Logo

सानैमा बिहे गरेका महिला नै अहिले बालविवाह रोक्दै

कनकासुन्दरी गाउँपालिका–६ का शोभा कामीले १४ वर्षकै उमेरमा विहे गरिन् । आमा बाउको करकापमा बालविवाह गरेकी शोभा एक वर्षमै गर्भवती भइन् । १४ वर्षीया शोभाका विवाह गरेको तीन वर्षमा तीनवटा बच्चा मरे । शारीरिक प्रजनन स्वास्थ्य परिपक्व नभएको र उमेर सानै भएको, गर्भवस्थामा आराम र पोषिला खाने कुराको चेतना नभएका कारण तीन बच्चा मरे ।

शोभा भन्छिन्, “त्यतिबेला बालविवाहको कानुन पनि थिएन । शिक्षाको कुरा धेरै दूर थियो । पराइघरमा जाने छोरीलाई पढाउनु हुँदैन भन्ने चलन थियो । अशिक्षा, गरिबी, अन्धविश्वासले गर्दा परिवारको दबाबमै विवाह गरे । जसका कारण तीन बच्चा गुमाए, स्वास्थ्य कच्चा भयो । पढ्न लेख्न पाइन ।”

अहिलेको जस्तो हप्ता महिना पिच्छे तालिम, कानुनका कुरा सिकाउने त्यतिबेला भएको भए सायद बालविवाह हुन्थेन । विगत सम्झेर ठूलो पश्चताप लाग्छ । त्यसैले अब आफ्नो गाउँघरलाई बालविवाहमुक्त बनाउन जुटेको उनको भनाइ छ । धेरै किशोरीलाई आफ्नै कथा सुनाएरसमेत बालविवाह नगर्न परामर्श दिने गरेको शोभाले बताइन् ।

त्यस्तै, कनकासुन्दरी–६ की धर्मा सार्कीले पनि १३ वर्षकै उमेरमा विवाह गरेकी हुन् । अहिले उनी ४७ वर्ष लागिन् । सानैमा बिहे गरेका कारण धर्माका पनि गर्वमै तीन बच्चा मरे । उनले भनिन्, “सानैमा बिहे गरेर म शारिरिक रूपमा कच्चा भएँ । पाठेघर खस्ने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने समस्याबाट पीडित छु । सबै बालविवाहको कारण हो । अहिले त चेत खुल्यो । बालविवाहमुक्त गाउँ बनाउन जुटेकी छु ।”

कनकासुन्दरी–६ कै राजकली कामीले ११ वर्षको उमेरमा विहे गरेकी थिइन् । माईती पोईलीको दबाबमा सानैमा विहे गरेको सजाय अहिलेसम्म भोक्दै छिन् । अहिले उनको पाठेघरमा समस्या छ । बालविवाहकै कारण शिक्षा, स्वास्थ्य, रोजगारका अवसरबाट वञ्चित भएकी राजकली अहिले दलित संजालको उपाध्यक्ष भएर बालविवाह रोक्ने अभियानमा छन् ।

शोभा, धर्मा र राजकलीमात्रै होइनन्, पहिला सानैमा विहे गरेर पश्चात गरिरहेका कनकासुन्दरीका सयौ महिला अहिले बालविवाह रोक्न जुटेका छन् । आफूले बालविवाह गर्दा भोग्नु परेका समस्या सुनाउँदै किशोरीलाई परामर्श दिन थालेका हुन् । कनकासुन्दरी र सिंजामा सम्पन्न ‘अन्तर पुस्ता संवाद’ कार्यक्रममा बाबा आमाले बालविवाह रोक्न अभियान चलाउने र छोराछोरीले २० वर्ष पुगेपछि नभई आफ्नो खुट्टामा उभिएर मात्र विहे गर्ने बाचा गरे ।

आत्मसम्मानका लागि सहकार्य (क्याड) नेपाल जुम्ला विगत लामो समयदेखि बालविवाह, छुई प्रथा न्यूनीकरणका बारेमा सचेतना दिन थालेपछि पहिले स्वयम् बालविवाह गरेका ग्रामीण महिला अहिले बालविवाह रोक्न थालेको कनकासुन्दरी दलित संजालका अध्यक्ष तारा सार्कीले बताए । उनका अनुसार फागुन २६ देखि २९ सम्म बालविवाह रोक्न तीन दिने अभियान संचालन हुनेछ ।

यसै वर्ष कनकासुन्दरी–६ का दाँते ओखर, पछाइबाडा, लार्हजालगायत पाँचवटा बस्तीलाई बालविवाहमुक्त बनाइने तयारी रहेको अध्यक्ष सार्कीले जानकारी दिए । अशिक्षा, गरिबी, देखासिकीले दलित समुदायमा बालविवाह बढी नै रहेको देखिन्छ । त्यसैले कनकासुन्दरीका दलित महिला नै बालविवाहविरुद्ध जुटेका छन् । पहिलो चरणमा परामर्श, दोस्रो चरणमा सामूहिक बहिष्कार र तेस्रो चरणमा कानुनी उपचार खोज्ने गरी बालविवाहमुक्त गाउँ अभियान थालेको एकुमाया आचार्य हमालले बताइन् ।

विगतको तुलनामा बालविवाह न्यूनीकरण हुँदैछ । क्याड नेपालका सामाजिक परिचालक अधिकृत माया महतले भनिन्, “हामीले सचेतना पनि दिइरहेका छौं । बालविवाह रोक्न परिवर्तनका संवाहका रूपमा किशोरी पनि तयारी गरेका छौं । पहिले सानैमा विहेगरेर समस्या भोगेका महिला नै बालविवाह रोक्न अग्रसर भएपछि सुधार हुने आशा छ ।”

बालविवाह अपराध हो भन्ने ग्रामीण महिला र किशोरीले बुझिसकेका छन् । क्याड नेपालले बालविवाहमुक्त गाउँ बनाउने अभियानमा साथ दिएको छ । क्याडले पटकपटक बालविवाहका असर, कानुनी सजाय, ढिलो विहे गर्दाका फाइदाका बारेमा सचेतना दिएपछि सिंजा र कनकासुन्दरीका महिला बालविवाहमुक्त गाउँ बनाउन जुटेका छन् ।

चालू आर्थिक वर्षमै सिंजा गाउँपालिकाको वडा नं. २ र कनकासुन्दरीको वडा नंंं ६ लाई बालविवाहमुक्त घोषणा गर्ने लक्ष्यअनुसार त्यहाँका स्थानीय महिला, किशोर किशोरी, क्याड नेपाल, स्थानीय सरकार अभियानमा सक्रिय भएका छन् । २०३० सम्म नेपाललाई बालविवाहमुक्त बनाउने सरकारको लक्ष्यलाई सफल बनाउन दुरदराजमा काम भइरहेका छन् ।

जुम्लामा अहिलेसम्म बालविवाहको एकिन सरकारी तथ्यांक छैन । स्वास्थ्य कार्यालयको दुई आव पहिलोको तथ्यांकअनुसार जुम्लाका ८ सय ६० जना किशोरी २० वर्ष नपुग्दै सुत्केरी भएको पाइएको थियो । जसमा कनकासुन्दरीमा ९०, सिँजामा ६८ जना किशोरी रहेका छन् भने कर्णाली प्रदेशमा ५२ प्रतिशत बालविवाह रहेको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्