स्थानीय तहको विवादले गोदाममै थन्कियो मल

स्थानीय तहको आन्तरिक विवादको कारण माग अनुसारको सिफारिस नदिँदा कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधामको गोदाममा ठूलो संख्यामा रासायनिक मल थन्किएको छ । सिजनमा धनुषा र महोत्तरी जिल्लामा रहेका २ सय ६ वटा बिक्रेतालाई माग अनुसारको मल नदिदा यस्तो अवस्था आएको शाखा प्रमुख रविकुमार केसरीले बताए ।
अहिले सो कार्यालयको गोदामा युरिया १ हजार २ सय ९८.४ सय ५० मेट्रिक टन, डिएपी १ सय २.१ सय ५० मेट्रिक टन र पोटास ६.५० मेट्रिक टन बिक्री नभएर मौज्दात अवस्थामा रहेको छ । सो कार्यालयले २०७९ साउनदेखि चैत २१ गतेसम्म १७ करोड १३ लाख ९३ हजार ३ सय ५ रुपैयाँ मूल्य बराबरको ३ हजार ८ सय ४१.८ सय ५० मेट्रिक टन युरिया, २ हजार ३ सय ८.९ सय मेट्रिक टन डिएपी र २ सय १५.९ सय ५० मेट्रिक टन पोटास बिक्री गरेको छ ।
संघीय सरकारले धान गहुँ, मकै र तरकारी खेती गर्ने किसानलाई प्राथमिकतामा राखेर सहुलियत दरमा रासायनिक मल उपलब्ध गराउँदै आएपनि मलको सिफारिस गर्दा स्थानीय तहले विवाद गर्ने र समयमा सिफारिस नगर्दा थोक बिक्रेताहरुले माग गरेजति मल दिन नसक्दा बढी मात्रामा मल बिक्री हुन नसकेको प्रमुख केसरीको भनाइ छ ।
सरकारले किसानलाई सहुलियत दरमा युरिया मल प्रतिबोरा ८ सय ४३, डिएपी प्रतिबोरा २ हजार २ सय ९३ र पोटास प्रतिबोरा १ हजार ६ सय ९३ रुपैयाँमा उपलब्ध गराउँदै आएको छ । तर धनुषा र महोत्तरीका थोक बिक्रेताले दुर्गम गाउँमा सो मल लैजाँदा ढुवानी खर्च बढी लाग्ने, बाटोमा प्रहरीले क्षमता भन्दा बढी लोड गरेको भनेर जथाभावी रकम माग्ने गरेकाले महगोमा मल बेच्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् ।
जनकपुर शाखाबाट ७० प्रतिशत मलको कारोबार भएपनि बिक्रेताले मागे जति मल उपलब्ध नगराउँदा अहिले पनि कति ठाउँमा मलको समस्या देखिएको छ । सरकारले उखु खेती गर्ने किसानलाई प्राथमिकतामा नराख्दा कतिपय किसानले धान खेतीका लागि खरिद गरेको मल उखु खेतीमा प्रयोग गर्दै आएका छन् ।
यसैबीच कृषि सामग्री कम्पनी ढल्केवर धनुषाले चालु आर्थिक वर्षको साउनदेखि चैत २१ गतेसम्म ४२ करोड ४९ लाख ३ हजार ८ सय २९ रुपैयाँ बराबरको २ हजार १ सय २८.६ सय मेट्रिक टन युरिया, १ हजार ३ सय ४०.५ सय ५० मेट्रिक टन डिएपी र १ सय ७४ मेट्रिक टन पोटास बिक्री गरेको प्रमुख ध्रुव साहले बताए । सो कार्यालयसँग हाल ३ सय ४४.४ सय ५० मेट्रिक टन युरिया र ९६.९ सय मेट्रिक टन डिएपी मौज्दात अवस्थामा रहेको छ ।
कार्यालयसँग ६८ वटा थोक बिक्रेता रहेकोमा उनीहरुले धनुषा तथा महोत्तरी जिल्लाको उत्तरी तथा पूर्वी भागका किसानलाई मल उपलब्ध गराउँदै आएका छन् । यस वर्ष रासायनिक मल अत्यधिक मात्रामा रहेकाले आउँदो वर्ष मलको अभाव नहुने ढल्केवर कार्यालयले जनाएको छ ।