Logo

भन्सार छलीमा कर्मचारी ?

भन्सार नाका र त्यसवरपरबाट भइरहेको चोरीपैठारीमा सरकारी कर्मचारी पनि दोषी रहेको आरोप अर्थमन्त्री प्रकाशशरण महतले लगाउनुले गम्भीर प्रश्न खडा गरेको छ । भन्सार प्रशासन हेर्ने तालुक निकाय अर्थमन्त्रालय हो र यसको जिम्मेवारीमा अहिले अर्थमन्त्री महत छन् । उनै व्यक्तिले सार्वजनिक रूपमा नै भन्सार नाकाहरूमा कैफियत रहेको र त्यसमा कर्मचारी पनि दोषी रहेको भन्नुले राज्यको संयन्त्रले नै कसरी राज्यकोष लुटिरहेका छन् भन्ने देखाएको छ ।

पक्कै पनि केही आधिकारिक सूचना पाएर मात्र महतले यस्तो आरोप लगाएको हुनुपर्छ । जिम्मेवार व्यक्तिले हचुवाको भरमा यस्तो बोलेको पक्कै होइन । भन्सार व्यवस्थापन गोष्ठीका अवसरमा सोमबार बोल्दै मन्त्री महतले यो वर्ष भन्सार महसुलमा कमी आउनुमा कर्मचारीको पनि दोष देखिएको बताएका थिए । महतले अहिले राजस्व घट्नुमा धेरै कारण भए पनि हामी आफैं कति कारक छौं भन्ने प्रश्न गरेका थिए ।

पछिल्लो समय चोरीपैठारी भन्सारभन्दा टाढाको बाटोबाट नभएको र भन्सार नाकाकै छेउछाउबाट चुहावट भएको भन्दै यसमा कर्मचारीको हात रहेको संकेत महतको थियो । महतले राजस्व चुहावट बढी हुनेमा भैरहवा, वीरगन्ज, रसुवा, त्रिभुवन विमानस्थललगायतका नाकाहरूको नाम लिएका थिए । मन्त्री महतले भनेजस्तै यो वर्ष समग्रमा २८ प्रतिशतले भन्सार महसुल घटेको छ । भन्सार कार्यालयहरूमा सबैभन्दा धेरै राजस्व भैरहवा भन्सारको ४४ प्रतिशतले घटेको छ ।

अर्कातिर अर्थमन्त्री महतले नेतृत्व लिनेलाई बढी जिम्मेवार बनाउन खोजेको देखिन्छ । विगतमा गल्ती गर्दा तल्लो तहका कर्मचारीलाई सजाय गर्ने तर नेतृत्व लिनेलाई केही नगर्ने परम्परा थियो । महतले जसले नेतृत्व लिइराखेको छ उसले जिम्मेवारी पनि लिनुपर्छ र सजायको भागीदार बन्नुपर्छ भन्ने आफ्नो धारणा रहेको स्पष्ट पारेका छन् । अहिले भन्सार नाकाहरूमा दैनिक प्रशासनिक कामका लागि अर्थमन्त्रालयसम्बद्ध रहेका निजामती कर्मचारी र शान्ति सुरक्षा र चोरीतस्करी नियन्त्रण गर्नका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन् ।

महतले भनेजस्तै भन्सार नाका र वरपरबाट चोरीतस्करी मौलाएको छ भने अवश्य पनि यसमा कर्मचारी र सुरक्षा निकाय पनि जोडिएका छन् । दुवैको मिलेमतोबिना भन्सारबाट राजस्व अपचलन हुने अवस्था आउँदैन । राजस्व छली कुनै पनि हिसाबमा क्षम्य पाउने विषय होइन । तर, यो दैनिक रूपमा भइरहेको छ । भन्सार नाकाहरूमा कहिले खुलेआम बढी रूपमा र कहिले लुकीछिपी कम मात्रामा मात्र हो । तर, राजस्व छली नभएको दिन नै हुँदैन ।

सुरक्षा निकायले मुलुकका भिन्नभिन्न स्थानबाट दैनिकजसो चोरीपैठारीका सामान बोकेका ट्रक तथा कन्टेनर नियन्त्रणमा लिएका घटनाहरूबाट नै राजस्व छली दैनिक रूपमा हुने गरेको प्रस्ट हुन्छ । पछिल्लो तीन दिनमा सशस्त्र प्रहरीले चारवटा यस्तै राजस्व छलेका सामान बोकेका ट्रक नियन्त्रणमा लिएको छ । केही दिनअघि राजस्व अनुसन्धान विभागले पनि एक साताको अन्तरालमा १९ वटा ट्रक नियन्त्रणमा लिएको थियो । यी केही उदाहरण मात्र हुन् । भन्सार नाकाहरूमा राजस्व छलीको रूप भयावह नै छ ।

भन्सार नाकाभन्दा बाहिरका खुला सीमाबाट हुने चोरीतस्करीको तस्बिर झनै डरलाग्दो छ । अर्थ तथा व्यापार विज्ञहरूले मुलुकको कुल व्यापारको करिब एकतिहाइ अनौपचारिक माध्यमबाट हुँदै आएको बताउने गरेका छन् । यस्तो अनौपचारिक व्यापारको ठूलो हिस्सा भन्सार नाका तथा खुला सीमाहरूबाट भइरहेको छ । मुलुकका छोटी भन्सार नाकाहरू र नेपाल–भारतको खुला सीमाको फाइदा उठाएर चोरीपैठारी हुने काम एकाध दिन वा महिना होइन, वर्षैभरि चल्दै आएको छ ।

त्यसमा पनि प्रमुख भन्सार नाकाहरूमै समस्या देखिनु भनेको गम्भीर विषय हो । यो हाकाहाकी राज्य लुटको अवस्था हो । अर्थमन्त्री महतले पनि यसैलाई इंगित गरेको हुनुपर्छ । भन्सार नाकाहरूमा कैफियत छ भन्ने विषय भन्सार महसुल कमी भएर मात्र होइन, भन्सार विभागको अनलाइन लाइभ मनिटरिङले पनि यसको पुष्टि गर्दै आएको छ । भन्सार नाकामा हुने सामान जाँचपासमा यो प्रणालीबाट काठमाडौंमा बसेर अनुगमन गर्दा पटक–पटक समस्या फेला परेको छ ।

यस्तो अनुगमनबाटै यो वर्ष चैत १६ सम्म ४५ करोड ७५ लाख रुपैयाँ थप राजस्व असुली भएबाटै भन्सार नाकाहरूमा के भइरहेको छ भन्ने छर्लङ्ग हुन्छ । यो वर्ष आयातमा आएको गिरावटका कारण भन्सार महसुल लक्ष्यअनुसार असुली भएको छैन । मुख्य कारण यही हो । तर, यसका पछाडि भन्सार छलीको हिस्सा पनि ठूलै छ । कर्मचारीलाई यो वर्ष आयातलाई कारण देखाएर अनियमितता गर्ने मौका मिलेको छ ।

राजस्वमा गिरावट आएपछि अहिले सरकार चुनौतीपूर्ण अवस्थामा छ । दैनिक खर्च धान्नसमेत राजस्वले पुगेको छैन । यस्तोमा भन्सार प्रशासनलाई चुस्त बनाएर राजस्व छली रोक्नु महतको जिम्मेवारी हो । अनियमितता गर्ने एकाध कर्मचारीलाई सजाय गर्न सके मात्र पनि अरू सबै डराउने अवस्था आउनेछ । अर्थमन्त्री महतले भाषण गर्ने मात्र हो वा केही गर्ने पनि हो ? उनको आगामी कदमले नै राजस्व छली रोकिने वा नरोकिनेमा भर पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्