Logo

एक जनाले पाँचवटा मात्र ठेक्का पाउने प्रावधान राख्न माग

निर्माण व्यवसायी संघ म्याग्दीले एक निर्माण व्यवसायीले पाँच वटा मात्र ठेक्का लिन पाउने व्यवस्थालाई संशोधन नगर्न आग्रह गरेको छ । संघले पत्रकार सम्मेलन गर्दै सार्वजनिक खरिद निमायवली अनुसार ५ वटाभन्दा बढी योजनामा सहभागी हुने नियमलाई कार्यान्वयन गर्न आग्रह गरेको हो ।

राष्ट्रिय विकास समस्या समाधान समितिको ५०औं बैठकमा सार्वजनिक खरिद नियमावलीको १२ औं संशोधनको ६५ उपनियम (४घ १) मा एक वा संयुक्त उपक्रमको रुपमा पाँचवटा खरिद सम्झौता बमोजिमको कार्य सम्पन्न गर्न बाँकी रहको निर्माण व्यवसायीले निर्माण कार्यका लागि आह्वान हुने खुला बोलपत्र प्रक्रियामा भााग लिन नपाउने व्यवस्था थावत राख्न माग गर्दै संघले प्रेस विज्ञप्ति निकालेको थियो ।

निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष गोपाल भट्टचनले नियमावलीमा राखिएको उक्त प्रावधानले धेरै भन्दा धेरै काम ओगटी निर्माण कार्यलाई लथालिंग बनाउने परिपाटी लगभग अन्त्य गरी सबै खालका निर्माण व्यवसायीलाई समेत कामको अवसर दिएको जानकारी गराउँदै स्वार्थ समूहको चलखेलमा नियमावाली संशोधन गराउन लागेको भन्दै आपत्ति जनाए ।

पुरानो खरिद नियमावली लागू भएसँगै परियोजनाहरु समयमै सम्पन्न भएको प्रगति मूल्यांकन राम्रो आएको भन्दै एक इजाजत पत्रले ५ वटा भन्दा बढी काम ओगट्ने प्रविधिले योजना अलपत्र हुने, काम नगरी ठेक्का आह्वानमा कमिशनको चलखेल बढ्नेलगायतका समस्या उत्पन्न हुने वरिष्ठ उपाध्यक्ष प्रदिप सापकोटाले बताए ।

समयमा निर्माण आयोजना सम्पन्न हुने र सो आयोजनाबाट प्राप्त हुने प्रतिफल तोकिएकै समय भित्रै सरोकारवालाले पाउने भएको हुँदा सबै निर्माण व्यवसायीलाई अति उपयोगी प्रमाणित भएको उक्त पाँच प्याकेजको व्यवस्था हटाइएमा निर्माण व्यवसायीहरू आन्दोलनमा जान बाध्य हुने अध्यक्ष भट्टचनको चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस्