालकहरूले व्यक्तिगत तथा सामूहिक तरिकाले कानुनी रूपमा दायित्व ग्रहण गर्ने ग्यारेन्टी गर्नुपर्‍यो । त्यसो गर्दा पनि संस्थाले बचतकर्ताहरूलाई समयसीमा तोक्न सक्नेछन्, त्यसका लागि सहकारी विभाग समन्वय गर्न तयार छ ।

३. तेस्रो प्रकारले समस्यामा परेका सहकारीहरूमा सञ्चालकहरूले गलत तरिकाले लगानी गरेका हुन् । यी सहकारीमा सञ्चालकहरूले आफ्नो निजी व्यवसाय, घरजग्गा जोड्नका लागि लगानी गरेका छन् । यस्ता सहकारीका सञ्चालकहरूलाई कानुनी दायरामा ल्याउने र कारबाही गर्ने हो । उनीहरूबाट बचतकर्ताको रकम असुली गराउने हो । सम्पूर्ण दायित्व उनीहरूलाई नै लिन लगाउने हो ।

यी तीन प्रकारका समस्या र समाधानका तीन उपायले सदस्यसँग कारोबार गरेका, सदस्यहरूलाई ऋण लगानी गरेका सहकारीहरूलाई यसले सहजता प्रदान गर्न सक्ने देखिएको छ । संस्थाको सबै अवस्था ठीक छ तर संस्थाले नियमित तरलता व्यवस्थापन गर्न सकेन भने उसले आफ्नो अवस्थाका बारेमा सदस्यहरूलाई जानकारी गराएर केही समय माग्ने र ऋण उठाएर बचत फिर्ता गर्न सक्ने गरी विभागले सुझाव दिएको छ ।

गलत गरेकालाई त उनीहरूको कसुरका आधारमा कारबाही गर्ने विभागको निर्देशन छ । यो निर्देशनले सदस्यसँग मात्रै कारोबार गर्दै आएका सहकारीहरूलाई राहत प्रदान गरेको छ । सदस्यसँग लगानी गरेका सहकारीहरूलाई तरलताको समस्या हुँदा उनीहरूले आफ्ना सदस्यहरूलाई संस्थाको अवस्थाबारे जानकारी गराएर समयसीमा तोकी ऋण उठाउने र बचतकर्ताको रकम फिर्ता गर्न सक्ने गरी विभागको निर्देशन आएको छ ।

ऋण नतिर्नेलाई कडा कारबाही हुन्छ

सहकारी विभागले सहकारीबाट लिएको ऋण तिर्न पर्दैन भन्नेहरूलाई सरकारले कठोर कानुनी कारबाही गर्ने जनाएको छ । ऋण तिर्न पर्दैन र नतिर्ने भन्नेजस्ता वित्तीय अराजकतालाई नजिकबाट नियालेको भन्दै यस्तो अराजकता नियन्त्रण गर्न जस्तोसुकै कठोर कानुनी कारबाही गर्नेछ । ऋण लिएर तिर्न नपर्ने कल्पना गरेको भए त्यो आफ्नै लागि प्रत्युत्पादक हुने विभागले स्पष्ट पारेको छ ।

के हुन्छ त ऋणीहरूलाई ?

सहकारी विभागले ऋण तिर्दिनँ भन्नेहरूलाई कठोर कानुनी कारबाही हुने उल्लेख गरेसँगै सहकारीबाट ऋण लगेर नतिर्नेहरू सतर्क भएका छन् । सहकारीबाट ऋण लगेर नतिर्नु भनेको सदस्यहरूले बचत गरेको रकम फिर्ता नहुनु हो । सदस्यहरूले दुःख गरेर जग्मा गरेको रकम सहकारीले सदस्यहरूलाई ऋणका रूपमा लगानी गरेका हुन्छन् । सहकारीले बचत फिर्ता गर्न नसक्नुको कारण ऋण नउठ्नु हो भन्ने जानकारी पाएपछि बचतकर्ता र सहकारीका सञ्चालकहरू जुटेर ऋण उठाउने योजना बनाउन सक्छन् ।

त्यसका लागि उनीहरूले आवश्यक कानुनी प्रक्रिया त अगाडि बढाउनेछन् नै, त्योभन्दा पनि बढी सामाजिक पहिचानको समस्या अगाडि आउन सक्ने देखिन्छ । सहकारीका सदस्यहरूले ऋण नतिरेको कुरा अर्थात् ऋणी सदस्यले साँवाब्याज भुक्तान नगरेको कुरा नियमनकारी निकायमा पठाउने कामको सुरुवात हुन थालेको छ । नियमनकारी निकाय, आमसञ्चारका माध्यमलगायत सहकारीका सबै सदस्यलाई ऋण लगेर नतिर्ने सदस्यहरूको पहिचान गराउने कार्यले ऋणी सदस्यहरूलाई प्रेसर पर्ने अवस्था बिस्तारै बढ्दै गएको छ ।

अहिलेको समय भाइरल हुने समय हो । सहकारीहरूले ऋण नतिर्ने ऋणीहरूको नाम नियमनकारी निकायमा पठाएको वा सार्वजनिक सञ्चारमाध्यममा सूचना प्रकाशित गर्नासाथ समाजमा राम्रो पहिचान बनाएका तर सहकारीको ऋण नतिरेका सदस्यहरू खराब ऋणीका रूपमा सामाजिक सञ्जालमा भाइरल हुने अवस्था सिर्जना हुँदै छ, यसले उनीहरू दबाबमा पर्ने अवस्था सिर्जना हुन थालेको छ । कतिपय जनप्रतिनिधि, पूर्वजनप्रतिनिधि, ठूला व्यवसायी तथा अर्को सहकारीकै पदाधिकारीले समेत ऋण नतिरेका कुरा बाहिर आउन थालेका छन् ।

सामाजिक पहिचान बनाएका, सानको जिन्दगी बिताएकाहरूले पनि ऋण नतिरेका कुरा बाहिर आउन थालेका छन् । सहकारीको रकम एउटै व्यक्ति, निजी कम्पनी वा फर्मलाई लगानी गरेका बाहेक आफ्ना सदस्यहरूमा लगानी गरेका संस्थाहरूले एउटा अभ्यास सुरु गरिसकेका छन्, यो अभ्यासले ऋणी सदस्यहरूलाई दबाब पर्न थालेको छ । ऋणी सदस्यहरूले आफूले लगेको ऋणको केही प्रतिशत साँवा र ब्याज बुझाइदिँदा पनि संस्थालाई तरलता व्यवस्थापनमा सहजता भएका समाचारहरू पनि आइरहेका छन् ।

ऋणीहरूले आफ्नो पहिचान खराब ऋणीका रूपमा नदेखाउनका लागि संस्थामा जाने, केही रकम भुक्तान गर्ने र ऋण नवीकरण गर्ने काम बढ्दै गएको छ । सदस्यकेन्द्रित भएर कारोबार गरेका सहकारीहरूलाई ती ऋणी सदस्यहरूले त सहयोग गर्ने नै भए, ऋण नभएका सदस्यहरूले पनि सानो–सानो बचत गरिदिएर संस्था जोगाउने अवस्था सिर्जना भएको छ । आफू पनि जोगिने र संस्था पनि जोगाउनका लागि सदस्यहरू सचेत बन्नैपर्ने अहिलेको आवश्यकता हो ।

सहकारी सदस्यहरूको हो, सेयर सदस्यहरूले आफ्नो संस्थामा आउन सक्ने समस्यालाई सहज बनाउनका लागि सानो–सानो रकम थप गर्ने तथा ऋणी सदस्यहरूले ब्याज र किस्ता रकम मात्रै सही समयमा बुझाइदिँदा पनि संस्थाले तरलता व्यवस्थापन गर्न सक्ने अवस्था रहन्छ । कतिपय ऋणी सदस्य सहकारी बन्द भए ऋण तिर्नुपर्ने थिएन भन्ने सोचेर सहकारीको बदनाम गराउँदै हिँडेको पाइन्छ । तिनलाई भोलि सहकारी बन्द हुँदा नियमनकारी निकायले ऋणीको घरजग्गा, बैंक तथा सहकारीको खाता रोक्नुका साथै सामाजिक रूपमा समेत बदनाम गराइदिन्छ भन्ने चेत नभएर हो वा भएर पनि कसले के गर्छ र ? भन्ने सोचेका हुन्, भन्न सकिन्न ।

सहकारीबाट ऋण लगेर नतिरेकाहरूको समूह बनाउने अनि चोकचोकमा मान्छे जम्मा भएको ठाउँमा गएर फलानो सहकारी डुब्दै छ, ढिस्कानो डुब्दै छ भनेर प्रचार गर्नेहरूको संख्या बढ्दो छ । सामान्य मान्छेले तिनका कुरा पत्याएर सबै सहकारी खराब हुन् भन्नुपर्ने अवस्था आउँदै छ । सहकारीका सदस्यहरूले चोकचोकमा हुने कुरालाई विश्वास गरेर होइन, आफू सदस्य भएको संस्थामा गएर यथार्थ बुझ्न आवश्यक छ, अन्यथा यस्तै खराब प्रवृत्तिका मानिसहरूका कारण सबै सहकारीमा समस्या आउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्