Logo

मेलम्चीको पाइपलाइन क्षति पुर्‍याउनेबाट शोधभर्ना

मेलम्चीको पानी वितरणका लागि बिच्छ्याइएका नयाँ पाइपलाइनमा तेस्रो पक्षबाट क्षति पुर्‍याएको पाइएको र क्षतिपूर्तिवापतको रकम शोधभर्ना माग गरिएको छ । नयाँ पाइपलाइन बिच्छाउने एकाधिकार लिएको ‘आयोजना कार्यान्वयन निर्देशनालय’ (पिआईडी) मेलम्चीको खानेपानी वितरणका लागि बिच्छाइएको पाइपलाइनमा क्षति पुर्‍याउने विभिन्न पक्षसँग क्षतिपूति स्वरुप सोधभर्ना माग गरिएको हो ।

मेलम्चीको खानेपानी वितरणका लागि विगतमा बिच्छ्याइएका तर मेलम्चीको पानी आइनसकेका कारण परीक्षण गर्न नपाइएका स्थानका नयाँ पाइपलाइनमा हाल परीक्षण गर्दा तेस्रो पक्षबाट क्षति पुगेको पाइएको निर्देशनालयको भनाइ छ । सडक तथा ढल निर्माण/मर्मत र विद्युतका केवल तथा टेलिफोनको तार भूमिगत गर्ने कार्य गर्दा क्षति पुगेका कारण चुहावट भएको पाइएको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयले तेस्रो पक्षबाट क्षति भएका पाइपलाइनको तत्कालै मर्मत गर्ने गरिएको र तेस्रो पक्षबाट क्षतिपूर्तिवापतको रकम सोधभर्ना लिने कार्यसमेत अगाडि बढाएको बताएको छ । आयोजना उपनिर्देशक एवम् प्रवक्ता चन्द्रकुमार श्रेष्ठले निर्माण सम्पन्न भएको लामो समय भएपनि परीक्षण हुन नपाएका पाइपलाइनमा मात्र चुहावट भएको बताए । उनका अनुसार मेलम्चीको पानी हाल ३०० किमि नयाँ पाइपलाइनबाट वितरण भइरहेको छ ।

पाइपलाइनमध्ये अन्तिम परीक्षण सम्पन्न भएका क्षेत्रका करिव ३०० किलोमिटर नयाँ पाइपलाइनबाट नियमितरूपमा मेलम्चीको खानेपानी वितरण भइरहेको श्रेष्ठले जानकारी दिए । आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले काठमाडौं उपत्यकाका चक्रपथभित्रका अधिकांश क्षेत्रमा १ हजार १० किलोमिटर पाइपलाइन बिछ्याएको छ ।

तीमध्ये करिव ५६० किलोमिटर पाइपलाइनको प्रारम्भिक परीक्षण सम्पन्न भइसकेको उनले बताए । त्यसमध्ये पनि अन्तिम परीक्षण सम्पन्न भएका करिव ३०० किलोमिटर पाइपलाइनबाट नियमित रूपमा मेलम्चीको खानेपानी वितरण हुँदै आएको हो । अन्य क्षेत्रमा भने पुरानै पाइपलाइनबाट मेलम्चीको खानेपानी वितरण भइरहेको पीआईडीले जनाएको छ ।

आयोजनाले काठमाडौं उपत्यकाका बाँकी क्षेत्रका नयाँ पाइपलाइनको पनि प्रारम्भिक र अन्तिम परीक्षण गर्ने कार्यलाई तीव्रता दिएको छ । चालू आर्थिक वर्षको अन्त्यसम्ममा सबै नयाँ पाइपलाइनको परीक्षण कार्य सम्पन्न गरी आगामी आर्थिक वर्षदेखि नयाँ पाइपलाइनबाट खानेपानी वितरण गर्ने पीआईडीको योजना छ ।

प्रतिक्रिया दिनुहोस्