साबुन उद्योगमा लगानी बढ्दै

साबुन उद्योगमा लगानी थपिदै गएको छ । घरेलु तथा साना उद्योग कार्यालय दाङमा दर्ता भएको संख्याले जिल्लामा साबुन उद्योग थपिदै गएको देखाएको हो । उद्योग थपिदै गएसँगै उत्पादन समेत वृद्धि हुँदै गएको छ । उत्पादन वृद्धिसँगै अहिले जिल्लाका बजार स्थानीय साबुनले लिदै गएका छन् । बबई गाउँपालिकाको हापुरे बजारमा सञ्चालनमा आएको साबुन उद्योग फस्टाउँदै गएको छ । स्थानीय दयाराम बिकले केही समय अघि साबुन उद्योग सञ्चालनमा ल्याएका थिए ।
रोजगारीको सिलसिलामा भारतको एक साबुन उद्योगमा लामो समय काम गर्ने अवसर पाएका बिकले अहिले आफैंले उद्योग स्थापना गरी साबुन र सर्फ उत्पादन गरिरहेका छन् । उनको दया उजेली साबुन उद्योगमा एक करोड २५ लाख रुपैयाँ लगानी रहेको छ । त्यसैगरी सल्यानको कपुरकोट गाउँपालिका–३ का तुल्सीराम चापागाइले घोराही उपमहानगरपालिका–१६, रावत गाउँमा साबुन उद्योग सञ्चालनमा ल्याएका छन् ।
उनले झण्डै तीन करोडको लगानीमा साबुन उद्योग सञ्चालनमा ल्याएका हुन् । चापागाइले मेलिना मल्टिपल प्रालिका नाममा उद्योग स्थापना गरी ‘स्मृति’ लुगा धुने साबुन बजारमा ल्याएका छन् । आगामी दिनमा नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, भाँडा माझ्ने साबुनलगायतका सामान उत्पादन गर्ने उद्योगको लक्ष्य राखेको उनले बताए । पछिल्लो समय विदेशबाट फर्किएर स्वदेश मै उद्यम गर्नेहरु आत्मनिर्भर बन्दै गएका छन् ।
विदेश छाडेर आफ्नै गाउँठाउँमा उद्यम गरेर शेरसिंह खड्का र तिलराम केसीले अरुलाई समेत रोजगारी दिँदै आएका छन् । लमही–६ देउपुरमा सरफ, हार्पिक र भाँडा माझने साबुन उद्योग सञ्चालनमा ल्याएर खड्का र केसीले १० जनालाई रोजगारी दिएका छन् । दाङमा ३५ साबुन तथा सर्फ उद्योग रहेको घरेलु तथा साना उद्योग कार्यालयको तथ्यांक रहेको छ ।
जसअनुसार घोराहीमा ८, तुलसीपुरमा १५, गढवामा ५, लमहीमा ४, बबईमा ३ गरी ३५ साबुन र सर्फ सम्बन्धी उद्योग रहेका छन् । तुलसीपुरमा रहेका १५ उद्योगमा ३ करोड ४२ लाख ६२ हजार, घोराहीमा रहेका ८ उद्योगमा १ करोड ७ लाख, गढवामा रहेका ५ उद्योगमा १ करोड २ लाख, बबईमा रहेका ३ उद्योगमा ४७ लाख ३० हजार, लमहीमा रहेका ४ उद्योगमा ५० लाख ९६ हजार लगानी रहेको छ । जिल्लामा कुल ३५ साबुन तथा सर्फ उद्योगमा ६ करोड ५१ लाख ४८ हजार लगानी भएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख लालबहादुर गुरुङले बताए ।
उक्त उद्योगमा १ सय ४० बढी जनशक्ति परिचालन भएको कार्यालयको भनाइ छ । उद्योगले स्थानीयस्तरमा रोजगारी दिन सफल भएको छ । स्थानीयतरमा रहेका कच्चा पदार्थ प्रयोग गरेर साबुन उद्योगले उत्पादन गरिरहेका छन् । सरसफाईका लागि चाहिने हार्पिक, फिनाईल जस्ता पदार्थ उत्पादनमा उनीहरुको लगानी रहेको कार्यालयले जनाएको छ ।
खासगरी, विदेशबाट फर्किएका तथा स्वदेश मै केही गर्नुपर्छ भन्ने मनसायका साथ सानो लगानीबाट शुरु गरेको साबुन उद्योगले बजार राम्रै पाइरहेको उद्योग सञ्चालको भनाइ छ । उद्योगको क्षमता बढाएर धेरै उत्पादन गर्ने र वस्तुको लागत घटाउने योजनामा रहेका केही साबुन उद्योग सञ्चालक अहिलेको परिस्थितिका कारण थप लगानी गर्ने अवस्थामा भने देखिदैनन् । केही उद्योगहरुले चिउरी, गडीको तेल, मालागेडी, तितेपाती र टिमुरको मिश्रणमा नुहाउने साबुन उत्पादन गर्ने गरेको उद्योग सञ्चालकहरुको भनाइ छ ।
बढ्दो सहरीकरणसँगै पछिल्लो समय आम नागरिकमा सरसफाईमा साबुन र सरफको खपत बढेको छ । जस्ले गर्दा यसको व्यवसाय समेत राम्रो चल्ने गरेको छ । बढ्दै गएका साबुन उद्योगका कारण बजारमा बिक्रीका लागि लागी चुनौती रहेपनि गुणस्तरीय वस्तु उत्पादन गर्ने उद्योगहरु सफल हुने गरेको घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत बिक्रम केसीले बताए ।