युवा जनशक्ति पलायन र व्यवस्थापन «

युवा जनशक्ति पलायन र व्यवस्थापन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक दिनमा २२ देखि २५ सयसम्म युवा रोजगारीका लागि बाहिर जाने गरेको देखिन्छ । बाहिर जानेको तथ्यांक हेर्ने हो भने आजसम्मका परिवर्तन र महान् क्रान्ति सबै बेकार लाग्छ । विभिन्न खाले परिवर्तन र क्रान्तिको नाममा हाम्रो नेतृत्वले युवाहरूलाई विदेश पलायन हुने वातावरण तयार पार्नबाहेक केही गरेनन् भन्ने पनि यसबाट स्पष्ट हुन्छ । देश विकासका वाहक युवालाई लामो समयसम्म देशबाहिर पठाएर विप्रेषणमा रमाउने हाम्रो राज्यसत्ता वा राजनीतिक प्रणालीको योभन्दा ठूलो असफलता, अदूरदर्शिता र गैरजिम्मेवारी अरू के हुन सक्छ ?

युवावर्ग भन्नेबित्तिकै देश, समाज र परिवारको समृद्धिको आधार भन्ने बुझिन्छ । विश्वका धेरै देशको विकासको मोडल हेर्ने हो भने युवा जनशक्तिको सदुपयोगमार्फत भएका उदाहरण प्रशस्त पाइन्छन् । यस्तो विकासको मेरुदण्ड मानिने युवाहरू प्रत्येक दिन ठूलो संख्यामा विदेश जानु दुःखद हो । आफ्नै देशमा बसेर सेवा गर्ने मन हुँदाहुँदै पनि शिक्षा, स्वास्थ्य, विद्युत्, रोजगारी, यातायात, शान्तिसुरक्षा, नयाँ आविष्कार, स्वस्थ वातावरण र अन्य सम्भावनाको खोजीमा युवाहरू बिदेसिएको देखिन्छ । अहिले विशेष गरेर नेपालबाट दुई किसिमका युवा जनशक्ति विदेश गएका देखिन्छन्, पहिलो किसिमका काम गर्ने अनुमति लिएर र दोस्रो खालका अध्ययन भिसामा ।

दोस्रोको तुलनामा पहिलो किसिमका युवा बढी संख्यामा विदेश जाने गरेको पाइन्छ । यिनीहरू देशमा भनेजस्तो आम्दानी हुने काम सजिलै नपाएका कारण, छिमेकीले विदेशबाट धेरै कमाएर ल्याएको देखेर, नेपालको कमाइ बचत हुँदैन भन्ने लागेर, सानोतिनो उद्योग खोल्न लाग्यो भने ऋण प्राप्त गर्न नसकेर वा उद्योग खोल्ने प्रक्रियागत झन्झट सहन नसकेर, उत्पादित वस्तुको बजारीकरणको समस्या भएर र सबै कामको समान स्तरको इज्जत नभएर आदि कारणले बिदेसिने गरेको पाइन्छ ।

यस्ता खालका श्रमिकहरू मलेसिया र खाडी राष्ट्रमा बढी जाने गरेको पाइन्छ । उनीहरूले ठूलो संख्यामा नेपालमा रेमिटेन्स पठाउने गरेका छन् । योसँगै यी खालका श्रमिकहरूले बर्सेनि १२ सयदेखि १४ सयको संख्यामा ज्यान पनि गुमाउनुपरेको तीतो यथार्थ हाम्रो समाजमा रहेको छ भने अंगभंग हुनेको संख्या त झन् त्योभन्दा ठूलो छ । वर्तमान अवस्थामा नेपालले विश्वका १ सय १० भन्दा बढी देशसँग वैदेशिक रोजगारीमा हाम्रो श्रमशक्ति पठाउने सम्झौता गरी वैदेशिक रोजगारी खुला गरेको र यसलाई निरन्तरता दिएबाट यो क्रम तत्काल घट्ने देखिँदैन ।

दोस्रो प्रकारका विदेश जाने युवामा विद्यार्थीहरू छन्, जो अध्ययन भिसामा विशेष गरेर अमेरिका, अस्ट्रेलिया, जापान, क्यानडा आदि देशमा जाने गर्छन् । यिनीहरू देशमा प्राप्त शिक्षाभन्दा उच्च स्तरको शिक्षा लिनका लागि भनेर बाहिर जान्छन् । यसमा पनि धेरै संख्याचाहिँ कामको ग्यारेन्टी भएपछि मात्र ती देशमा जाने गरेको पाइन्छ । यो प्रकारको भिसा लागेपछि सबैजसोको घरमा धेरै खर्च गरेर पार्टी हुन्छ, आमाबाबु, आफन्त, छिमेकी सबै दंग हुन्छन् । एक किसिमको गर्वको महसुस हुन्छ परिवारलाई । कहिलेकाहीँ त जोरीपारीसँग फुर्ती लगाउने विषय पनि बन्न जान्छ यो भिसा ।

त्यतिले मात्र नपुगेर कतिले त हाम्रा छोराछोरीले त अमेरिकामा नै वा अस्ट्रेलियामा नै वा उतै बिहे ग¥यो नि भनेर छिमेकमा धाक लगाएको पनि देख्न पाइन्छ । तर, घरमा वरको सिन्को पर नसारेका हाम्रा छोराछोरीले त्यहाँ पुगेर पढाइभन्दा पहिला कामको जोहो गर्नतर्फ लागेको र काम पाएपछि पनि के काम गर्छन् भन्ने नसुनाएबाट लाखौं खर्च गरेर गएको त्यहाँको जीवन पनि खासै सहज नभएको पुष्टि हुन्छ ।

देशमा राम्रै हुनेखानेका छोराछोरी, यहाँ उच्च ओहदाको जागिर खानेका नानीबाबुहरूलाई विदेशमोहले यतिसम्म तानेको छ कि त्यहाँ हाम्रा नानीबाबुहरूले अमृत नै प्राप्त गर्छन् वा मोक्षको बाटो नै ती देशहरू हुन् जस्तो लाग्छ । तर, यसमा हाम्रो विडम्बनाचाहिँ के भने हामीले जन्मायो, पढायो, बढायो अनि जब परिवारलाई, समाजलाई र देशलाई उत्पादन दिने समय आउँछ, उनीहरू विदेशमा उत्पादन दिन जान्छन् । विदेशीहरूले हाम्रा नानीबाबुहरूको सीप, क्षमता, समय, ऊर्जा र ज्ञानलाई प्रयोग गरेर सम्पन्न हुन्छन्, हामी जहाँको तहीँ रहन्छौं ।

हाम्रो युवाले देशमा बेरोजगारी, भ्रष्टाचार, कुशासन, शान्तिसुरक्षा र कानुनी राजको अभाव देख्छ भने विदेशमा प्रशस्त रोजगारी र पारिश्रमिक, सुखी जीवन, सुविधासम्पन्न जीवनशैली, गुणस्तरीय स्वास्थ्य र शिक्षाजस्ता सुविधा देख्छ । यसले पनि युवायुवतीहरूलाई विदेशले आकर्षित गरेको देखिन्छ । तर बच्चालाई विदेश पठाउन लाखौं खर्च गर्ने अभिभावकले आफ्नै देशमा त्यही रकम लगानी गरेर जीवन सहज हुन्छ भन्ने सिकाउन सकेन भने समाज र राज्यले पनि यतातिर ध्यान दिन चाहेन, तसर्थ पनि युवा विदेश पलायन भइरहेको छ ।

हाम्रो देशका युवा आफ्नो, परिवारको र देशको उज्ज्वल भविष्य निर्माणका लागि विश्वविद्यालय र क्याम्पसहरूमा उच्च शिक्षा अध्ययनका लागि आएका त हुन्छन्, तर राजनीतिक दलहरूले ती युवालाई आफ्नो स्वार्थ अनुकूल प्रयोग गर्नाले ती युवाको सपनामाथि तुसारापात हुने गरेको छ । अनुत्पादक रूपमा राजनीतिमा लागेर जब उनीहरूको उमेर ढल्किन थाल्छ अनि देशमा केही नहुने देखेपछि भविष्यको सपना खोज्दै ती युवा जनशक्ति शिक्षा, रोजगारी र विभिन्न खाले अवसरका लागि बिदेसिन बाध्य हुन्छन् । नेपालमा यो क्रम दिनप्रतिदिन बढ्दो छ । यदि यो क्रम नरोकिने हो भने छिट्टै नै देश युवा जनशक्तिविहीन बन्नेछ, साथै देशमा वृद्धवृद्धा र विदेश गएका ती युवाका ससाना केटाकेटीहरू मात्र रहनेछन् र हाम्रो समृद्धिको सपना अधुरै रहनेछ ।

राजनीतिक दलले हरेक पटक देशमा हुने राजनीतिक परिवर्तनमा युवाहरूलाई प्रयोग गर्ने तर परिवर्तनपछि युवाका लागि केही दिन नसकेपछि उनीहरू निराश भएर आवश्यक अवसरको खोजी र घरपरिवारको आवश्यकता पूरा गर्न लाखौँको संख्यामा देश छोडेर विदेश गएका छन् । यी तमाम समस्याका बीचमा पनि युवा परिचालनसँग सम्बन्धित केही नीति, नियम र योजनाहरू भएका भए पनि राजनीतिक दलहरूको भागभन्डाले क्षमतावान्लाई भन्दा पनि हरेक दलले आफ्ना कार्यकर्तालाई अवसर दिने प्रवृत्तिले एकातिर सक्षम र क्षमतावान् युवाको आकांक्षा पनि पूरा भएन भने अर्कातिर देशले विकासका लागि क्षमतावान् जनशक्ति पनि प्राप्त गर्न सकेन र यस्ता अयोग्य भजन–मण्डलीहरूबाट देश निर्माणको अपेक्षा राख्न पनि सकिँदैन ।

यी भजन–मण्डलीहरूको सिन्डिकेटको जरो यतिसम्म फिँजिएको हुन्छ कि देशमा रहेका सक्षम र क्षमतावान् जनशक्तिलाई हरेक अवसरबाट वञ्चित गराएर निराश बनाई विदेश पलायन हुन बाध्य बनाउँछन् । क्षमता भएको मानिस आफ्नो क्षमताको कदर जहाँ हुन्छ त्यहीँ जाने हो, विदेशले उसको क्षमता चिन्छ, तसर्थ विदेशीले लगेर उसलाई प्रयोग गर्छ । यो पनि युवा र क्षमतावान् जनशक्ति पलायनको बलियो कारण बनेको छ ।

२०४६ सालयता हाम्रो देशका राजनीतिक नेताहरूले देशका युवालाई पूरा नहुने सपना बाँड्नमा नै समय खर्च गरे, तर आफूहरूचाहिँ कमाउ धन्दामा व्यस्त भए । उनीहरूले बेलाबेलामा गर्ने भाषणमा लोकतन्त्र, गणतन्त्र र सुशासनको बयान गर्ने तर व्यवहारमा भने आफूले सत्ता नपाउनासाथ लोकतन्त्र र गणतन्त्र खतरामा परेको देख्ने तथा सत्तामा पुग्नासाथ शक्तिको दुरुपयोग गरेर कानुन र विधिको शासनको उपहास गर्ने तथा राजनीतिक पूर्वाग्रह साँध्न फरक विचार राख्नेलाई अपराधी करार गर्ने प्रवृत्ति बढ्दै जाँदा युवावर्गमा निराशा थपिँदै गएको छ, जुन युवाहरू विदेश पलायनको प्रमुख कारण बनेको छ ।

जनशक्ति पलायन कसरी रोक्ने ?
नेपालमा जनसंख्या तथ्यांकमा ४० प्रतिशतभन्दा बढी युवा जनशक्ति (१६ देखि ४० वर्षको उमेर) रहेको देखिन्छ । यो अवस्थामा युवा जनशक्तिसँग सम्बन्धित आवश्यक नीति निर्माण गर्ने र त्यसको प्रभावकारी कार्यान्वयन गरी अधिकतम जनसांख्यिक लाभ लिन सक्ने हो भने देशमा प्रशस्त मात्रामा रहेको यस्तो युवा जनशक्ति आर्थिक दृष्टिकोणले सकारात्मक र देश विकासका लागि ठूलो अवसर हुनेछ । देशले हाम्रो युवा जनशक्तिसँग राजनीति, अर्थतन्त्र, समाज, संस्कृति र विकासमा हातेमालो गर्न सिक्नुपर्छ, तर यसमा राज्य चुकेको देखिन्छ ।

तसर्थ, देशमा उपलब्ध जनशक्तिलाई व्यवस्थापन गरेर हाम्रो अपार प्राकृतिक स्रोतसाधनहरूको उपयोग गर्ने हो भने हाम्रो समृद्धिको ढोका खुल्नेछ । यसका लागि हाम्रा आवश्यक जनशक्तिका बारेमा पनि अध्ययन हुनुपर्छ । हाम्रो देशमा कति कपाल काट्ने मान्छे आवश्यक पर्छ, कति धारापानी र बिजुलीको काम गर्ने मानिस चाहिने हो, कति घर बनाउने मान्छे, कति खेतबारीमा काम गर्ने मान्छे, कति इन्जिनियर चाहिने, कति प्राध्यापक चाहिने हो, कति कम्प्युटर चलाउने मान्छे चाहिने हो ? योजना बनाउनुपर्छ । साथै, युवाहरूले देशमा आत्मसम्मान र इज्जत खोजेका छन्, कानुनी झन्झटबिना व्यवसाय गर्ने अवसर र उनीहरूले उत्पादन गरेका वस्तुको बजारको सुनिश्चितता खोजेका छन्, सबै खाले काममा समान इज्जत खोजेका छन् । यसबारेमा पनि राज्यको ध्यान जानुपर्छ ।

त्यसैगरी युवालाई देशभित्रै आकर्षित गर्ने रणनीति बनाउनेतर्फ पनि राज्यले सोच्नुपर्छ । यसका लागि देशभित्र आन्तरिक उत्पादन बढाई देशमै रोजगारीको सिर्जना गर्नुपर्छ, सरकारी सेवामा धेरैभन्दा धेरै क्षमतावान् नेपाली युवालाई अवसर दिने रणनीति बनाउनुपर्छ, साथै लोकसेवाको वर्तमान परीक्षा प्रणालीमा पनि परिवर्तन गर्नुपर्ने भए सोअनुसार पनि राज्यले सोच्नुका साथै युवाहरूलाई स्वरोजगारतिर लैजाने योजना पनि बनाउनुपर्छ । यसका लागि सरकारले आवश्यक ऋण उपलब्ध गराउने व्यवस्था पनि गर्नुपर्छ । देशमा धेरै रोजगारी दिन सक्ने कृषि, पर्यटन, उद्योगजस्ता क्षेत्रहरूमा सरकारले धेरै युवा जनशक्तिलाई रोजगारी दिन सक्ने कार्यक्रमको विकास गर्न सक्नुपर्छ र हाइड्रोपावर तथा विभिन्न खाले सार्वजनिक संस्थानजस्ता क्षेत्रहरूमा युवाहरूलाई निश्चित सेयर दिने नीति अपनाउन सकियो भने पनि धेरै युवालाई देशभित्रै राख्न सकिन्छ । यसैबीचमा बर्सेनि १ लाख युवा शिक्षा लिने नाममा विदेश पलायन भएका छन् ।

यिनीहरूलाई रोक्न युवाहरूलाई आकर्षित गर्ने शिक्षा प्रणालीको विकास गर्नुपर्छ । यसरी शिक्षा लिने नाममा विदेश पलायन भएर विदेशी नागरिकताधारीहरूले भौतिक सुविधा प्राप्त गरे पनि तिनीहरू सधैं त्यहाँ दोस्रो दर्जाको नागरिक नै भएर बस्नुपरेको पीडा भोगाइ सम्झेर पनि देश बस्नलायक बन्नासाथ उनीहरू पनि नेपाल फर्किने अवस्था रहन्छ । विश्वका धेरै देशको अनुभवले यही बताउँछ । यो विषय पनि पेचिलो बन्दै गएको छ, नेपालमा । राज्यले धेरै खालका सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइरहेको सन्दर्भमा देशको भविष्य बोकेका र देश विकासमा लाग्ने युवाहरूका लागि पनि केही आकर्षणका कार्यक्रम ल्याउन सक्नुपर्छ ।

अहिलेको नेपालको युवा जनशक्तिलाई हेर्ने हो भने यसको उत्पादन कतै आवश्यकताभन्दा बढी भएको देखिन्छ भने कतै माग नै धान्न नसकेको स्पष्ट हुन्छ । तसर्थ पनि देशमा सीपयुक्त जनशक्ति बजारको माग र पूर्तिका बीचमा सन्तुलन कायम हुने गरी उत्पादन गर्ने र त्यसलाई वस्तु तथा सेवाको उत्पादन कार्यमा लगाउने हो भने नेपाललाई चाँडो आत्मनिर्भर बनाउन सकिन्छ ।

हामीले चाँडै नै कुन–कुन क्षेत्रमा सीपयुक्त जनशक्ति देशको आवश्यकताअनुसार छ र कुन–कुन क्षेत्रमा त्यस्तो प्रकारको जनशक्तिको कमी छ, त्यसलाई कुन माध्ययमबाट चाँडो पूर्ति गर्न सकिन्छ भन्ने योजना बनाएर अगाडि बढ्नुपर्छ । अहिले हामीकहाँ धेरै क्षेत्रमा त्यस्तो जनशक्तिको अभावमा वा हामीले सामान्य तालिम दिएर पनि तयार पार्न सक्ने जनशक्तिलाई पनि तयार नपार्दा ती क्षेत्रमा विदेशी श्रमिकले काम गर्दा ठूलो धनराशि बाहिर गएको तथ्यांकले देखाउँछ ।

तर, यसका लागि युवा जनशक्तिसम्बन्धी राष्ट्रिय नीति तथा योजनाको आवश्यकता पर्छ । हाम्रा विश्वविद्यालयहरूमा रहेका विद्यावारिधि उपाधि प्राप्त र विभिन्न अनुसन्धानमा लागेका विभिन्न क्षेत्रका विज्ञहरूलाई देशको आवश्यकताअनुसार खोज गर्न प्रोत्साहन गर्नुका साथै यस्ता अनुसन्धानबाट प्राप्त नतिजाहरूलाई सरकारका सबै सम्बन्धित क्षेत्रले बाध्यात्मक उपयोग गर्ने परम्पराको विकास गर्नु जरुरी देखिन्छ । यसले एकातिर देश विकासमा सहयोग पुग्छ भने अर्कातिर राज्यले क्षमतावान् जनशक्तिको प्रयोग गर्न थाल्यो भनेर यस्ता जनशक्तिको विदेश पलायन रोकिन थाल्छ ।

प्रतिक्रिया दिनुहोस्