हेटौंडामा १०औं औद्योगिक व्यापार महोत्सव आजबाट «

हेटौंडामा १०औं औद्योगिक व्यापार महोत्सव आजबाट

जिल्लामा उद्योग व्यापार क्षेत्रको विकास गरी समग्रमा देशकै आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले ११ माघदेखि २३ सम्म बृहत् औद्योगिक व्यापार महोत्सव आयोजना हुँदैछ । मकवानपुर उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव हेटौंडा–१० टीसीएन चौरमा हुनेछ । यो १०औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सव हो ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले महोत्सव उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । महोत्सवमा बागमती प्रदेशका विभिन्न मन्त्रालय र स्थानीय तहको सहयोग तथा सहकार्य रहेको छ । उद्योगका उत्पादनलाई सहज ढंगले उपभोक्तासमक्ष पुर्‍याउन विभिन्न समयमा र स्थानमा हुने मेला प्रदर्शनीको ठूलो भूमिका हुने मकवानपुर उद्योग वाणिज्य संघको भनाइ छ ।

महोत्सवमा देशभरबाट विभिन्न क्षेत्रः कृषि, व्यापार, उद्योग, सूचना प्रविधि, पर्यटन, अटो, होटल, शैक्षिक, सरकारी, गैरसरकारी संघसंस्था, महिला उद्यमीका उत्पादन तथा सेवाका करिब चार सय स्टल राखिएका छन् । महोत्सव अवधिभर छलफल र अन्तरक्रिया तथा पुरस्कारमूलक कार्यक्रमको पनि आयोजना गरिनेछ । महोत्सवको विशेष आकर्षणको रूपमा दैनिक विभिन्न जनजातिको स्थानीय भेषभूषामा साँस्कृतिक कार्यक्रमका साथै स्थानीय तथा राष्ट्रिय कलाकारको विभिन्न मनोरञ्जनात्मक प्रस्तुति रहनेछन् ।

बालबालिकाहरूको मनोरञ्जनका लागि बाल उद्यानको समेत व्यवस्था गरिएको जनाइएको छ । मेलामा करिब चार लाख अवलोकनकर्ताको सहभागिता हुने अनुमान गरिएको छ । चार लाख अवलोकनकर्ताले यो महोत्सव अवलोकन गर्ने अनुमान छ । समग्र बागमती प्रदेशको आर्थिक सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक रूपमा प्रचारप्रसारका लागि महोत्सव कोसेढुंगा सावित हुने मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले बताए ।

औद्योगिक तथा व्यावसायिक विकास र मकवानपुर

देशकै मध्य भागमा रहेको हेटौंडा हाल बागमती प्रदेशको राजधानी हो । यसअघि मध्यमाञ्चल क्षेत्रीय सदरमुकाम पनि हेटौंडामै थियो । हेटौैंडा पुरानो प्रशासनिक अड्डा मात्रै होइन हेटौंडाको ६० वर्षभन्दा बढीको औद्योगिक संस्कार रहेको छ । क्षेत्रफलको हिसाबमा मुलुककै ठूलो औद्योगिक क्षेत्रको रूपमा हेटौंडामा हेटौंडा औद्योगिक क्षेत्र अवस्थित छ । २० मंसिर २०२० सालबाट हेटौंडा औद्योगिक क्षेत्रले सेवा सुरु गरेपछि मकवानपुरमा औद्योगीकरणको विकास र विस्तार हुँदै गएको हो ।

चालू, निर्माणाधीन तथा बन्द भइसकेका गरी १ सय ४९ वटा उद्योग रहेको हेटौंडा औद्योगिक क्षेत्र तीन हजार २ सय २८ रोपनी क्षेत्रफलमा फैलिएको छ । हाल औद्योगिक क्षेत्रमा करिब सय वटाभन्दा बढी उद्योग चालू हालतमा छन् भने केही निर्माणाधीन छन् । हेटौंडा कपडा उद्योग, वनस्पति घ्यू उद्योगसहित करिब दर्जनवटा उद्योग हाल बन्द अवस्थामा रहेको छ । औद्योगिक क्षेत्रले करिब पाँच हजार जनालाई रोजगारी दिइरहेको छ ।

दैनिक ११ लाख लिटर फोहोर पानी प्रशोधन गर्ने संयन्त्रसमेत औद्योगिक क्षेत्रमा रहेको छ । औद्योगिक क्षेत्रले दुई हजार १ सय ७८ रोपनी जमिन भाडामा लगाएको छ । मकवानपुरमा औद्योगिक विकासको निरन्तरतास्वरुप हेटौंडा–१४ स्थित मयुरधापमा करिब दुई सय रोपनी जग्गामा नयाँ औद्योगिक क्षेत्र निर्माणको कामसमेत भइरहेको छ । औद्योगिक साथै व्यावसायिक प्रवर्द्धन, विकासमा हेटौंडा अग्रणी रहेको छ ।

उद्योगी व्यवसायीहरूको साझा संस्थाको रूपमा २०१८ सालदेखि स्थापना भई काम गरिरहेको छ । उद्योगी व्यवसायीको हितमा काम गर्ने उद्देश्यले वि.सं २०१८ सालदेखि क्रियाशील हुँदै वि.सं २०२३ सालमा हेटौंडा व्यापार संघ स्थापना गरिएको थियो । २०२५ सालमा नाम परिवर्तित भई मकवानपुर उद्योग वाणिज्य संघ राखिएकोमा उक्त संघ अहिलेसम्म क्रियाशील छ ।

जिल्लामा रोजगारी, कृषि, सूचना प्रविधि, पर्यटन, व्यापार तथा जिल्लाको आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले स्थापित मकवानपुर उद्योग वाणिज्य संघ गैरनाफामूलक, गैरसरकारी, गैरराजनैतिक सेवामुखी संस्था हो । संघले जिल्लामा रहेका सदस्य तथा गैरसदस्य व्यवसायीको हकहित, अधिकार तथा सुरक्षाका लागि आवश्यक कार्य सम्पादन गर्दै आएको छ ।

जिल्लामा व्यापार व्यवसाय विस्तार तथा प्रवर्द्धन गर्न नियमितरूपमा सूचनामूलक कार्यक्रम, तालिम, गोष्ठी, छलफल, अन्तरक्रिया, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भ्रमणजस्ता कार्यक्रम सञ्चालन गर्नुका साथसाथै जिल्लामा भएका औद्योगिक हड्ताल, मजदुर मालिक विवादजस्ता समस्याको निराकरण तथा सामाजिक हितका लागि पनि उल्लेखनीय काम कर्तव्य सम्पादन गर्दै आएको छ ।

व्यवसायको विस्तार, सम्भावित ग्राहकसँग छलफल तथा नयाँ वस्तु एवं सेवाहरूको प्रवर्द्धन गर्ने तथा समग्रमा उद्योग एवं व्यापारमार्फत् यस क्षेत्रकै आर्थिक, सामाजिक तथा पर्यटकीय विकासमा मद्दत पुर्‍याउने उद्देश्यका साथ यस संघद्वारा विभिन्न समयमा मेला, प्रदर्शनी तथा व्यापार प्रवर्द्धनका कृयाकलाप सञ्चालनको सिलसिलामा वि.सं २०४२ मा तत्कालीन अध्यक्ष नारायणप्रसाद शर्माको नेतृत्वमा सम्भवतः नेपालकै पहिलो औद्योगिक व्यापार मेला २०४२ सम्पन्न गरिएको थियो ।

सोपश्चात मेलालाई निरन्तरता प्रदान गर्ने क्रममा वि.सं २०४३, २०५३, २०५५, २०५६ सालमा आयोजना गरिएको थियो भने वि.सं २०६६ मा मध्यमाञ्चल औद्योगिक व्यापार मेला तथा २०६८, २०७०, २०७२ र २०७५ सालमा राष्ट्रिय औद्योगिक व्यापार मेला सम्पन्न भएका थिए ।

प्रतिक्रिया दिनुहोस्