‘बाहिर हल्ला चलेजस्तो बैंकको नाफा बढेको छैन’

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूको छाता संगठन नेपाल बैंकर्स संघले बजारमा चर्चा गरेजस्तो बैंकहरूको नाफा नरहेको बताएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै संघका अध्यक्ष सुनिल केसीले बजारमा चर्चा गरिएजस्तो बैंकहरूले नाफा नकमाएको बताएका हुन् ।
पत्रकारसँगको छलफलमा अध्यक्ष केसीले अहिलेको बजारस्थिति बैंकको लगानी, निक्षेपमा प्रदान गरेको ब्याजदर र अन्य खर्चलाई हेर्दा कर्जाको ब्याजदर १२/१३ प्रतिशत रहनु स्वभाविक भएको बताए । “निक्षेपको ब्याजदर घट्दा पनि बैंकहरूले कर्जाको ब्याजदर बढाए भनेर बजारमा हल्ला गरिएको छ । अहिलेको स्थितिमा १२/१३ प्रतिशतको ब्याजदर त्यति महँगो होइन,” अध्यक्ष केसीले भने, “आधारदर (बेसरेट) बढ्दा पनि कर्जाको ब्याजदर १३ प्रतिशतमाथि जाँदैन ।”
अहिलेकै अवस्थामा पनि बैंकहरूले निक्षेपमा ११ प्रतिशत माथिको ब्याजदर प्रदान गरिरहेको भन्दै अध्यक्ष केसीले कर्जामा १३ प्रतिशत स्वभाविक नै हुने बताए । “कोभिड अगाडिको समय भन्दा अहिले केही बिन्दुले ब्याजदर बढी हो,” अध्यक्ष केसीले भने, “निक्षेपको ब्याजदर बढेको हिसाबले कर्जामा ब्याजदर बढेको छैन ।” उनले ब्याजदर घट्ने क्रममा रहेको समेत जानकारी दिए । बैंकहरूको दोस्रो त्रैमासको वित्तीय रिपोर्ट सार्वजनिक भएकोमा ३० अर्ब रुपैयाँ हारहारीको नाफासमेत अस्वभाविक जसरी प्रचार गरिएको अध्यक्ष केसीले गुनासो गरे ।
पछिल्लो समय बैंकहरूको लगानी जोखिममा पर्दा नाफाको अधिक प्रतिशत प्रोभिजन (जोखिम व्यवस्था) गर्दा नाफा घट्न पुगेका अध्यक्ष केसीको भनाइ छ । हाल बैंकहरूको खराब कर्जाको दर २.२९ प्रतिशत पुगेको छ । केही समय अघिसम्म जम्मा १.५ प्रतिशत हाराहारी रहेको खराब कर्जा (एनपीएल) अस्वभाविक रुपमा बढ्नुले बैंकहरूमाथि जोखिम बढेको संघले बताएको छ । यद्यपि, अहिले पनि दक्षिण एसियाका अधिकांश मुलुकहरू भन्दा नेपालको खराब कर्जाको स्थिति न्यून नै रहेकाले नेपाली बैंकहरू सन्तुलनमा नै रहेको अध्यक्ष केसीको भनाइ छ । साथै चालू आर्थिक वर्षमा निक्षेप ५ खर्बले बढ्ने देखिएको उनले बताए ।