सम्झौता सकियो, प्रगति २५ प्रतिशत «

सम्झौता सकियो, प्रगति २५ प्रतिशत

निर्माण व्यवसायीको चरम लापरबाहीले जिल्लाका दुई स्थानमा निर्माणाधीन अवस्थामा रहेका पुल अलपत्र परेका छन् । घोराही उपमहानगरपालिका–१७ अन्तर्गत गैरागाउँ–घनीबगिया सडक खण्डको कुटवा खोला पुल र तुलसीपुर उपमहानगरपालिका–१७ को बगौसी र घोराही उपमहानगरपालिका–९ को मकुनडाडा जोड्ने पुल अलपत्र परेका हुन् ।

डेढ वर्षको अवधिमा पुल निर्माण सक्ने गरी १४ असार २०७८ मा कटुवा खोला पुल करिब चार करोड १७ लाख २४ हजार रुपैयाँ र सोही मितिमा हापुर खोला पुल आठ करोड ३६ लाख ८३ हजार रुपैयाँमा निर्माण सक्ने गरी निर्माण व्यवसायीसँग सम्झौता भएको थियो । सम्झौता सकिए पनि पुलको अहिले पाइलिङ फाउण्डेसनको करिब २५ प्रतिशतमात्रै काम भएको पूर्वाधार विकास कार्यालय दाङका प्रमुख इन्जिनियर मनिष अर्यालले बताए ।

“सम्झौता मितिअनुसार अहिले दुवै पुलको निर्माणको काम सकिनुपथ्र्यो तर २५ प्रतिशतमात्रै भौतिक प्रगतिको काम भएको छ,” कार्यालय प्रमुख अर्यालले भने, “दुवै स्थानमा अहिले काम हुन सकेको छैन ।” उनका अनुसार निर्माण व्यवसायीसँग भएको सम्झौताअनुसार गत १३ पुसमा पुल निर्माणको काम सकिनुपथ्र्यो । तर अहिलेसम्म पुलको फाउण्डेसनको काममात्रै भएको छ ।

पुल निर्माणका लागि सन्तोषकजनक काम नभएको र समय थप गर्दा पनि पुल निर्माण हुने अवस्था नदेखिएकाले निर्माण व्यवसायीलाई जरिवानाका लागि सम्झौता सकिएको मितिले दुई सय दिनको गणना सुरु भएको अध्यक्ष अर्यालले बताए ।

“सम्झौताअनुसार निर्धारित समयमा पुल निर्माणको काम सकिनुपथ्र्याे । तर निर्माणको काम अहिले २५ प्रतिशतमात्रै देखिन्छ । समय थप गर्दा पनि पुल निर्माण हुने अवस्था देखिँदैन,” कार्यालयका प्रमुख अर्यालले भने, “सम्झौताअनुसार मिति सकिसकेको छ । अब कारबाहीका लागि कानुनी प्रक्रिया अघि बढाउनुपर्ने अवस्था देखिएको छ ।”

कटुवा खोला र हापुर खोला पुल निर्माणको काम महादेव खिम्ती/अन्जना/जलजला जेभी काठमाडाैंले संयुक्त रूपमा गर्ने गरी जलजला निर्माण सेवाले सम्झौता गरेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । “पुल निर्माणको काम तीनवटा निर्माण कम्पनीले संयुक्त रूपमा गर्ने गरी सम्झौता गरेका छन्,” कार्यालय प्रमुख अर्यालले भने, “पुल निर्माणको प्रगति भने सन्तोषजनक छैन ।” पुल निर्माणको काम अघि नबढ्दा सेवाग्राहीसँगै कार्यालयसमेत कार्यसम्पादनमा पछि परेको कार्यालयले जनाएको छ ।

पुल निर्माणको काम सुरु भए पनि अहिले निर्माण कम्पनी नै पुल निर्माण गर्ने ठाउँमा नहुँदा पुल बन्ने वा नबन्नेमा आंशका उत्पन्न भएको घोराही उपमहानगरपालिका–१७ का वडाध्यक्ष रामलौटन चौधरीले बताए । वडाध्यक्ष चौधरीले विगत असार महिन देखि पुल निर्माणस्थलमै ठेकेदार नभएको बताउँछन् ।

“समयमै पुल निर्माण भएको भए विद्यार्थीहरूलाई घोराही पढ्न जानसँगै स्थानीयलाई बजार जान–आउन सजिलो हुन्थ्यो,” वडाध्यक्ष चौधरीले भने, “तर समयमा पुल निर्माणको काम नहुँदा पुल निर्माणका लागि खनेका खाडलका कारण हिँडडुल गर्नसमेत समस्या हुने भएको छ ।” वडाध्यक्ष चौधरीका अनुसार गतअसार महिनादेखि नै पुल स्थलमा निर्माण कम्पनीका मानिसहरू देखिएका छैनन् ।

जनशक्तिको अभाव

यसैबीच पूर्वाधार विकास कार्यालय दाङ लुम्बिनी प्रदेशअन्तर्गत जिल्लामा भौतिक पूर्वाधार विकासको काम गर्ने कार्यालय हो । कार्यालयले जिल्लामा सडक, पुल, नालादेखि नयाँ सडकका लागि ट्रयाक खन्नेलगायतका महत्वपूर्ण काम गर्ने गर्दछ । तर पूर्वाधार विकासका लागि महत्वपूर्ण काम गर्ने पूर्वाधार विकास कार्यालय नै जनशक्तिविहीन अवस्थामा रहेको कार्यालय प्रमुख अर्यालले बताए ।

उनका अनुसार कार्यालयका तीनजना इन्जिनियरको दरबन्दी भए पनि विगत एक वर्षदेखि इन्जिनियर नहुँदा सबइन्जिनियरको भरमा काम गर्नुपर्ने अवस्था रहेको बताए । “प्रदेशअन्तर्गत जिल्लामा भौतिक पूर्वाधार विकासको काम गर्ने कार्यालय इन्जिनियरविहीन छ । कार्यालय प्रमुखबाहेक अरु इन्जिनियर छैनन्,” कार्यालय प्रमुख अर्यालले भने, “जसले गर्दा सबइन्जिनियरको भरमा विकास निर्माणको काम गर्नुपर्ने बाध्यता छ ।”

योजना धेरै, बजेट कम

पूर्वाधार विकास कार्यालय दाङका अनुसार जिल्लामा भौतिक पूर्वाधारअन्तर्गत साना तथा ठूला गरी करिब २ सय ६० योजना रहेका छन् । जसअन्तर्गत सडक, पुल, नाला, कल्भर्ट, सडक मर्मत सुधार, कालोपत्रे गर्नेदेखि नयाँ सडकको ट्रयाक खन्नेसम्मका कामहरू छन् । तर बजेट भने न्यून हुँदा काम गर्नै समस्या हुने गरेको कार्यालयले जनाएको छ ।

“कुल योजनामध्ये ७० प्रतिशत योजनामा २५ प्रतिशत बजेट रहेको छ,” कार्यालय प्रमुख अर्यालले भने, “योजना धेरै बजेट कम हुँदा योजनाहरू कार्यान्वयन गर्ने समस्या हुने गरेको छ ।” क्रमागत योजनाहरू भए पनि बजेट न्यून हुँदा कार्यान्वयनमा समस्या हुने गरेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्