सरकारी बैंकलाई मर्जरमा जान सुझाव «

सरकारी बैंकलाई मर्जरमा जान सुझाव

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारी बैंकहरूलाई मर्जरमा जान सुझाव दिएका छन् । निजी वाणिज्य बैंकहरू धमाधम मर्जरमा गएपछि सरकारी स्वामित्वमा रहेका वाणिज्य बैंकहरूलाई पनि यसबारे दवाव सिर्जना भएको छ । अब सरकारी बैंकहरूले पनि मर्जरमा जानका लागि सोच्नुपर्ने सरोकारवाला निकायहरूले बताउन थालेका छन् ।

राष्ट्रिय वाणिज्य बैंकको ५८औं वार्षिकोत्सवको अवसरमा भएको कार्यक्रममा गभर्नर अधिकारीले सरकारी बैंकहरूको मर्जरको आवश्यकता औंल्याए । अधिकारीले सरकारी बैंकहरूले पनि मर्जरका लागि सोच्नुपर्ने समय आएको बताए । सरकारी बैंकको आकार निजीको भन्दा सानो भएको भन्दै गभर्नर अधिकारीले यस्तो अवस्थामा सरकारी बैंकहरू पनि मर्जरका लागि तयार हुनुपर्ने बताए । यसका लागि सरकारसँग छलफल गरेर सरकारी बैंक सञ्चालक समितिले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

“अब सरकारी वाणिज्य बैंक सानो भयो, निजी बैंकका तुलनामा । सरकारसँग छलफल गरेर सरकारी बैंक एक हुन आवश्यक होला । व्यवस्थापन समितिले छलफल गर्ला,” गभर्नर अधिकारीले भने, “तर, राष्ट्र बैंकले बाध्यात्मक बनाउँदैन ।” उनले केन्द्रीय बैंकले कुनै बाध्यात्मक व्यवस्था नगर्दा पनि निजी क्षेत्रका बैंकहरूले अहिलेको आवश्यकता बुझेर मर्जरमा गएको बताउँदै सरकारी बैंकलाई पनि मर्जरमा जान सुझाएका हुन् ।

उनले सरकारी बैंक मिलेर व्यावसायिक आवश्यकताका काम गर्न सरकारसँग वार्ता गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले निजी वाणिज्य बैंकहरूको मर्जरले उनीहरूको आकार र क्षमता ठूलो हुन गइरहेको उल्लेख गरे । यस्तो परिस्थितिमा राष्ट्रिय वाणिज्य बैंकले पनि उपयुक्त रणनीति बनाएर अघि बढ्ने उनको भनाइ छ । उनले यसका लागि आवश्यक रणनीति बनाउने र त्यसका लागि अर्थ मन्त्रालयको ध्यानाकर्षण गराउने बताए ।

कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले ब्याजदरलाई बैंकहरूले वाञ्छित सीमाभित्र राख्नुपर्ने बताए । उनले अहिले बैंकिङ प्रणालीमा तरलता अभाव रहेको समेत उल्लेख गरे । अर्थतन्त्र चलायमान बनाउन आर्थिक वृद्धि आवश्यक रहेको भन्दै अर्थमन्त्री पौडेले अर्थतन्त्रमा देखिएको समस्या समाधानमा सबैको पहल आवश्यक रहेको औंल्याए । उनले राष्ट्रिय वाणिज्य बैंकलाई नाफामा मात्रै ध्यान नदिन समेत आग्रह गरे । “सरकारको लगानी रहेको बैंकले नाफामा मात्रै ध्यान दिनुहुँदैन,” अर्थमन्त्री पौडेलले भने,“नाफा भन्दा पनि गुणस्तरीय सेवा दिनु । सेवा प्रवाह अन्य बैंकको तुलनामा प्रभावकारी बनाउनु ।”

प्रतिक्रिया दिनुहोस्