तातोपानीमा औद्योगिक ग्रामको डिपिआर बन्दै «

तातोपानीमा औद्योगिक ग्रामको डिपिआर बन्दै

तातोपानी गाउँपालिका–४ स्थित रातेखोलामा स्थापना हुने औद्योगिक ग्रामको डिपिआर तयार गर्न थालिएको छ । औद्योगिक ग्राम सञ्चालनका लागि चाहिने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न थालिएको हो । संघीय सरकारको लगानीमा तातोपानी गाउँपालिकासहित मुलुकका आठ पालिकामा बन्ने औद्योगिक ग्राम स्थापनाको प्रक्रिया अघि बढेको छ ।

सरकारले औद्योगिक स्थापनाका लागि सम्बन्धित पालिकालाई तीन करोड दिनेछ । जसअन्तर्गत पहिलो चरणमा एक करोड संघीय सरकारले पालिकाको खातामा पठाइसकेको छ । बजेट कार्यान्वयनका लागि औद्योगिक ग्राम सञ्चालनको अनिवार्य डिपिआर, ईआई तथा कार्यविधि निर्माण गर्नुपर्ने प्रावधान रहेकोले डिपिआर निर्माण कार्य थालिएको तातोपानीका प्रमुख प्रशासकीय अधिकृत तिर्थबहादुर कठायतले बताए ।

उनका अनुसार औद्योगिक ग्राममा कस्ता खाले उद्योग समेट्ने कस्तो डिपिआर तयार गर्ने सवालमा सोमबार जिल्लास्थित निजी क्षेत्र, उद्योगी व्यवसायी, नागरिक अगुवाबाट सुझाव संकलन गरिएको छ । डिपिआरका लागि १० लाख र वातावरणीय प्रभाव मूल्यांकनका लागि पाँच लाख बजेट छुट्याइएको प्रमुख प्रशासकीय अधिकृत कठायतले जानकारी दिए ।

स्थानीय स्रोत साधन, सीप, पुँजीको अधिकतम प्रयोग परिचालन रोजगारी सृजना गर्न कृषि तथा वनपैदावारसँग सम्बन्धित साना उद्योग स्थापना गर्नका लागि डिपिआर तयार गर्न सुझाव दिएका छन् । कर्णाली प्रदेशका ७९ वटा स्थानीय तहमै पहिलो तातोपानीमा स्थापना हुन लागेको औद्योगिक ग्रामले जिल्लामा उत्पादन हुने कच्चा पर्दाथको प्रशोधन, बजारीकरण र रोजगारी सृजना ठूलो आयाम थपिने उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष पुरिचन्द्र देवकोटाले बताए ।

उनले राडीपाखी, आरन, काष्ठकलाजस्ता परम्परागत उद्योगलाई पनि औद्योगिक ग्राममा सञ्चालन हुने गरी डिपिआर तयार गर्न सुझाव दिए । औद्योगिक ग्राम सञ्चालनका गर्न शुरुवातमा जडिबुटी, फलफूल, पानी, ग्यामिन, काष्ठकला तथा तरकारीखेती सम्बन्धी साना उद्योग सञ्चालन गर्ने गरी डिपिआर निर्माण प्रक्रिया थालिने तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए । औद्योगिक ग्राम सञ्चालनपश्चात स्याउ, सिमि, ओखर, जल, जमिन, जडिबुटीको उत्पादन वृद्धि, प्रशोधन तथा बजारीकरणमा सहज हुने आशा गरिएको छ ।

तातोपानी गाउँपालिकाले पहिलो चरणमा पानी उद्योग सञ्चालन गर्ने तयारी गरेको अध्यक्ष चौलागाईंको भनाइ छ । उनका अनुसार कार्यविधिबमोजिम पहिलो चरणमा औद्योगिक ग्राममा खानेपानी, बत्ती, घेराबार, शौचालयलगायतको पूर्वाधार निर्माण गरिने छ । उनले भने, “स्थानीय स्रोत साधनको सदुपयोग गर्दै स्थानीय तहमा नै रोजगारी सिर्जना, जीविकोपार्जन र गरिबी निवारण गर्न उत्पादन वृद्धि, प्रशोधनमा जोड दिँदैछाैं । औद्योगिक ग्राम स्थापनाले रोजगार सृजनामा सघाउने आशा छ ।”

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत भदौ १० गते औद्योगिक ग्राम स्थापनाका लागि सार्वजनिक सूचना जारी गरेको थियो । सोही सूचनाअनुसार सबै कागजात पेस गरी निरन्तर पहल गरेका कारण मुलुकका आठ स्थान औद्योगिक ग्राम बनाउने सरकारको निर्णयअनुसार जुम्लाको तातोपानी–४ स्थित रातेखोलामा औद्योगिक ग्राम बन्ने भएको हो ।

औद्योगिक ग्राम सञ्चालनसम्बन्धी कार्यविधि पहिलो संशोधन २०७७ मा औद्योगिक ग्राम सञ्चालन गर्न २५ रोपनी जग्गा आवश्यक पर्ने उल्लेख भए पनि ३५ रोपनी सार्वजनिक जग्गा प्राप्त भइसकेको छ । रोजगारी सृजना उत्पादन प्रशोधनका क्षेत्रमा औद्योगिक ग्राम एक कोशेढुंगा सावित हुने तातोपानी–४ का वडाध्यक्ष अम्मरबहादुर रोकायाले बताए । कार्यविधिअनुसार बाटो, प्रदूषणलगायतका दृष्टिले असर नपर्ने गरी औद्योगिक ग्राम स्थापना गर्न डिपिआर तयार हुनेछ ।

स्थानीय स्रोत, कच्चा पदार्थ, सीप र साधनको परिचालन गरी आर्थिक समृद्धि हासिल गर्न सकिने वडाध्यक्ष रोकायाको भनाइ छ । पहिलो चरणमा पानी उद्योग खोल्ने लक्ष्य राखे पनि लगानी जुटेको खण्डमा विस्तारै आरन, काष्टकला, फलफूल, जडिबुटी, तरकारीखेती, ग्याबिन जालीलगायतका साना उद्योग खोलिने छ । गाउँमै औद्योगिक ग्राम स्थापना हुने भएपछि स्थानीय उत्साहित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्