Logo

पर्यटक पर्खाइमा लमजुङको पसगाउँ

भौगोलिक विकटताका बाबजुत पनि लमजुङको क्होलासोँथार गाउँपालिका–६, पसगाउँमा दैनिक आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन उत्साहजनक थियो । जिल्लाकै पश्चिम भेगमा पर्ने पसगाउँमा विगत दुई वर्षदेखि पर्यटन व्यवसाय सुस्त बनेको हो । गाउँमा पाहुना आउँदा पसगाउँको होमस्टेले पनि व्यवसायिकता पाएको थियो ।

होमस्टे सञ्चालकहरु दिनभर घरायसी काममा व्यस्त हुन्थे साँझ विहान पाहुनाको सत्कारबाट मनग्य आम्दानी गर्थे । तर लामो समय पर्यटक आगमन सुस्त भएपछि स्थानीयहरु निराश बनेका छन् । स्थानीय पर्यटन व्यवसायीहरु निकट भविष्यमा पर्यटक आगमन बढ्ने अपेक्षामा छन् । “पहिला पहिला दिनदिनै पाहुना आउथ्यो, अलिअलि कमाई पनि हुन्थ्यो, रमाईलो लाग्थ्यो” स्थानीय होमस्टे व्यवसायी बुद्धकुमारी गुरुङले भनिन्, “अहिले पाहुना नआउदा कमाई छैन, नरमाईलो लाग्छ, पाहुना आईदिए हुन्थ्यो जस्तो लाग्छ ।”

पर्यटक आगमनमा कमी भएसँगै पसगाउँका स्थानीय पर्यटन प्रवर्द्धनमा लागेका छन् । गाउँको पर्यटन प्रवर्द्धनका लागि स्थानीयले महोत्सवसहित विभिन्न गतिविधि शुरु गरेका हुन् । महोत्सवका बेला स्थानीयले सदरमुकाम बेसीशहर, पोखरालगायत देश विदेशमा समेत निम्तो गरेर पाहुना भित्र्याएका थिए । गाउँको प्रवर्द्धनका लागि महोत्सव आयोजना गरीएको र सोही महोत्सवले अब पसगाउँमा नियमित पाहुना आउने पसगाउँ सामूहिक होमस्टे समितिका अध्यक्ष बलराम गुरुङले बताए ।

“पसगाउँमा २०६० सालमा महोत्सव गरेर नै पाहुना आउन सुरु गरेको हो” गुरुङले भने, -विगतका दुई वर्ष कोरोनाका कारण पर्यटन व्यवसाय प्रभावित भयो, अहिले फेरि महोत्सव गरियो, अब पाहुना नियमित आउने अपेक्षा गरेका छाैं ।” २०६० सालबाट महोत्सव शुरु गरिएको पसगाउँमा द्वन्द्व र कोरोनाको प्रभावसँगै महोत्सव र पर्यटन व्यवसाय पनि धरापमा परेको थियो । तर पर्यटन प्रवर्द्धनकै लागि यस वर्ष पसगाउँमा १३ औँ पर्यटन महोत्सव भएको छ ।

महोत्सवकै कारण अबका दिनमा पर्यटन विकासमा फड्को मार्ने विश्वास लिएको अध्यक्ष बलराम गुरुङले बताए । समुन्द्री सतहबाट १,६५० मिटरको उचाइमा रहेको पसगाउँमा सँगैसँगै जोडिएका एकसय ५० घरधुरी छन् । गुरुङहरुको बाहुल्यता रहेको पसगाउँमा हाल २१ घरमा व्यावसायिक होमस्टे छन् । पर्यटकलाई आकर्षण गर्नका लागि स्थानीयले पर्यटकीय संरचनासमेत निर्माण गरेका छन् ।

प्राकृतिक दृष्यावलोकनसँगै स्थानीय संस्कार संस्कृति अवलोकन र अनुभवका लागि पनि स्वदेशी तथा विदेशी पर्यटकहरुको आगमन हुने स्थानीयको विश्वास छ । पसगाउँको पर्यटन प्रवर्द्धनका लागि क्होलासोथार गाउँपालिकाले पनि विशेष प्राथमिकता दिएको छ । जिल्लाका उत्कृष्ट पर्यटकीय गाउँहरु घलेगाउँ, भुजुङमा आएका पर्यटकलाई पसगाउँसम्म पुर्‍याउनका लागि गाउँपालिकाको लगानीमा भुजुङ पसगाउँ सडक सञ्जालले जोडिएको गाउँपालिका अध्यक्ष सूर्य गुरुङले बताए ।

“पसगाउँको पर्यटन प्रवर्द्धनकै लागि यस वर्ष ७० लाखको लागतमा भुजुङदेखि पसगाउँसम्म सडक सञ्जालले जोडेका छौँ” अध्यक्ष गुरुङले भने, “घलेगाउ, भुजुङसम्म आएका पर्यटक पसगाउँ जाने र पसगाउँदेखि भुजुङ हुँदै घलेगाउँमा पर्यटक पुग्न सहज भएपछि चहलपहल पनि बढ्ने आशा छ ।”

प्रतिक्रिया दिनुहोस्