नेपालगन्ज नाकाबाट पेट्रोलियम पदार्थ, चिनी, चामलको आयात घट्यो

चालु आर्थिक वर्षको १० महिनामा नेपालगन्ज नाकाबाट पेट्रोलियम पदार्थ, चिनी, चामल, आलुलगायत विभिन्न वस्तुको आयात घटेको छ ।
पछिल्लो समय मुलुकमा देखिएको आर्थिक संकटका कारण विकास निर्माणलगायत उद्योगधन्दा पूर्णरूपमा सञ्चालन नहुँदा पेट्रोलियम पदार्थको खपत पनि घटेको हो । खपत घट्दा पेट्रोलियम पदार्थको आयात पनि घटेको भन्सारको तथ्याँकले देखाएको छ ।
नेपालगन्ज भन्सार कार्यालयका अनुसार गत वर्षको भन्दा चालु आर्थिक वर्षको वैशाखसम्म नेपालगन्ज नाका हुँदै आयात हुने वस्तुको सूचीमा सबैभन्दा माथि रहँदै आएको पेट्रोलियम पदार्थ आयात घटेको छ । कार्यालयका अनुसार वैशाखसम्म गत वर्षको भन्दा ६३ करोड २४ लाख ४६ हजार रुपैयाँ मूल्य बराबरको डिजेल, पेट्रोल र एलपी ग्यास आयात घटेको छ भने गत आर्थिक वर्षको भन्दा करिब एक अर्ब २७ करोड तीन लाख ४३ हजार रुपैयाँ कम राजस्व संकलन भएको छ ।
कार्यालयको पछिल्लो १० महिनाको तथ्यांकअनुसार नेपालगन्ज नाका हुँदै भारतबाट १२ अर्ब ९६ करोड १० लाख १४ हजार रुपैयाँ बराबरको एक लाख आठ हजार ३२८ किलोलिटर डिजल आयात भएको छ । डिजेल आयातबाट कार्यालयलाई चार अर्ब ६२ करोड २९ लाख १० हजार रुपैयाँ राजस्व प्राप्त भएको छ । गत वर्ष सो अवधिमा १३ अर्ब ११ करोड तीन लाख ४९ हजार रुपैयाँ बराबरको एक लाख ४१ हजार ५२८ किलोलिटर डिजल आयात भएको थियो ।
जसबाट कार्यालयलाई पाँच अर्ब ५४ करोड २७ लाख राजस्व असुली भएको थियो । त्यस्तै वैशाखसम्म तीन अर्ब ८६ करोड ९७ लाख ८४ हजार मूल्य बराबरको ३८ हजार ८७६ किलोलिटर पेट्रोल आयात भएको छ । जसबाट दुई अर्ब २२ करोड ५२ लाख राजस्व असुली भएको छ ।
गत वर्षको सोही अवधिमा चार अर्ब चार करोड २९ लाख पाँच हजार मूल्य बराबरको ४४ हजार ९७६ किलोलिटर पेट्रोल आयात भएको थियो । उक्त पेट्रोल आयात हुँदा दुई अर्ब ५१ करोड ७९ लाख रुपैयाँ राजस्व असुली भएको हो । त्यस्तै तीन अर्ब ९५ करोड ८२ लाख ५८ हजार रुपैयाँ बराबरको तीन करोड ४८ लाख ९८ हजार किलो एलपी ग्यास आयात भएकोमा गत वर्ष चार अर्ब २६ करोड ८२ लाख ४८ हजार मूल्य बराबरको तीन करोड ६९ लाख दुई हजार ६७० किलो आयात भएको थियो ।
एलपी ग्यास आयातबाट गत वर्ष ७९ करोड ६१ लाख ४८ हजार राजस्व असुली हुँदा चालु आर्थिक वर्षमा ७३ करोड ८३ लाख २६ हजारमात्र राजस्व असुली भएको छ । नेपालगन्ज भन्सार कार्यालयका भन्सार अधिकृत डिल्लुप्रसाद शर्मा पेट्रोलियम पदार्थको आयात घट्नुमा आर्थिक मन्दीका कारण आर्थिक कृयाकलापमा कमी आउनुले हुनसक्ने बताउँछन् ।
यसैगरी, चिनीको आयातमा समेत कमी आउँदा नेपालगन्ज भन्सार कार्यालयले गत आवको भन्दा ७१ करोड ५५ लाख १६ हजार रुपैयाँ कम राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको वैशाखसम्म दुई अर्ब ८४ करोड ४५ लाख मूल्य बराबरको पाँच करोड ५१ लाख ४३ हजार किलो चिनी आयात गरेको थियो । जसबाट कार्यालयलाई एक अर्ब ६१ करोड चार लाख ७५ हजार राजस्व असुली भएको थियो ।
चालु आर्थिक वर्षको १० महिनामा एक अर्ब ५७ करोड ६५ लाख ९६ हजार मूल्य बराबरको दुई करोड ६२ लाख ९४ हजार ९८७ किलोग्राम चिनी आयात गरेको थियो । जसबाट कार्यालयलाई ८९ करोड ४९ लाख ५९ हजार राजस्व असुली भएको छ । चालु आर्थिक वर्षमा चामल आयातसमेत घटेको छ । गत आर्थिक वर्षको वैशाखसम्म आठ अर्ब ३७ करोड ७१ लाख ३७ हजारको १४ करोड ७५ लाख चार हजार ७६० किलोग्राम चामल आयात भएको थियो ।
जसबाट ९९ करोड ४५ लाख ८६ हजार राजस्व असुली भएकोमा चालु आवमा झण्डै ५० प्रतिशत आयात घटेको छ । चालु आवको १० महिनामा चार अर्ब १२ करोड २८ लाख मूल्य बराबरको ५ करोड ५१ लाख ६ हजार २९० किलोग्राम चामल खरिद भएकोमा ४७ करोड ८४ लाख ११ हजारमात्र राजस्व असुली भएको छ ।