Logo

एशिया प्यासिफिक एडभान्स नेटवर्कको सम्मेलन आजदेखि

एसिया प्रशान्त क्षेत्रका १७ देशका राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जाल संस्थाहरुको सहकार्यमा स्थापित एशिया प्यासिफिक एडभान्स नेटवर्कको अन्तर्राष्ट्रिय सम्मेलन यही फागुन २९ देखि चैत ३ गतेसम्म काठमाडौंमा हुने भएको छ ।

सूचना तथा सञ्चार प्रविधिका विभिन्न क्षेत्रमा वैज्ञानिक अनुसन्धान र सहकार्य गर्दै आएको सो संस्थाले एशिया प्रशान्त क्षेत्रका राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जाल संस्थाहरुको संयोजन तथा विश्वका विभिन्न देशका वैज्ञानीक अनुसन्धान, नवप्रवर्तन र विभिन्न विश्वविद्यालयहरुसँगको सहकार्यमा हरेक वर्ष दुईवटा अन्तर्राष्ट्रिय सम्मेलन एशिया प्रशान्त क्षेत्रका विभिन्न राष्ट्रहरुमा आयोजना गर्दै आएको छ ।

सम्मेलन आयोजनाको मुख्य संयोजन नेपालका सूचना प्रविधि सम्वन्धी संस्थाहरुसँगको सहयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्कले गरेको छ । कोभिड महामारीपछि पहिलो पटक भौतिक रुपमा आयोजना हुन लागेको पाँच दिने अन्तर्राष्ट्रिय सम्मेलनमा ५५ वटा भन्दा बढि सेसनहरु सञ्चालन हुने साथै १७५ भन्दा बढि प्रतिनिधिले शिक्षा, सूचना प्रविधि, वैज्ञानिक अनुसन्धान लगायतका विभिन्न क्षेत्रमा केन्द्रित रहेर प्रस्तुति दिने आयोजकले जनाएको छ ।

सूचना प्रविधि कार्यान्वयनका विभिन्न क्षेत्रहरु जस्तै प्रकोप व्यवस्थापन, कृषि आधुनिकीकरण, मानव स्वास्थ्य र चिकित्सकीय प्रविधि, वैज्ञानिक तथ्यांकहरुमा पहुँच, इन्टरनेट सुरक्षा आदि विषयवस्तुमा केन्द्रित रहेर सहभागीबीच अनुभव आदानप्रदान हुने बताइएको छ । नेपालको तर्फबाट जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभाव र यसको न्युनीकरणको लागि सूचना प्रविधि र वैज्ञानिक अनुसन्धानको भूमिका सम्वन्धमा जलवायु परिवर्तन विज्ञ तथा नेपाली पर्वतारोहीसमेतको प्रस्तुति रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्