भारतीय बजारको प्रभाव : झापाका पोल्ट्री व्यवसायी संकटमा

भारतबाट सस्तो मूल्यमा जिउँदो कुखुरा र मासुको आयात हुन थालेपछि झापाका पोल्ट्री व्यवसायी संकटमा परेका छन् । उनीहरुले प्रतिबन्धित भारतीय कुखुराको अवैध आयात रोक्न सरकारसँग माग गरेका छन् । आर्थिक मन्दी र भारतीय प्रतिबन्धित कुखुराको अवैध आयातले झापाका पोल्ट्री व्यवसायी पलायन हुने अवस्थामा पुगेको भन्दै सीमाबाट हुँदै आएको अवैध कुखुरा, तयारी मासु र अन्डालगायत कुखुराजन्य वस्तुको आयात रोक्न झापाका पोल्ट्री व्यवासायीले माग गरेका हुन् ।
झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेल, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मी र सशस्त्र प्रहरी सीमा सुरक्षा बल झापाका प्रमुख प्रहरी उपरीक्षक देवराज अर्याललाई ज्ञापनपत्र बुझाउँदै उनीहरूमार्फत झापाका पोल्ट्री व्यवासायीले सरकारसँग माग गरेका हुन् । भारतबाट प्रतिबन्धित कुखुराको अबैध आयातले नेपालका कुखुरा व्यवसायी पलायन हुने अवस्थामा पुगेकाले असस्थ्यकर मासुको अबैध आयातलाई तत्काल कडाइका साथ नियन्त्रण गरिदिनु पर्ने जिल्ला कुखुरा व्यवसायी संघ झापाका अध्यक्ष विवेक निरौलाले बताए ।
भारतमा जिउँदो कुखुरा र तयारी मासुको मूल्य सस्तो हुँदा नेपालमा भने आफूहरूले महँगोमा बेच्नुपर्ने बाध्यताले भारतबाट सस्तो मूल्यमा जिउँदो कुखुरा र मासुको आयात हुन थालेको उनले बताए । नेपालमा भारतलगायत तेस्रो मुलुकबाट कच्चा पदार्थको बैधानिक आयात हुने गरेको र भारतबाटै आएका कच्चा पदार्थको लागत बढी भएकाले नेपालमा कुखुराको उत्पादन महँगो भएकाले आफूहरूले मंँहगोमा बेच्नुपर्ने भ्याली फिड प्रालिका संचालक घनश्याम निरौलाले बताए ।
नेपालमा उत्पादन हुने मकैले व्यवसायीलाई तीन महिनामात्र धान्ने गरेको र भारतलगायत तेस्रो मुलुकबाट मकै, सोया, तोरीको पिनालगायत अन्य कच्चा पदार्थ र औषधि आयात हुने गरेकाले विदेशबाट आयात हुने यस्ता वस्तुमा लाग्ने भन्सार शुल्कको कारणले दाना महँंगो पर्न गएको निरौलाले बताए । यसअघि कच्चा पदार्थमा १ प्रतिशतमात्र भन्सार शुल्क लाग्ने गरे पनि हाल बढेर नौ प्रतिशत पुगेको भन्दै उनले भन्सार दर बढेकोले नेपालमा कुखुराजन्य वस्तुको मूल्य हाल आएर बढेको बताए ।
झापामा दैनिक कम्तिमा ४० हजार केजीसम्म कुखुराको खपत हुँदै आए पनि आर्थिकमन्दीका कारणले ४० प्रतिशत माग घटेको र मूल्यसमेत घटेको अर्का व्यवसायी सुवोध निरौलाले बताए । तीन वर्ष अघिसम्म जिल्लामा करिब आठ हजार किसान पोल्ट्री व्यवसायमा आबद्ध भए पनि अहिले चार हजार किसानमात्र यो व्यवसायमा अडिएको उनी बताउँछन् ।
नेपाल कुखुराको मासु र अण्डामा आत्मनिर्भर मुलुक भए पनि प्रतिबन्धित अवैध रूपमा आयात हुने अस्वस्थ्यकर मासु तथा अण्डालगायतका उपभोग्य वस्तुको प्रभावकारी नियमन र नियन्त्रण नहुँदा आफूहरूले समस्या भोग्नु परेको व्यवसायीले गुनासो गरेका छन् । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले नेपाल सरकारले प्रतिबन्ध लगाएको भारीतय कुखुरा र कुखुराको मासु तथा अण्डाको अवैध आयातलाई विशेष निगरानीमा राखिने बताए ।
उनले जुनसकै नाकाबाट अवैध रूपमा नेपाल भित्रिए पनि त्यस्तो कार्यमा संलग्नलाई कारबाही गरिने बताएका छन् । खुला सिमानाको गलत फाइदा उठाउँदै कुखुरा र कुखुराको तयारी मासु तथा अण्डा लुकाइछिपाई गरी भारतबाट नेपाल भित्र्याउने गरेको सूचना संचारमाध्यमले जनाएपछि आफ्नो पनि ध्यानाकर्षण भएको प्रजिअ पोख्रेलले बताए । प्रतिबन्धित वस्तुको अवैध तस्करी गर्ने जो कोहीलाई पनि पक्राउ गरी कारबाही गरिने उनले बताए ।
सिमानामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई कडाइका साथ निगरानी बढाउन निर्देशन हुने उनले बताए । अब, झापाका जुनसुकै नाकाबाट यस्ता प्रकारका बस्तुहरुको नेपाल भित्रिन पूर्ण निषेध गरिने उनले बताए । हामी त्यस्तो व्यक्ति र प्रतिबन्धित वस्तुको ओसारपसारमा संलग्न ढुवानीका साधन जफत गरी कानुनअनुसार कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी पोख्रेलले आग्रह गरे । पशु स्वास्थ्य पशु सेवा ऐन, २०५५ को परिच्छेद ५ को व्यवस्थाअनुसार प्रतिबन्धित पशु र पशुजन्य वस्तुको पैठारी गर्ने व्यक्तिलाई २५ हजारसम्म जरिवाना हुने व्यवस्था छ ।
यसरी पैठारी गरिएको वस्तुमा संक्रामक रोग भएको पाइएमा दोब्बर जरिवाना हुने व्यवस्था छ । ढुवानी गर्ने साधन भए त्यसलाई जफत गर्ने र प्रतिबन्धित वस्तु भए नष्ट गर्ने व्यवस्था कानुनमा उल्लेख भएको पशु क्वारेन्टाइन काँकरभिट्टाका मुकेश शिंहले बताए । भारतसँंग सिमाना जोडिएका झापाका मेचीनगर, भद्रपुर, केचनाकवल, हल्दिबारी, झापाबजार, गौरीगञ्जलगायतका पालिकाका विभिन्न नाकाबाट नेपालमा प्रतिबन्धित कुखुराजन्य वस्तुको अवैध पैठारी हुने गरेको व्यवसायी बताउँछन् ।