पूर्वाधार विकासलाई बजेटमा उच्च प्राथमिकता

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेटमा पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिने भएको छ । प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले शनिबार प्रदेश सभाको बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिने बताएका हुन् । उनले सडक, पुल, सिंचाई, ऊर्जा, खानेपानी, सरसफाई र सहरी विकासका क्षेत्रमा ठूला र रणनीतिक पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिने बताए ।
प्रदेश गौरवका आयोजना समयमा सम्पन्न हुने गरी रकम विनियोजन गरिने मन्त्री शाहीले बताए । उनले प्रदेश गौरवका आयोजना, बहुवर्षीय, क्रमागत र अधुरा आयोजनाका लागि बजेट सुनिश्चित गरिने जानकारी दिए । पूर्वाधार विकासको गुणस्तर कायम गर्न मापदण्ड बनाई नियमनकारी व्यवस्थालाई प्रभावकारी बनाइने उनले बताए । विपन्न र उच्च जोखिममा रहेका नागरिकका लागि व्यवस्थित आवास निर्माणका लागि समेत बजेटमा प्राथमिकता दिइने उनको भनाइ थियो ।
प्रदेश सरकारले निर्माण गरेका भवन, पुल, सडक लगायतका संरचनाको नियमित मर्मत सम्भारलाई प्राथमिकतामा राखिने मन्त्री शाहीले बताए । उनले अन्तरजिल्ला कनेक्टीभिटी हुने सडक योजना र पूललाई प्राथमिकता दिनेमा जोड दिए । बसाईसराई छोडी आउने पुराना बस्तीहरुमा पूर्वाधार र सामाजिक सेवालाई एकीकृरुपमा लागु गर्ने उनले बताए । प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा कृषिको व्यवसायिकरण, पर्यटन प्रवर्द्धन, जडिबुटी उत्पादन र सूचना प्रविधिको विकासलाई प्राथमिकता दिने बताएको छ ।
मन्त्री शाहीले कृषि उत्पादन र उत्पादकत्व बढाउनका साथै कृषि क्षेत्रको व्यवसायीकरण, बजारीकरण र औद्योगिकरण प्रवर्द्धन गरिने बताए । उनले कृषि सेवालाई प्रभावकारी बनाउनुका साथै कृषि फर्म सञ्चालनमा युवा समूह, युवा लक्षित सहकारी र निजी क्षेत्रलाई सहयोग गर्ने जानकारी दिए । उनले पशुपंक्षी विकासलाई समेत प्राथमिकतामा राखेर रोजगारी सिर्जना गर्ने खालका योजनाहरु सञ्चालन गर्नेमा जोड दिए । प्रदेश सरकारले आगामी वर्ष निजी क्षेत्रको सहकार्यमा पर्यटकीय पूर्वाधार निर्माण योजनालाई अगाडि बढाउने भएको छ ।
मन्त्री शाहीले पर्यटकीय सर्किट निर्माणलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिने बताए । उनले प्रदेशका पर्यटन गन्तव्यहरुलाई संरक्षण तथा प्रवर्द्धन गर्दै नयाँ गन्तव्यहरुको पहिचान र विकास गरिनेमा जोड दिए । जडीबुटी उत्पादन र संकलनलाई प्राथमिकतामा राखी बजेट विनियोजन गरिनुका साथै प्रशोधन गर्न कम्पनीहरु स्थापना गरिने मन्त्री शाहीले बताए । उनले वन पैदवारको संरक्षण र संकलनमार्फत प्रदेशको आयस्तर वृद्धि गरिने बताए ।
उनले दिगो विकासका लक्ष्यलाई प्राप्त गर्न बजेट केन्द्रित हुने बताउँदै कर दायरा बढाउनुका साथै गैरकर संकलनमा समेत जोड दिइने बताए । प्रदेश सरकारले आगामी आर्थिक वर्षमा सफ्टवेयर र हार्डवेयर निर्माण गर्ने कम्पनी सञ्चालन गर्न सहयोग गर्ने भएको छ । मन्त्री शाहीले प्रदेशमा त्यस्ता कम्पनी स्थापना गर्ने उद्योगीहरुलाई सहयोग गर्ने बताए । उनले सुदूरपश्चिम प्रदेशलाई सूचना प्रविधिको हब बनाउन आगामी वर्षको बजेट केन्द्रित गर्ने जिकिर गरे ।
उनले प्रदेशलाई डिजिटाइज गर्दै ईगभनेन्सको अवधारणालाई कार्यान्वयन गर्दै लगिने बताए । विशिष्टीकृत स्वास्थ्य सेवालाई सुनिश्चित गर्ने योजनालाई समेत प्रदेश सरकारले प्राथमिकतामा राख्ने भएको छ । मन्त्री शाहीले स्वास्थ्य सेवालाई सवलीकरण गर्नेतर्फ बजेट केन्द्रित गरिने बताए । उनले प्राथामिक स्वास्थ्य सेवालाई सबैको पहुँचमा पुर्याइने बताए । प्रदेश सरकारले आगामी आर्थिक वर्षमा एक पालिका एक आवासीय विद्यालय बनाउने लक्ष्य लिएको छ । सुदूरपश्चिमको प्रदेश सभाको बजेट अधिवेशन शनिबार शुरु भएको हो ।