विगत ३ महिनायता खाडी जानको संख्या घटेर मलेसिया र कतार जानेको संख्या बढेको छ ।
सात महिनामा ४ लाख ६२ हजारलाई श्रम स्वीकृति

चालु आर्थिक वर्षको ७ महिनामा वैदेशिक रोजगारीमा जान ४ लाख ६४ हजार युवाले श्रम स्वीकृति लिएका छन् । यो संख्या गत वर्षको सोही अवधिमा ३ लाख ५१ हजार ५०५ रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
वैदेशिक रोजगार विभागले सार्वजानिक गरेको विगत ७ महिनाको तथ्यांकले यो वर्ष रोजगारीका लागि जानेको संख्या ८ लाख भन्दा बढी छ । गत वर्ष वैदेशिक रोजगारीमा जान ६ लाख ३५ हजारले श्रम स्वीकृति लिएकोमा चालू आवको ७ महिनामा नै ४ लाख ६४ हजार पुगेको छ । विभागको २ आर्थिक वर्षको ७ महिनाको तथ्यांक हेर्दा चालू आवमा मासिक रुपमा श्रम स्वीकृति लिनेको संख्या बढेको छ ।
गत वर्षको माघसम्म मासिक औसत ५२ हजार युवाले श्रम स्वीकृति लिएका थिए भने चालू आवमा यो संख्या मासिक ६६ हजार रहेको छ । गत वर्षको ७ महिनाको तुलनामा चालू आवमा मासिक १४ बढी युवाले श्रम स्वीकृति लिएको देखिन्छ ।
गत आर्थिक वर्षको पहिलो ७ महिनामा ३ लाख ५१ हजार ५०५श्रम स्वीकृति जारी भएकोमा यो वर्ष सोही अवधिका १ लाख १० बढी युवाले श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा उल्लेख छ ।
चालु आवको साउनमा ६३ हजार, भदौ ७६ हजार, असोज ५६, कात्तिक र मंसिरमा ६८ हजार, पुस ६५ र माघमा ६४ हजारले श्रम स्वीकृति लिएका थिए । विभागका महानिर्देशक उमाकान्त आचार्यले कोरोनाका कारण विगत २ वर्ष बन्द वैदेशिक रोजगारीमा माग बढेसँगै श्रम स्वीकृति लिनेको संख्या बढेको बताए । उनले मलेसियामा पछिल्लो समय माग बढेका कारण पनि वैदेशिक रोजगारीमा जानेको संख्या बढी देखिएको उनले बताए ।
गत आवको यो अवधिको तुलनामा चालु आवमा १ लाख १० हजार १७८ बढीले श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा उल्लेख छ । विभागका अनुसार पछिल्लो समय साउदी अरब जानेको संख्या घटेर मलेसिया र कतार जानेको संख्या भने बढेको जनाएको छ । विगत ३ महिनायता खाडी जानेको संख्या घटेर मलेसिया जानेको संख्या वृद्धि हुँदै गएको छ ।
गत आर्थिक वर्षबाट लयमा फर्किएको वैदेशिक रोजगारी चालु आवको सातौ महिनामा समेत उच्च देखिएको छ । वैदेशिक रोजगार विभाग ताहचल कार्यालयका अनुसार साउन महिनामा वैदेशिक रोजगारीमा जान ६३ हजार ३९ श्रमिकले श्रम स्वीकृति लिएकोमा पुसमा ६५ हजार ४६४ पुगेको र माघमा ६४ हजार पुगेको छ ।
लकडाउन यता आन्तरिक रोजगारीमा संकुचन आएपनि बिगत एक वर्षदेखि वैदेशिक रोजगारमा जानेको संख्याले रेकर्ड नै कायम गर्न थालेको छ । साउनपछि लगातार उकालो लागेको विदेश जाने क्रम हालसम्म पनि कायम छ । नेपाल र नेपाली युवाको प्रमुख आयस्रोतको रुपमा रहेको वैदेशिक रोजगार बिगतका २ वर्षमा घटेपनि अबका दिनमा भने यसले गति लिने विज्ञको भनाइ छ ।
अघिल्ला २ आर्थिक वर्षमा प्रमुख श्रम गन्तव्यमा रोजगारीमा जाने युवाको संख्या क्रमशः घटदो दर रहेको थियो । तर गत आवबाट वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दै गएको छ । गत आर्थिक वर्षमा श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि भएर ६ लाख ३६ हजार पुगेको थियो ।
गत वर्ष श्रम स्वीकृित लिनेको संख्या अघिल्ला आव वर्षको सोही अवधिको तुलनामा तेब्बर बढी छ । अघिल्लो आवमा एक लाख ६६ हजार ६९८ युवाले विदेशमा रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका थिए । यस्तै आव २०७६/०७७ मा श्रम स्वीकृति लिएर विदेश जानेको संख्या ३ लाख ६५ हजार ४३३ रहको विभागको तथ्यांकमा उल्लेख छ ।