अमेरिकी तेल उत्पादन १ करोड ब्यारेल नाघ्ने

अमेरिकी ऊर्जा सूचना प्रशासन (ईआईए) ले अमेरिकी कच्चा तेलको उत्पादन यो वर्ष प्रतिदिन १ करोड ६० हजार ब्यारेल पुग्ने र आगामी वर्ष १ करोड १२ लाख ब्यारेल पुग्ने जनाएको छ । यो देशकै वर्षको उच्च वार्षिक औसत हो ।
योभन्दा पहिलेको उच्च अमेरिकी उत्पादन १९७० मा प्रतिदिन ९६ लाख ब्यारेल कायम भएको थियो ।
ईआईएका अनुसार जनवरीमा अमेरिकी कच्चा तेलको उत्पादन प्रतिदिन १ करोड २ हजार ब्यारेल कायम भएको थियो । यो डिसेम्बरको तहबाट १ लाख ब्यारेल बढी हो । गत वर्ष अमेरिकाको प्रतिदिनको तेल उत्पादन औसत ९३ लाख ब्यारेल कायम भएको थियो ।
यसैबीच यो वर्ष र आगामी वर्ष ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल औसत ६२ डलर कायम हुने र ईआईएले जनाएको छ । गत वर्ष यसको मूल्य औसत ५४ डलर थियो । यो वर्ष र आगामी वर्ष अमेरिकी कच्चा तेलको मूल्य ब्रेन्टको तुलनामा औसत ४ डलर कम हुने अपेक्षा पनि ईआईएले गरेको छ ।
ईआईएले हालै मात्र वार्षिक ऊर्जा परिदृश्य, २०१८ जारी गरेको छ । यो परिदृश्यमा अमेरिकाले गर्ने सेल आयल र प्राकृतिक ग्यासको उत्पादन दशकौंसम्म बढ्न सक्ने प्रक्षेपण गरिएको छ ।