‘बैंकमा खराब कर्जा बढेसँगै मुलुकको अर्थतन्त्रमा थप चुनौती’

नेपाल बैंकर्स संघका उपाध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकमा खराब कर्जा बढेकाले मुलुकको अर्थतन्त्रमा समेत थप चुनौती थपिएको बताएका छन् ।
गत शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्दै उपाध्यक्ष कोइरालाले अघिल्लो असार महिनामा १.२ प्रतिशत रहेको बैंकहरुको खराब कर्जा (एनपीए) अहिले बढेर ३.००८ प्रतिशतमा पुगेको बताए । उनले मुलुकका ५ वटा बैंकको मुनाफा घटेको तथा ३२ अर्ब बढीको कर्जा प्रवाह र २० अर्बको हाराहारीमा ब्याज उठ्न नसकेको देखिएकाले आगामी दिनमा देशको अर्थतन्त्र वा बैंकिङ क्षेत्रले थप चुनौतीहरु भोग्नुपर्ने अवस्था देखिएको बताए ।
उपाध्यक्ष कोइरालाले पछिल्लो समय बैंकहरुको निष्कृय कर्जाको ब्याजदर समेत बढ्दै गएको बताए । उनले बैंक तथा वित्तीय क्षेत्रविरुद्ध भइरहेको अराजक आन्दोलनले अझ चुनौती बढेको भन्दै सरकारले तत्काल बैंकविरुद्धको अराजक आन्दोलन रोक्न माग गरे । उनले चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुको करिव २५ देखि ३० प्रतिशत नाफा घट्ने दाबी गरे ।
उनले पछिल्लो समय बैंकहरुले धेरै नाफा कमाए भनेर चित्रण गरे जस्तो वास्तविकता नभएको स्पष्ट पारे । उनले समग्र विश्व बैंकिङ उद्योगको मुनाफा ८ प्रतिशत र ५० प्रतिशत बैंकहरुले लागत कस्ट भन्दा पनि कम नाफा गरिरहेको अवस्था रहेको बताए । उनले पछिल्लो आर्थिक वर्षमा नेपालका बैंकहरुले ११ प्रतिशत मुनाफा रहेको भन्दै अन्य उद्योगहरुको तुलनामा बैंकिङ उद्योगको नाफा कम रहेको दाबी गरे । उनले पछिल्लो समय नेपालको कर्जा प्रवाह जीडिपी ग्रोथ भन्दा बढी भएको कारण राष्ट्र बैंकले कर्जा नियन्त्रण गर्ने नीतिहरु लिएको बताए ।
उनले भारतमा जिडिपी र कर्जा विस्तारको वृद्धि ५५ प्रतिशतको हाराहारीमा देखिँदा नेपालमा ९९ प्रतिशतको रेसियोमा रहेको बताए । उपाध्यक्ष कोईरालाले अहिले बैंकिङ उद्योगमा ५४.४७ खर्ब निक्षेप संकलन र ४८.४४ खर्ब कर्जा प्रवाह भइरहेको बताए । उनले चालु आर्थिक वर्षको वैशाख महिना सम्ममा २९८ अर्ब (५.४७ प्रतिशत) निक्षेप र १४७ अर्ब (३.३० प्रतिशत) ले कर्जा बढेको बताए । उनले पछिल्लो चालु आर्थिक वर्षमा निक्षेप संकलन ४१९ अर्ब (९ प्रतिशत) र कर्जामा ५३८ अर्ब (१४.५ प्रतिशत) रहेको बताए ।
उपाध्यक्ष कोइरालाले चालु आर्थिक वर्षमा बैंकिङ क्षेत्रले तिर्ने ८ देखि १० अर्बको हाराहारीमा कर घट्ने बताए । उनले उद्योगी व्यवसायीहरुले आफ्नो व्यापार व्यवसाय गर्न भन्दा पनि बैंकविरुद्ध हुने क्रियाकलापले देशको अर्थतन्त्रको साथै वित्तीय क्षेत्रमा विभिन्न चुनौतिहरु थपिएको बताए । उनले बैंकबाट विभिन्न व्यापार व्यवसाय लिनको लागि लिएको ऋण समयमा नतिर्ने र बैंकले पटक–पटक जानकारी गराउँदा उल्टै बैंकका कर्मचारीको अपमान गरी बैंकिङ क्षेत्रलाई नै बदनाम गराउने प्रयास भइरहेको आरोप लगाए ।