हिउँदमा सुक्खा, कृषि उत्पादनमा ह्रास «

हिउँदमा सुक्खा, कृषि उत्पादनमा ह्रास

यो वर्षको हिउँद पानी नपरेरै जाने सम्भावना देखिएको छ । माघको अन्तिम साता सुरु हुँदासम्म पानी नपरेपछि हिउदे बालीहरु गहुँ, मकै, जौ, आलुलगायतको उत्पादनमा ठूलो ह्रास आउने भएको छ ।

मुलुकको कुल कृषियोग्य जमिनमध्ये धेरै भूभागमा सिँचाइ सुविधा पुगेको छैन । आकासे पानी नपर्ने र सिँचाइ सुविधा पनि नभएपछि यसपटक हिउँदे बालीको उत्पादनमा ठूलो ह्रास आउने देखिएको हो । हिउँदमा मुख्यगरी गहुँ, मकै, जौ, आलु, तोरी, केराउ, हरियो तरकारी, उवालगायत बाली उत्पादन हुन्छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको तथ्यांकअनुसार देशभर २६ लाख ४१ हजार हेक्टर कृषियोग्य जमिन छ । यसमध्ये करिब १५ लाख हेक्टरमा मात्र सिँचाइ पुगेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुुसार गत वर्ष ७ लाख ११ हजार हेक्टर क्षेत्रफलमा गहुँ लगाइएको थियो भने ९ लाख ७९ हजार हेक्टर क्षेत्रफलमा मकै लगाइएको थियो । यस पटक हिउँदे वर्षा नहुँदा मकै, गहुँ आलुलगायतको उत्पादनमा गत वर्षको तुलनामा ठूलो ह्रास आउने देखिएको बालीविज्ञ बताउँछन् ।

यस पटकको हिउँद सुक्खा हुँदा तराई, पहाडदेखि हिमालमा पनि उत्पादनमा ठूलो ह्रास आउने बाली विज्ञ डिल्लीराम शर्मा बताउँछन् । तराई र पहाडमा पानी नपर्दा र हिमालमा हिउँ नझर्दा हिउँदे बालीको उत्पादनमा करिब १५ देखि २० प्रतिशत ह्रास आउने देखिएको उनको भनाइ छ ।

बालीविद् शर्माले तराईमा शीतलहरले गहुँलाई केही राहत मिले पनि गहुँमा जरे किरा लाग्दा धेरै बाली सखाप भएको बताए । तराईको गहुँमा किराले गर्दा उत्पादन घट्ने उनको भनाइ छ । शर्मा भन्छन्, “पहाडमा पानी नपर्दा गहुँ र मकै सुकिसकेका छन् । पानीको सिँचाइ भएको अधिकांश ठाउँमा आकासको भरमा किसानले खेती बाली लगाएका छन् । वर्षा नहुुँदा गहुँ बालीको उत्पादन राम्रो छैन । जुनसुकै बाली राम्रो हुनका लागि आकाशबाट केही वर्षा हुनुपर्छ । त्यही पनि हाम्रो कृषियोग्य जमिनमा पर्याप्त सिँचाइ सुविधा नै छैन । हिमाली क्षेत्रमा उत्पादन हुन हिउँ पर्नुपर्छ । यस पटक हिमालमा हिउँ नै परेको छैन ।”

अबको साताभित्रमा पानी नपरे समग्र हिउँ बालीको उत्पादनमा २० प्रतिशत ह्रास आउने देखिएको बताउँछन् शर्मा । यो साताभित्र हिमालमा हिउँ र पहाडी र तराई क्षेत्रमा पानी परे पनि विगतको तुलनामा करिब १५ प्रतिशत उत्पादन ह्रास आउने उनले बताए । उत्पादनको ह्रासले आगामी दिनमा खाद्य सुरक्षामा समेत समस्या देखिने उनको भनाइ छ ।

अर्का बालीविज्ञ डिनराम भण्डारी भन्छन्, “हिउँदे बालीमा मात्र नभएर अन्य कृषि बालीमा हुने उत्पादनमा समेत ह्रास आउने देखिएको छ । हिउँदमा पानी नपर्दा मुख्य बाली गहुँ र मकैको उत्पादनमा ह्रास आउनुका साथै आउने चैते धान र हरियो तरकारी बालीमा पनि असर पर्छ ।”

कृषि मन्त्रालयको तथ्यांकअनुसार देशभर १४ लाख हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ । उक्त क्षेत्रफलबाट करिब ५६ लाख १० हजार टन धान उत्पादन हुन्छ । यसमा २० प्रतिशत चैते धान पर्छ । हिउँदमा पानी नपर्दा माटो ओसिलो नभएर सुक्खा हुने हुँदा अब लगाइने कृषि बालीको उत्पादनमा समेत असर पर्ने उनको भनाइ छ । हिउँमा पानी नपर्दा तोरी बालीलाई भने ठूलो असर नपर्ने उनले बताए ।

पानी नपर्दा हिउँदे बाली उत्पादनमा कति ह्रास आउँछ भनेर अहिले नै यकिनका साथ भन्न नसकिने कृषि मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मी बताउँछन् । पानी नपर्दा विगतको तुलनामा केही उत्पादनमा ह्रास भने आउन सक्ने उनले बताए । अहिले मन्त्रालयले विभिन्न प्रदेशसँग समन्वय गरी अध्ययन गरिरहेको उनले जानकारी दिए । यस पटकको हिउँदमा पानी नपर्दा हुने असरबो आगामी चैतमा मात्र थाहा हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्