अन्तर्राष्ट्रिय बजारमा जडिबुटीको बढ्दो माग
एकै वर्ष पौने दुई अर्बको निर्यात

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा स्वदेशी जडिबुटीको माग बढ्न थालेको छ । युरोप, चीन, भारतलगायतका मुलुकमा औषधिजन्य नेपाली जडिबुटीको माग बढेको हो । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा १ अर्ब ८३ करोड रुपैयाँ बराबरको स्वदेशी जडिबुटी निर्यात भएको छ । यो अवधिमा सुगन्धित तेलमात्रै १३ करोडको निकासी भएको छ ।
यस्तै, यार्सागुम्बा ३० करोड र औषधिजन्य बिरुवा करिब १ अर्ब ३९ करोड बराबरको विदेश निर्यात भएको तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्मको ४ महिनामा करिब ५१ करोडको जडीबुटी निर्यात भएको छ । यो व्यापारमा संलग्न व्यवसायीहरु कच्चा पदार्थका रुपमा जडिबुटी बिक्री गर्दा राज्यले कम मूल्य पाएको भन्दै जडिबुटी प्रशोधन गरी निर्यात गर्न सुझाव दिन्छन् । नेपालको हिमाली क्षेत्रमा बहुमूल्य किसिमका जडिबुटी उत्पादन हुँदै आएको छ ।
जडिबुटी उत्पादन बढाउन सके राज्यले प्रशस्त रुपमा आर्थिक लाभ लिन सक्ने भनाइ जडिबुटी विज्ञहरुको छ । व्यवसायीहरुले भने सरकारले नै जडिबुटी प्रवर्द्धनमा चासो नदेखाएकाले मागअनुसार विदेश निर्यात गर्न नसकिएको दाबी गर्छन् । नेपाल जडिबुटी उत्पादक संघका अध्यक्ष प्रेम तिवारीले पछिल्लो समय नेपाली जडिबुटीको माग अन्तर्राष्ट्रिय बजारमा बढ्न थालेको जानकारी दिए ।
“अन्तर्राष्ट्रिय बजारमा स्वदेशी जडिबुटीको माग बढेको छ, तर अझै प्रमाणीकरण अभावमा युरोप, अमेरिका लगायतका मुलुकमा बजार बिस्तार गर्न समस्या छ,” उनले कारोबारसँग भने, “निर्यात गर्न सकिने अन्य मुलुकमा भने मागअनुसार पठाउन सकिएको छैन । स्वदेशमा जडिबुटी उत्पादन पर्याप्त रुपमा हुन सकेको छैन ।”
तिवारीले जडिबुटी खेती प्रवर्द्धन गर्दै यसको प्रसोधन गरेर निर्यात गर्न सके मुलुकको आर्थिक समृद्धिको एउटा माध्यम बन्न सक्ने बताए । मुलुकको व्यापार घाटा कम गर्न सहयोग पुग्ने भन्दै यसको खेती बढाउन सरकारले जोड दिनुपर्ने उनको भनाइ छ । “अहिलेसम्म जंगलबाट संकलन भएकोलाई मात्र जडिबुटी भन्ने बुझाइ छ । यो यथार्थ होइन । जंगलबाहेक खेतबारीमा नै यसको उत्पादन गरी निर्यात गर्न सकिन्छ,” उनले भने, “खेती गर्न सरकारले लगानी गर्न जरुरी छ ।”
उनका अनुसार यसको खेतीमा न बैंकले ऋण दिन्छ नत बिमा को व्यवस्था नै छ । अध्यक्ष तिवारीले जटामसीको बजार मूल्य बढ्दै गइरहेको जानकारी दिए । कर्णालीका हिमाली भेगमा जटामसी उत्पादन बढी हुन्छ । लेबल ग्रास, घाँसे वनस्पतिको तेल प्रतिलिटर ५ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको तथ्यांकले देखाउँछ ।
संघका अनुसार रिट्टा, टिमुर, तेजपात जस्ता जडिबुटी कच्चा पदार्थका रुपमा भारतमा बढी जाने गरेको छ । पछिल्लो समय टिमुरको माग तेस्रो मुलुकहरुमा पनि बढिरहेको छ । “निजी लगानी आकर्षण गर्न सबैभन्दा पहिले जडिबुटीको अर्गानिक सर्टिफिकेट पाउने व्यवस्था सरकारले गर्नुपर्छ । यसो हुन सके मात्र महँगों मूल्यमा तेस्रो मुलुकहरुमा पनि पठाउन सकिन्छ,” संघका अध्यक्ष तिवारीले भने, “जडिबुटीको व्यापार क्षेत्र पहिचान गरेर खाली रहेको भू–भागमा यसको खेती विस्तार गर्न सके राज्यले मनग्यै फाइदा उठाउन सक्छ ।”
विदेशी मुलुकहरुले नेपालका विभिन्न किसिमका जडिबुटीलाई औषधि बनाउन प्रयोग गर्दै आएका छन् । नेपाली जडिबुटी विदेशमा कच्चा पदार्थका रुपमा निर्यात भइरहेको छ । नेपाल जडिबुटी उत्पादन संघका अनुसार कोरोना भाइरसपछि अझै जडिबुटीको महत्व बढेको छ । यही कारण माग पनि बढेको हो । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक डा. रामआधार यादव कोभिडपछि आयुर्वेदिक औषधि ९९ प्रतिशतले प्रयोग गरको दाबी गर्छन् ।
वनस्पति विभागका महानिर्देशक डा. राधा वाग्लेले जडिबुटी खेतीलाई प्रोत्साहन गर्ने हो भने सरकारले २–३ वटा विषयमा ध्यान दिन जरुरी रहेको बताइन् । उनले सबैभन्दा पहिले जनतामा जडिबुटीको महत्व र यसको खेतिबाट हुने आम्दानीका बारेमा जानकारी दिन सक्नुपर्ने बताइन् । अर्को कुरा सरकारले जडिबुटिलाई प्रशोधन गर्ने व्यवस्था गर्नुपर्छ । प्रशोधित जडिबुटीको बजारीकरणमा पनि सरकार नै लाग्नुपर्ने उनको धारणा छ ।
“प्रशोधित जडिबुटी निर्यात गरेर नाफा लिन सके यसको खेति गर्न सबै इच्छुक हुनेछन्,” वाग्लेले भनिन् । उनले विभागले यही उद्देश्य लिएर काम गरिरहेको जानकारी दिइन् । “वनस्पतिहरुको पहिचान, अध्ययन, अनुसन्धान र अभिलेखिकरण मार्फत पनि जडिबुटी उत्पादन बढाउने प्रयास गरेका छौं । बाँझो जग्गाहरुमा जडिबुटी खेती विस्तार गर्दै आम्दानी लिन सकिन्छ,” उनले भनिन्, “जडिबुटी खेती विस्तारका लागि कहाँ कहाँ सम्भव छ ? कस्तो माटोमा सम्भव छ ? जडिबुटी संकलनको उचित समय कुन हो ? कसरी उत्पादन बढाउन सकिन्छ, बजारको माग के छ भन्ने बिषयमा अध्ययन पनि गरिरहेका छौं ।”
वाग्लेका अनुसार जडिबुटी उत्पादन बढाउन विभाग, वन विभाग, प्रदेश तथा स्थानीय तह सामुदायिक वन उपभोक्ता समूहहरुसँग सहकार्य हुनुपर्छ । “जलवायु परिवर्तन अनुकूलनका लागि जडिबुटी खेती प्रवर्द्धन उपयुक्त हुने, रोजगारी बढ्ने, मुलुकको आर्थिक अवस्थामा टेवा पुर्याउने भएकाले पनि जडिबुटी उत्पादन र निर्यात बढाउन आवश्यक छ,” वाग्लेले थपिन्, “जडिबुटी सम्बन्धि नीति कार्यान्वयनको पक्ष भने कमजोर छ, दक्ष जनशक्ति अभाव छ ।”
सरकारले मुलुकको व्यापार घाटा कम गर्ने लक्ष्यका साथ जडिबुटी खेती प्रवर्द्धन र जडिबुटीको निर्यातमा जोड दिएको छ । आर्थिक वर्ष २०७९/०८० को बजेट मार्फत सरकारको स्वीकृतिमा औषधिजन्य जडिबुटीको खेती, प्रशोधन एवं निर्यातलाई प्रथामिकता दिएको हो । बजेट मार्फत तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले जडीबुटी खेती र निर्यातको व्यवस्था मिलाइएको जनाएका थिए । जडिबुटीको विशेषता र उपलब्धताका आधारमा प्रदेश स्तरमा जडिबुटी प्रशोधन उद्योग स्थापना गरिने बजेट वक्तव्यमा उल्लेख छ ।
