Logo

कार्यक्षमता बढाउन चुनौती

देशको कार्यक्षमता बढाउने कार्य चुनौतीपूर्ण रहेको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै अर्थमन्त्री महतले सोमबार सो कुरा बताएका हुन् ।

‘देशको इफिसेन्सी बढाउने कार्य चुनौतिपूर्ण छ,’ डा. महतले भने, ‘हामी नीतिगत रुपमा धेरै कुरा भनेका छौं, तर त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न सकिएको छैन ।’ वर्तमान समयमा निजी उद्योगी व्यवसायीमा असहज, अप्ठ्यारो र दबाब सिर्जना भएको महसुस हुन थालेको पनि उनको भनाइ थियो ।

केही अप्ठ्यारा र व्यवधान रहेको एवं सरकार निजी क्षेत्र मिलेर यी अप्ठ्यारा र व्यवधान हटाउनुपर्नेमा अर्थमन्त्री डा. महतले जोड दिए । उनले भने, ‘महासंघको नेतृत्व बैंकर्सको हातमा पुगेको छ, देशको अर्थ व्यवस्थाबारे जानकार हुनुहुन्छ, समाधान गर्ने पहल गरौं । यो अप्ठ्यारोमा एकअर्कालाई सहयोग गर्ने समय हो । सहज अवस्थामा कसैले कसैलाई सहयोगको आवश्यकता पर्दैन, अप्ठ्यारो समयमै सहयोग गर्नुपर्छ ।’

‘सरकारले जसरी काम गर्नुपर्ने हो, त्यो हुन सकेको छैन । राजनीतितन्त्रदेखि प्रशासनले स्वीकार गर्नुपर्छ । म स्वीकार गर्न तयार छु । सबै कुरामा हामीले सुधार ल्याउनुपर्छ,’ उनले भने, ‘आर्थिक क्षेत्रमा कार्यान्वयन गर्ने विषय अन्य राजनीति र आर्थिक दायित्वबीचको तादम्यता नहुँदा कतिपय समस्या सिर्जना भएको छ । बढ्दो साधारण खर्चले निम्त्याएको दायित्वले आर्थिक श्रोतको पहिचान र परिचालनलाई राजनीतिक क्षेत्रबाट तादम्यताका साथ हामीले सँगसँगै लैजानुपथ्र्यो, तर राजनीतिक निर्णय एकपछि अर्को हुँदै गयो, त्यसमा हामीले प्रतिस्पर्धा गर्दै गयौं । परिवेश र वास्तविकता अर्कोतिर थियो । हामीले यथार्थ विश्लेषण गरेर आफ्नो क्षेत्रबाट कति योगदान दिन सक्छौं, अहिलेको परिवेशमा त्यो महत्वपूर्ण छ ।’

सोही पृष्ठभूमिमा राष्ट्र बैंकको नेतृत्वसँग औपचारिक र अनौपचारिक छलफल आफूले गरेको भन्दै डा. महतले भने, ‘आर्थिक सूचांक अब सकारात्मक हुनेछ । अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपालको मौद्रिक नीतिमा जहिले चासो राखेको हुन्छ । उनीहरुको सल्लाह सुझावमा पुराना नीतिहरु समय सापेक्ष बनाउने पहल गरिएको हो ।’

निजी क्षेत्रले पनि वास्ताविकता बताउनुपर्ने भन्दै डा. महतले मौद्रिक नीतिलाई सम्बोधन गर्न सरकार तयार रहेकोमा जोड दिए । ब्याजदर बढ्दा अर्थतन्त्रमा समस्या देखिएको, अहिले बैंकर्स एसोसियसनले ब्याजदरमा हेरेफेर गरेको हुँदा अहिलेको अप्ठ्यारालाई थोरै भए पनि सहज गर्न मद्दत गर्न सक्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्