चाँगुनारायण दर्शनपछि बिजुक्छे निवास पुगिन् राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक चाँगुनारायण मन्दिरमा पूजाअर्चना गर्दै प्रसाद ग्रहण गरेकी छन् । शनिबार चाँगुनारायण नगरपालिकास्थित ऐतिहासिक चाँगुनारायण मन्दिरमा पुगेर उनले चाँगुनारायणको मूल मन्दिर, किलेश्वर महादेव मन्दिर र छिन्नमस्ता मन्दिरमा पूजा गरी प्रसाद ग्रहण गरिन् ।
राष्ट्रपति भण्डारीले चाँगुनारायण मन्दिरको ऐतिहासिकता, पुरातात्विक महत्वबारेमा जिज्ञासा राखेकी थिइन् । उनले भूकम्पले भत्किएको मन्दिरको जिर्णोद्वारको अवस्थाबारे समेत जानकारी लिइन् । चाँगुनारायण मन्दिरका बारेमा विगतको ऐतिहासिक पक्ष, यहाँका मन्दिर, पूजा विधि, चुनौती र जीर्णोद्वारको अवस्थामा बारेमा पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले जानकारी गराएका थिए ।
दरबार हेरचाह तथा स्मारक संरक्षण कार्यालय भक्तपुरकी प्रमुख अरुणा नकर्मीले पनि भूकम्पपछिको पुनःनिर्माणको अवस्थाका बारेमा राष्ट्रपतिलाई जानकारी गराइन् । मन्दिरका मूलपुजारी चक्रधरानन्द राजोपाध्यायले उनलाई टीका, फूल प्रसाद प्रदान गरेका थिए । चाँगुनारायण दर्शनपछि राष्ट्रपति भण्डारी नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको निवासमा पुगेकी थिइन् । कमलविनायकस्थित बिजुक्छे निवासमा भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको बताइएको छ ।