Logo

मोतिहारी–अमलेखगन्ज पाइपलाइन

ढुवानी र नोक्सानी शून्यपछि चार अर्ब जोगाउँदै निगम

मोतिहारी–अमलेखगन्ज पाइपलाइनबाट डिजल मात्रै आयात गरी वार्षिक २ अर्ब जोगाउँदै आएको नेपाल आयल निगमले पेट्रोल र मट्टितेल पनि एक वर्षभित्रै आयात गर्ने तयारी थालेपछि वार्षिक ४ अर्ब जोगाउने भएको छ ।

२०२३ डिसेम्बरसम्म बाराको अमलेखगन्ज डिपोको भण्डारण क्षमता बढाउने गरी निर्माणमा जुटेको निगमले २४ जनवरीदेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल आयात गर्दै ढुवानी लागत र शून्य प्राविधिक नोक्सानीबापत करिब ४ अर्ब वार्षिक बचत गर्ने भएको हो । नेपाल सरकारसँग २०७२ मा सम्झौता भएअनुसार इण्डियन आयल कर्पोरेसनको सहयोगमा मोतिहारीदेखि बाराको अमलेखगन्जसम्म ७० किलोमिटर पाइपलाइन २०७६ भदौदेखि सञ्चालनमा आई भण्डारणको अभावले डिजेल मात्रै आयात हुँदै आएको थियो ।

“२०२४ जनवरीदेखि पेट्रोल र मट्टितेल पाइपलाइनबाटै ल्याउने गरी काम द्रुत गतिमा बढेको छ” प्रमुख प्रदीप यादवले भने, “अमलेखगन्जदेखि बरौनीसम्म आयातका लागि प्रयोग हुँदै आएको ट्यांकर र प्राविधिक नोक्सानी शून्यमा झर्ने र तीनै प्रकारका पदार्थ पाइपलाइन पछि निगमले करिब ४ अर्ब बचत गर्ने छ ।” भारतको बरौनीस्थित भारतीय आयल कर्पोरेसनको डिपोबाट नेपाली ट्यांकरहरुले डिजल, पेट्रोल र मट्टितेल ढुवानी गर्दै आएका छन् ।

पाइपलाइनबाट तीनै प्रकारका पेट्रोलियम पदार्थ पूर्णरुपमा आपूर्ति हुन थालेपछि ट्यांकरबाट गर्ने ढुवानी खर्च र प्राविधिक नोक्सानीको अन्त्य हुने निगमको अपेक्षा छ । शुद्धता कायम हुने, चुहावट र मिसावट अन्त्य हुने, प्रदूषण तथा वातावरणमा हुने क्षति न्यूनिकरण र र पेट्रोलको अभाव, लोडिङ बहिस्कार, हडताल, डिपो बन्द जस्ता कार्य अन्त्य हुने निगमले जनाएको छ ।

भारतको बरौनी डिपोमा दैनिक एक सय भन्दा बढी ट्यांकर पेट्रोल र मट्टितेल लिन जाने गरेका छन् । सो ढुवानीबापत ३ देखि ५ रुपैयाँसम्म प्रतिलिटरको भाडा निगमले ब्यहोर्दै आएको छ । अमलेखगञ्ज डिपोले हाल स्थानीय ठूला शहरबाहेक काठमाडौं, पोखरा, नारायणघाट, जनकपुर, बुटवल, विराटनगरलगायतका क्षेत्रमा तेल आपूर्ति गर्दै आएको छ ।

नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम अन्तरगत चार हजार एक सय किलोमिटर क्षमताका दुई पेट्रोल ट्यांक, २५० किलोमिटर क्षमताका दुई ट्रान्समिक्स ट्यांक, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित लोडिङ वे (रिफिलर), पम्प हाउस र प्रयोगशाला निर्माण भइरहेको छ ।

त्यस्तै फायर फाइटिङ सिस्टमको स्तरोन्नति, पानी र तेल छुट्याउने ओडब्ल्युएस सिस्टम तथा पिएमसीसी कक्ष निर्माण हुने आयोजनाले जनाएको छ । हाल ३० लाख ३० हजार पेट्रोल भण्डारण क्षमता रहेको डिपोमा पूर्वाधार तयार पछि एक करोड १६ लाख पेट्रोल भण्डारण क्षमता हुने छ । पेट्रोलबाहेक निगमले हाल एक करोड ९८ लाख ४० हजार डिजल र सात लाख ६० हजार लिटर मट्टितेल भण्डारण गर्दै आएको छ ।

निगमको १ अर्ब ५४ करोड भारतीय रुपैयाँ लागत हुने परियोजनामा भारतीय आयल कर्पोरेसनको ६० करोड भारतीय रुपैयाँको लगानी रहनेछ । भारतको लिखिता इन्फास्ट्रक्चर प्रालिले एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण थालेको छ । निर्माण सम्पन्न भएसँगै अमलेखगञ्ज डिपोमा डिजेलको भण्डारण क्षमता २४ हजार आठ सय ४० किलोमिटर र पेट्रोलको भण्डारण क्षमता १६ हजार छ सय ३० किलोमिटर पुग्नेछ ।

हाल सञ्चालनमा रहेको पाइपलाइनबाट प्रतिघण्टा दुई लाख ९४ हजार लिटरसम्म इन्धन आयात हुन्छ । निगमले प्रतिघण्टा एक लाख ९३ हजार लिटर डिजल मात्रै आयात गर्दै आएको छ । अन्तरदेशीय पाइपलाइनको रुपमा रहेको मोतिहारी–अमलेखगञ्ज पाइपलाइनबाट फरक किसिमका इन्धन ढुवानी गर्न दोस्रो चरणको पूर्वाधार निर्माणमा निगमले एक करोड ५४ लाख भारतीय रुपैयाँ खर्च हुने जनाएको छ ।

तेस्रो चरण अन्तरगत मोतिहारीबाट अमलेखगञ्जसम्म सञ्चालनमा रहेका पेट्रोलियम पाइप लाइनमै पाइप जोडेर निगमको लोथरसम्म विस्तार योजना रहेको छ । लोथरमा निगमकै स्वामित्वमा रहेको जमिनमा एक लाख किलोलिटर पेट्रोलियम भण्डारण गर्ने गरी काम अघि बढ्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्