राजस्व छुटको एम्बुलेन्समा व्यक्तिको रजाइँ

नेपाल सरकारको राजस्व छुटमा खरिद गरी ल्याइएका एम्बुलेन्स इलाममा व्यक्तिगत रूपमा प्रयोग भएको पाइएको छ । विभिन्न संस्थाका नाममा सरकारबाट राजस्व छुट गराई ल्याउने र पछि व्यक्तिलाई बिक्री गरी दुरुपयोग भएपछि जिल्लामा निगरानी सुरु भएको हो । जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति इलामले संस्थागत भनी राजस्व छुटमा आएका दुईवटा एम्बुलेन्स फिर्ता लिएको छ ।
सूर्योदय नगरपालिका इलाममा सञ्चालन भएका दुईवटा एम्बुलेन्स दुरुपयोग भएको पाएपछि नगरले जिम्मा बुझेको हो । सूर्योदय नगरपालिकाको शुभलाभ सहकारीको नाममा सञ्चालन भएको मे १ च ४७५१ नम्बरको एम्बुलेन्स र अखिल नेपाल ट्रेड युनियन महासंघले सञ्चालन गरेको एम्बुलेन्स फिर्ता लिइएको हो । दुवै एम्बुलेन्स निजी प्रयोगमा बिक्री भएको पाइएको थियो । यी एम्बुलेन्स हाल बिग्रिएको बताइएको छ ।
स्वास्थ्य कार्यालय इलामले विभिन्न संस्थाको व्यानर प्रयोग गरी केही व्यक्तिले एम्बुलेन्स सञ्चालन गरिरहेको पाइएको जनाएको छ । यस्तो एम्बुलेन्सले जिल्ला एम्बुलेन्स व्यवस्थापनले तोकेको भाडादरसमेत लागू गरेका छैनन् । नेपाल सरकारको राजस्व छुटमा आएका एम्बुलेन्स कानुनी रूपमा राजीनामा पास नहुने भएपछि वकिललाई कागज गरी व्यक्तिलाई बिक्री गरेर सञ्चालनमा ल्याएको पाइएपछि यस्ता एम्बुलेन्स फिर्ता लिने प्रक्रिया अगाडि बढाइएको स्वास्थ्य कार्यालय इलामकी शाखा अधिकृत रीता अधिकारीले बताइन् ।
राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ का अनुसार क र ख वर्गका एम्बुलेन्सका लागि मात्र राजस्व छुटको व्यवस्था गरिएको छ । जनस्वास्थ्य नियमावलीको नियम २३ को व्यवस्थाअनुसार अस्पताल वा स्वास्थ्यसम्बन्धी संघसंस्था बाहेकलाई एम्बुलेन्स सञ्चालनको अनुमति दिने गरेको छैन भनिए पनि निर्देशिका जारी हुनुपूर्व स्वीकृति पाएका एम्बुलेन्सको नवीकरण सरकारी अस्पतालको आधारमा हुने गरिने व्यवस्था छ ।
पहिले जथाभावी रूपमा संघ संस्थाले अनुमति लिई सञ्चालन गरेका एम्बुलेन्सले नियमित नवीकरणसमेत नगरेको पाइएको छ । इलामको महाभारत स्वास्थ्य तथा वातावरण केन्द्रद्वारा सञ्चालन गरिएको एम्बुलेन्स विगत चार वर्षदेखि नवीकरण नगरी सञ्चालन गरेको पाइएको छ । उक्त संस्थाका प्रमुख डा. तारा पोख्रेल हुन् । उनी विगतमा स्वास्थ्य कार्यालय प्रमुखका साथै इलाम अस्पतालका मेसुसमेत रहेका थिए ।
नेपाल सरकारको राजस्व छुटमा खरिद गरिएको मे १ च १६३४ को एम्बुलेन्स व्यक्तिका नाममा बिक्री भएको पाइएपछि स्वास्थ्य कार्यालयमार्फत् विवरण बुझाउन पत्र लेखिएको छ । राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ ले क र ख वर्गको एम्बुलेन्स, एयर एम्बुलेन्स, मोटरसाइकल एम्बुलेन्स, ड्रोनमा हुनुपर्ने औषधि उपकरण र जनशक्तिको समेत मापदण्ड तोकेको छ । क वर्गको एम्बुलेन्सका लागि एडभान्स आकस्मिक चिकित्सकीय प्राविधिक र चालक ख वर्गको एम्बुलेन्सका लागि आधारभूत चिकित्सकीय प्राविधिक र चालकको व्यवस्था हुनुपर्नेछ ।
जथाभावी रूपमा भाडादर लिएर सञ्चालन गर्ने एम्बुलेन्समा कुनै पनि मापदण्डअनुसारका उपकरण, जनशक्ति र औषधि भएको पाइँदैन । राजस्व छुट सुविधामा पैठारी गरेका एम्बुलेन्स बिरामी ओसारपसारलगायत सेवा प्रदान गरेवापत भाडादर स्वास्थ्य तथा जनसंख्या मंत्रालयले तोकेबमोजिम हुने निर्देशिकामा उल्लेख छ । यस्तै एम्बुलेन्समा जीपीएस अनिवार्य रूपमा जडान भएको हुनुपर्ने व्यवस्था छ ।