दिवा खाजाको रकम अभिभावकलाई

सिन्धुलीको गोलञ्जोर गाउँपालिका–४ स्थित वत्सला माध्यमिक विद्यालय दिङदिङ किराँतेले दिवा खाजाको पैसा अभिभावकलाई वितरण गरेको छ । बाल विकास र कक्षा १ देखि ५ सम्मका बालबालिकारुका अभिभावकलाई खाजाको पैसा प्रदान गरिएको हो ।
विद्यालयमा कक्षा पाँचसम्मका ११८ जना बालबालिकालाई दिवा खाजाबापत आएको १५ रुपैयाँका दरले ८ महिनाको रकम एकमुष्ट विरतण गरिएको प्रध्यानाध्यापक बलबहादुर भुजेलले बताए । उनका अनुसार ११८ बालबालिकाका आमाहरुलाई गत साउन महिनादेखि फागुन महिनासम्मको १ लाख ५० हजार रुपैयाँ वितरण गरिएको हो । विद्यालयमा हाजिर भएको दिनको १५ रुपैयाँ बराबरको विद्यालयमै दिवा खाजा खुवाउनु पर्ने भएपनि विद्यालयले त्यसो नगरी नगद पैसा नै प्रदान गरिएको भुजेलले बताए ।
“१५ रुपैयाँले खाजा खुवाउन झन्झट भयो । पैसा पनि थोरै, नजिक होटल तथा पसलहरु पनि छैनन् । विद्यालयले खाजा खुवाउन सम्भव नभएपछि हामीले अभिभावकलाई नै पैसा दिने निर्णय ग-यौं,” उनले भने, “विद्यालयले खाजा खुवाउनुभन्दा घरबाटै बनाएर पठाउँदा सजिलो हुने महशुस गरेर पैसा नै वितरण ग-यौं ।” तर विद्यालयले सो रकम बराबरको खाजा आफ्नै घरमा बनाएर छोराछोरीलाई विद्यालय पठाउँदा अनिवार्य रुपमा पठाउनु पर्ने अभिभावकहरुसँग सहमति गरिएको प्रअ भुजेलले बताए ।
सामुदायिक विद्यालयहरुमा विद्यार्थीको उपस्थिति बढाउन दिवा खाजाको कार्यक्रम ल्याइए पनि यस विद्यालयले भने खाजाको सट्टा पैसा नै दिएको हो । यता जिल्लाका अन्य स्थानीय तहका विद्यालयहरुले भने विद्यालयमै दिवा खाजाको व्यवस्था गरेको छ । सामुदायिक विद्यालयहरुमा बालबालिका नियमित नआउने समस्यालाई मध्यनजर गरी अघि सारिएको यो योजना जिल्लामा प्रभावकारी देखिएको छ । “विद्यालयमा दिवा खाजाको व्यवस्था गरेपछि विद्यार्थीहरु नियमित रुपमा विद्यालय आउन थालेका छन्,” सिन्धुलीमाढीस्थित जनज्योती माध्यमिक विद्यालयका प्रध्यानाध्यापक भिमविक्रम थापाले भने, “निजी विद्यालयबाट पनि विद्यार्थीहरु आएका छन् । अहिले त कक्षामा विद्यार्थी अटाइनअटाई हुन्छन् ।”
सामुदायिक विद्यालयमा सुरु गरिएको दिवा खाजा कार्यक्रमले विद्यार्थीको संख्या बढेको छ । शैक्षिक गुणस्तर सुधारका लागि भन्दै स्थानीय तहहरुले सामुदायिक विद्यालयमा लागू गरेको दिवा खाजा कार्यक्रमले विद्यार्थीहरू नियमित रुपमा विद्यालयमा आउन थालेका हुन् ।