उद्योग व्यवसायलाई प्राथमिकता दिने बजेट आउँछ

अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिसँग अर्थतन्त्रमा अहिलेको सूचकहरुको सम्वन्धमा भएको छलफलमा उद्योग व्यवसायलाई प्राथमिकता दिने बजेट आउने बताएका छन् । सांसदहरुले वर्तमान अर्थतन्त्रकाबारेमा विभिन्न जिज्ञासा राखेका थिए । सांसदहरुको जवाफ दिँदै मन्त्री महतले नेपाली उद्योग व्यवसायीलाई प्रमोट गर्ने कुरालाई आउँदो बजेटमा प्राथमिकता दिने बताए ।
उनले भने,“बढीभन्दा बढी नेपाली उद्योग व्यवसायलाई प्रवर्द्धन गर्ने नीतिमा हामी जान्छौं, ज्ञानलाई सम्पूर्ण रुपमा उपयोग गरेर सिस्टममा भएको समस्यालाई धकेल्ने हो । समस्यालाई कसरी धकेलेर बाहिर निकाल्ने हो भन्ने कुरामा सबै जानकार हुनुहुन्छ ।” उनले भने,“स्वदेशमा अवसर छैन भने विदेशमा गएर आफ्नो उन्नति गर्ने ढोका बन्द गर्नु हुँदैन । तर हामी नेपालमै अवसरहरु सिर्जना गर्दै लैजाने हो । यो कुरालाई हामीले प्राथमिकतामा राख्नुपर्छ, यसमा दुई मत छैन । युवाहरुको क्षमता छ, देशभित्रै प्रयोग हुनुपर्छ भन्ने मान्यतालाई हामी प्राथमिकतामा राख्छौं ।’’
अर्थमन्त्री महतले ज्ञान र अनुभवलाई उपयोग गर्ने भन्दै ठूलो स्वरमा कुरा नगर्ने स्पष्ट पारे । उनले भने, ‘‘सुधारको आवश्यकता छ, यसलाई इमान्दारिका साथ काम गर्छु । तर दुई महिनाभित्र मेरो ज्ञान र अनुभव उपयोग गरेर सारा समस्या सफाचट हुन्छ म भन्दिन । अवश्य पनि नीति कार्यक्रममा क्रमशः सुधारहरु गरिनेछन् । धेरैजसो यसपाली गरिनेछ, कतिपय कुरा क्रमशः गरिँदै लगिने छ ।’’
उनले भने,‘‘समग्र उद्योग व्यवसाय, समग्र अर्थतन्त्रको कुरा गरेको हुँ, एउटा व्यक्ति, व्यवसायको फाइदाका लागि मबाट केही हुँदैन । पुँजीगत खर्च, राजश्व परिचालनले गुणस्तरीय उत्पादन यसबाट हुन्छ कि हुँदैन भन्ने मेरो ध्यान केन्द्रित हुनेछ । मैले आफ्नो टिममा यी कुरा बलियोसँग राखेको छु । सिस्टमबाट आएका कुरा ठीक छन् कि छैनन यी सबै कुरा दिनरात म हेरिरहेको छु, यहाँ राजनीतिक दल यो वा त्यो भनेर हेरेको छैन । यहाँ देश र जनताको कुरा छ । म व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गर्छु ।’’
‘‘अहिले राजस्व कम उठ्यो, त्यही आधारबाट माथि उठेर हामीले कामको सुरुवात गरेका छौ । राजस्व घटेको स्थानमा मैले हेरिरहेको छु । ती कुरालाई हामी सुधार गर्छौ । यति गर्दागर्दै पनि यो आर्थिक वर्षमै गति लिएर ३५–४० प्रतिशत बढी राजस्व उठाउन सक्छु भन्ने अवस्था छैन’’ अर्थमन्त्री डा. महतले भने,‘‘वैदेशिक ऋणले हाम्रो अर्थतन्त्रलाई सहयोग पुगेको छ कि छैन ? यसको समीक्षा हुन जरुरी छ । यो समीक्षा गरेर हाम्रो आवश्यकताअनुसार ल्याउन आजको भोलि नै सम्भव छैन । यसको पनि सीमा छ, योसँगै हामीले खर्च गर्ने क्षमता पनि देखाउन आवश्यकता छ ।’’
‘‘हाम्रो साउँ व्याज एकदमै बढ्दै गएको छ । भूकम्पका बेलामा लिएको ऋणको पनि भुक्तानी भइसकेको छैन । ऋण भुक्तानीमा हामीले ध्यान केन्द्रित गर्न थाल्यौ भने साधारण र पुँजीगत खर्चमा दबाब सिर्जना हुन्छ । प्रशासनिक खर्चको सीमा छ, सामाजिक सुरक्षा खर्च हटाउन सक्दैनौं । सार्वजनिक स्वास्थ्य शिक्षाको लगानी कटाउन सक्दैनौं । यस बीचमा हामी ऋण भुक्तानीको दायित्वबाट हामी भाग्न सक्दैनौं । यो जति दबाब बढ्दै जान्छ, हाम्रो आन्तरिक आवश्यकतामा दबाब पर्छ । पुँजीगत खर्च गर्नुपर्ने चौतर्फी मागलाई सम्बोधन गर्न हामीसँग श्रोत सीमित छ । यो असन्तुलनको बीच हामीले काम गर्नुपर्ने आवश्यकता छ’’ मन्त्री महतले भने ।
‘मेरो क्षमता, योग्यताले ल्याएसम्म, मेरो ज्ञान र अनुभवले भ्याएसम्म यो सिस्टममा देखिएको समस्या एकैपटक समाप्त हुँदैन, तर त्यसलाई एउटा ढुंगा पन्छाउँदै, अर्को ढुंगा पन्छाउँदै स्पष्ट मार्गचित्र कोर्ने हो, मन्त्री महतले भने,‘‘इमान्दार र समर्पणका साथ काम गर्दै जाने हो, तपाईंहरुको सहयोग चाहिन्छ, शंका गर्नुस्, प्रश्न उठाउनुस् । तर, यसले गम्भीरताका साथ प्रयास गरेको छ भन्ने कुरा एउटा कुनामा स्पेस राख्न अनुरोध गर्दछु ।’’