Logo

छन्त्याल संस्कृति संरक्षणको लागि भेषभूषा सहयोग

म्याग्दीको दुर्गम बस्ती धवलागिरि गाउँपालिका–१ गुर्जामा गुजुमुज्ज परेका परम्परागत शैलीका घरहरुमा छन्त्याल जातिको बसोबास छ । २७० घरधुरी रहेको यहाँ १८५ घरधुरी छन्त्याल जातिको बसोबास गर्छन् । गुर्जामा छन्त्याल जातिको मौलिक कलासंस्कृति अझै पनि जीवित छ । यहाँका छन्त्यालहरु आफ्नो कला संस्कृति संरक्षण बचाइराखेका छन् । छन्त्याल संस्कृति संरक्षणका गर्नका लागि सामाजिक विकास कार्यालयको आर्थिक सहयोगमामा मौलिक भेषभुषा सहयोग गरिएको छ ।

गुर्जामा रहेका छन्त्याल समुदायको मौलिक संस्कृति पुख्र्यौली नाचको संरक्षण र सम्वर्द्धनमा टेवा पुर्‍याउन सामाजिक विकास कार्यालयले छन्त्याल भेषभूषा सहयोग गरेको हो । म्याग्दीको छन्त्याल संस्कृति संरक्षण कार्यक्रम अन्तरगत गुर्जाका छन्त्यालहरुको कला, संस्कृति जगेरनाका लागि पुख्र्यौली नाचमा प्रयोग हुने विभिन्न १७ प्रकारका भेषभुषा र श्रृङ्गारका सामग्री १२ सेटका दरले उपलब्ध गराइएका सामाजिक विकास कार्यालयका प्रमुख थापाले जानकारी दिए ।

पुख्र्यौली नाचमा कलाकारले प्रयोग गर्ने टेकी, लुङ्गी, घलेक, चोली, पिरुमाला, पोते, सुन पाटा, पछौरी, पटुका, स्टकोट, भाङ्ग्रा, टोपी, गलबन्दी, कछार, बेल्ट, फुली र शिरबन्दीका सामग्री उपलब्ध गराएको जनाएको छ । गुर्जाका छन्त्याल समुदायले हरेक परिवारमा जेठो छोराको जन्म हुँदा दसैं र तिहारको समयमा ‘पुर्पुरो’ नाचको रुपमा पुख्र्यौली नाच देखाउने गर्छन् ।

गाउँमा जाने अतिथि र पर्यटकका लागिसमेत देखाउने उक्त पुख्र्यौली नाचले अन्तरपुस्ता र संरक्षणमा टेवा पुगेको वडा अध्यक्ष छन्त्यालले बताए । त्यस्तै गाउँपालिकाका उपाध्यक्ष पुनले अल्यसंख्यक छन्त्याल समुदायको भाषा, भेषभुषा र संस्कृति हराएर जाने अवस्थामा पुग्न नदिन समुदाय आफैंले पनि सक्रियता देखाउनुपर्ने भन्दै गाउँपालिकाले कला, संस्कृतिको संरक्षणमा आवश्यक पहल गर्ने बताए ।

छन्त्याल जातिको मुख्य संस्कृतिका रूपमा रहेको पुख्र्यौली नाच पाका पुस्ताबाट युवायुवतीमा हस्तान्तरण गर्न संस्कृति जर्गेना कार्यक्रम गर्दै आएका छन् । पुख्र्यौली नाचमा मादलमा दुई जना, सिँगारु दुई जना, जोगिया एक जना, गीत गाउने गायक एक जना र आवश्यकता अनुसार गीत छोप्ने कलाकारहरू हुन्छन् । उनीहरू छन्त्याल जातिको भेषभूषामा सजिएर नाच्ने र गाउने गर्दछन् । गुर्जाका छन्त्यालहरुले परम्परागत संस्कृति, मौलिकपन, रहनसहन, भाषा र भेषभूषा अझै जीवित राखेको वडाध्यक्ष छन्त्यालले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्