हेटौंडामा राष्ट्रिय औद्योगिक व्यापार महोत्सव सुरु, २५ करोड कारोबारको अनुमान «

हेटौंडामा राष्ट्रिय औद्योगिक व्यापार महोत्सव सुरु, २५ करोड कारोबारको अनुमान

जिल्लामा उद्योग व्यापार क्षेत्रको विकासका साथै स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले हेटौंडामा राष्ट्रिय औद्योगिक व्यापार महोत्सव सुरु भएको छ । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौंडाको टिसिएन चौरमा सुरु भएको महोत्सव माघ २३ गतेसम्म सञ्चालन हुनेछ । बुधबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले महोत्सवको उद्घाटन गरेका हुन् ।

कृषि, घरेलु हस्तकला, महिला उद्यमीका उत्पादन, होटल, आइटी, शैक्षिक संघसंस्था, उद्योगका उत्पादनहरु लगायत गरी महोत्सवमा ३ सय ३७ वटा स्टलहरु रहेका छन् । १३ दिनसम्म चल्ने महोत्सवमा करिब २५ करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ताले जानकारी दिए ।

मकवानपुरको अग्र्यानिक मह, मनहरीको गिट्ठा भ्याकुर, चुच्चेखोलाको खुवा जस्ता स्थानीय उत्पादनलाई विशेष प्रवर्द्धन र बिक्रीका साथै ठूला उद्योगका उत्पादनहरु पनि महोत्सवमा रहने संघका अध्यक्ष गुप्ताले बताए । महोत्सवमा मेलामा होटलका ३०, अटोजोनका १० लगायत कपडा, जुत्ता, खानेकुरालगायतका स्टलहरु रहेका छन् । मेलामा प्रदेशका तीन वटा मन्त्रालय र हेटौंडा उपमहानगरपालिकाले पनि सहकार्य गरेको छ ।

महोत्सवमा दैनिक स्थानीय तथा राष्ट्रिय कलाकारहरुको विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरु रहने संघका उपाध्यक्ष एवम् प्रवक्ता उज्ज्वल चौलागाईले बताए । गायन तथा नृत्य प्रतिभा प्रोत्साहन तथा प्रवर्द्धनका लागि हेटौंडा आइडल, हेटौंडा डान्सिङ स्टार र दुलही श्रृंगार प्रतियोगिता समेत राखिएको छ । बालबालिकाहरुको मनोरञ्जनका लागि बाल उद्यानकोसमेत व्यवस्था गरिएको जनाइएको छ ।

मेला अवधिभर करिब ४ लाख अवलोकनकर्ताको सहभागिता हुने अनुमान गरिएको छ । समग्र बागमती प्रदेशको आर्थिक सांस्कृतिक, धार्मिक एव ऐतिहासिक रुपमा प्रचारप्रसारको लागि महोत्सव कोसेढुंगा साबित हुने मकवानपुर उद्योग वाणिज्य संघको दावी छ । संघका अध्यक्ष गुप्ताको अध्यक्षतामा भएको महोत्सव उद्घाटन कार्यक्रममा राजनीतिक, सामाजिक, सरकारी तथा निजी क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले आफ्ना भनाइ राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्