Logo

पर्यटकको रोजाइ बन्दै राप्ती शान्ति उद्यान

सामुदायीक वनको जमिनलाई पार्कका रुपमा विकास गरेपछि पछिल्लो समय तुलसीपुर उपमहानगरपालिका–७ गणेशपुरस्थित राप्ती शान्ति उद्यानमा दिनहुँ जस्तो भीडभाड हुने गरेको छ । पार्कमा पिकनिक खाने, घरफिर गर्नेदेखि फोटो खिच्ने र भिडियो बनाउनेहरूका कारण दैनिक जसो चहलपहल हुने गरेको हो ।

पार्कलाई आकर्षक बनाउनका लागि गेटबाट प्रवेश गरे लगत्तै राखिएको शान्तिका अग्रदूत गौतमबुद्धको मूर्ति हेर्नदेखि सहरी क्षेत्रमा बसोवास गर्ने मानिसहरु वन जंगलसहितको सुन्दर वातावरणमा रमाउनका लागि आन्तरिक पर्यटकका रुपमा दिनहुँ मानिसहरु पार्क पुग्ने गर्छन् । जसले गर्दा सामुदायिक वनले राम्रो आम्दानी समेत गर्दै आएको छ ।

सामुदायिक वनभित्र निर्माण गरिएको पार्क पर्यटकीय क्षेत्रका रुपमा विकास भएसँगै वन समूहले आम्दानी समेत बढेको छ । ‘सामुदायिक वन क्षेत्रमा रहेको पार्क आफैंमा सुन्दर छ । पार्कलाई आकर्षक बनाउनका लागि बुद्धको मूर्तिदेखि जंगली जनावरहरु राखिएकाले पार्कमा अहिले बालक, वृद्ध जोकोही पनि रमाउने गर्छन्’, स्थानीय रविन्द्र केसीले भने, ‘त्यसैले गर्दा पछि पछिल्लो समय धेरै आन्तरिक पर्यटकहरु पिकनिक तथा घुमफिरका लागि आउने गर्नुहुन्छ ।’

पार्क व्यवस्थापन समितिका अनुसार अन्य दिनहरुको तुलनामा शनिबार वा सार्वजनिक विदाका दिन धेरै भिडभाड हुने गरेको छ । पार्कमा प्रवेश गरेलगत्तै गेटबाटै देखिने गौतमबुद्धको मूर्तिसहित सयपत्री फूलले पर्यटकलाई स्वागत गरि रहेका हुन्छन् । पार्कभित्रका पस्दा पानीको फोहरा, कृत्रिम पहाडबाट बगिरहेको झरना, चिडियाखानामा राखिएका चितुवा, बाँदर, उल्लु, खरायोका बच्चा लगायतका जनवारसँग पनि पर्यटकहरू उत्तिकै रम्ने गरेका देखिन्छन् ।

त्यहाँ रहेको चिल्ड्रेन पार्कमा पनि मानिसहरू उत्तिकै झुमिएका देखिन्छन् । चिल्ड्रेन पार्क सञ्चालनका लागि अर्को संस्थालाई भाडामा दिइएको छ । त्यहाँ पिङ, पौडीदेखि बच्चाहरूले खेल्ने हरेक सामग्रीहरू राखिएका छन् । बाहिरबाट दाङमा काम विशेषले आएकाहरू पनि गणेशपुर पार्कको अवलोकन नगरी फर्किँदैनन् । बाँकेको कोहलपुरबाट आएका जसवीर खड्काले पहिले पनि यो पार्क हेर्न आएको बताए ।

पहिलो पटक आएपनि पार्क निकै रमणीय लागेको उनको भनाइ रहेको छ । पार्कमा जिल्ला बाहिर बाँके, बर्दिया, सल्यान, रुकुम, रोल्पाबाट समेत घुम्न आउने गरेका छन् । तुलसीपुर क्षेत्रको मुख्य पर्यटकीय केन्द्रको रूपमा रहेको राप्ती शान्ति पार्क पर्यटकको मुख्य केन्द्र बन्दै गएको छ । उद्यान चराचुरुङ्गीको मधुर स्वर, प्राकृतिक तथा जैविक विविधताले भरिपूर्ण रहेको पाइन्छ । त्यहाँ विभिन्न प्रजातिका वनस्पति र फूलको बगैँचा छ ।

दक्षिणतर्फ वनभोज खान ‘सेट’ बनाइएको छ । खानेपानी, शौचालयदेखि वन भोज खान आउनेलाई आवश्यक पर्ने भाँडाकुँडा, दाउरा तथा ग्यासको सुविधा पनि सो उद्यानमा नै रहेको छ । द्वन्द्वकालमा शान्तिको सन्देश दिने उद्देश्यले स्थानीय गणेश सामुदायिक वन समूहका उपभोक्ता, यस क्षेत्रका बुद्धिजीवी, व्यापारी, नागरिक अगुवा र सरकारी निकायको पहलमा त्यहाँ राप्ती शान्ति उद्यान निर्माण गर्ने निर्णय गरिएको थियो ।

कुनै समयमा नामको मात्र रहेको पार्कमा हिजो आज भौतिक संरचना र अन्य पर्यटकलाई आकर्षण गर्ने संरचनाहरू बन्दै गएपछि स्थानीय पर्यटकको निकै भिडभाड हुने गर्दछ । विसं २०५९ माघ ८ गतेदेखि त्यहाँ उद्यान निमार्णको काम सुरु गरिएको थियो । सुरुमा नेपाल सरकार स्थानीय विकास मन्त्रालयबाट ३७ लाख ५० हजार अनुदान प्राप्त भएको र सो रकमबाट उद्यान निर्माणको काम सुरु गरिएको उद्यान व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज भण्डारीले बताए ।

उनका अनुसार करिब १५ विगाह क्षेत्रफलमा फैलिएको उक्त उद्यानको मनमोहक दृश्यले सबैलाई लोभ्याउने गरेपनि उद्यानको विकासका लागि अझै गर्न बाँकी रहेको उनको भनाइ रहेको छ । पार्कका लागि प्रदेश सरकार र तुलसीपुर उपमहानगरपालिका लगायतले बजेट दिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्