Logo

जलविद्युत आयोजना र भारतीय क्रेताबीच प्रत्यक्ष विद्युत खरिद सम्झौता हुने

वैशाख पहिलो साता ‘पावर समिट २०२३’

आगामी वैशाख ५ र ६ गते ‘पावर समिट २०२३’ को आयोजना हुने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले आठौं संस्करणको ‘पावर समिट‘ हरित उर्जाको बजार विस्तारीकरण’ भन्ने नाराका साथ आयोजना गर्न लागेको हो । इपानले बुधबार पत्रकार सम्मेलन गरेर पावर समिटको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको छ । इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले नेपालमा आयोजना हुने सबैभन्दा ठूलो ऊर्जा समिट रहेको बताए ।

“३० भन्दा बढी देशका ३०० अन्तर्राष्ट्रिय प्रतिनिधिसहित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उच्च अधिकारीहरू, पावर ट्रेडिङ कम्पनीहरू, विद्युत उत्पादकहरू, वित्तीय संस्थाहरू, प्रसारण तथा वितरण कम्पनीहरू, परामर्शदाता कम्पनीहरू लगायत अन्य ऊर्जा क्षेत्रका सरोकारवालाहरू गरी करिब ८०० जना सहभागी हुनेछन्,” उनले भने, “सम्मेलनमा नेपाली जलविद्युत आयोजना र भारतीय क्रेताबीच प्रत्यक्ष विद्युत खरिद सम्झौता (पिपिए), नवीकरणीय ऊर्जा विकास र बजार विस्तारका लागि सम्झौता गरिनेछ ।”

सम्मेलनमा नेपालको विद्युत बजार, प्रसारण पूर्वाधार, नेपालको जलविद्युतको माग, प्रविधि, नव प्रवर्द्धन सोलार, हाइड्रोजन, अन्तरदेशिय विद्युत व्यापार, दिगो र जलवायु अनुकुल विकासलगायत विषय समेट्ने गरी १५ वटा सत्रहरू सञ्चालन गरिने उनको भनाइ छ । इपानका अनुसार पर्यावरण, सामाजिक र सुशासन, क्षेत्रिय सहकार्य र ऊर्जा सुरक्षा लगायतका विषयमा लगानी बोर्ड तथा निजी क्षेत्रका तर्फबाट ५ हजार मेगावाटका परियोजनाहरू प्रवर्द्धन गरिने छ ।

नेपाल अहिले विद्युत उत्पादनमा आत्मनिर्भर हुँदै ऊर्जा जगेडातर्फ अघि बढेको छ । अहिले देशको जडित करिब २५५० मेगावाट पुगेको छ । जसमा निजी क्षेत्रको योगदान ६५ प्रतिशत रहेको इपानले जनाएको छ । यो वर्ष निजी क्षेत्रको करिब ६०० मेगावाट प्रणालीमा थपिँदै छ । सन् २०२७ सम्म कूल जडित क्षमता ६७०० मेगावाट पुर्‍याउने लक्ष्य छ ।

यो अवधिमा निजी क्षेत्रको योगदान ८० प्रतिशत पुग्नेछ । सुख्खा याममा हाल करिब ४५० मेगावाट विद्युत आयात गरिरहेको भएता पनि वर्षा याममा भने करिव १००० मेगावाट विद्युत निर्यात गर्ने अवस्थामा देश पुगेको इपानको भनाइ छ । विद्युत उत्पादनमा भएको यो सफलतामा निजी क्षेत्रको योगदान करिब ६५ प्रतिशत पुगेको छ भने सन् २०२७ सम्ममा ८० प्रतिशत पुग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्