Logo

लमजुङका उम्मेदवारको खर्च एक करोड बढी

मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा लमजुङका उम्मेदवारहरूको एक करोडभन्दा बढी रकम खर्च भएको छ । जिल्ला निर्वाचन कार्यालयमा बुझाइएको खर्च विवरणअनुसार जिल्लाका २१ जना उम्मेदवारको कुल चुनाव खर्च एक करोड १८ लाख ९७ हजार ४ सय ७३ रुपैयाँ रहेको छ ।

प्रतिनिधिसभाका लागि एकमात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा प्रतिनिधिसभातर्फ १० जना र प्रदेशसभातर्फ ११ जना उम्मेद्वारले खर्च विवरण बुझाएका हुन् । कुल २२ जना उम्मेदवारमध्ये प्रतिनिधिसभातर्फ जनता समाजवादी पार्टीका उम्मेदवार नरेन्द्र गुरुङको मृत्यु भइसकेकोले खर्च विवरण प्राप्त नभएको जिल्ला निर्वाचन कार्यालय लमजुङका प्रमुख नारायण सापकोटाले बताए ।

कार्यालय प्रमुख सापकोटाका अनुसार प्रतिनिधिसभा तर्फका १० जना उम्मेदारले ५७ लाख ४४ हजार ५ सय ४३ रुपैयाँ खर्च गरेका छन् भने प्रदेश सभा निर्वाचन क्षेत्र १ तर्फ ३७ लाख ३४ हजार २ सय ३० रुपैयाँ र प्रदेश सभा निर्वाचन क्षेत्र २ तर्फ २४ लाख १८ हजार सातसय रुपैयाँ खर्च भएको छ ।

कार्यालयमा बुझाइएको विवरणअनुसार गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार बनेका नेकपा माओबादी केन्द्रका देवप्रसाद गुरुङले २४ लाख ५२ हजार २ सय २५ रुपैयाँ खर्च विवरण बुझाएका छन् । सोही निर्वाचन क्षेत्रमा उम्मेदार बनेर निर्वाचित नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले भने २१ लाख ९७ हजार रुपैयाँ खर्च भएको विवरण पेस गरेका छन् ।

जिल्लामा प्रतिनिधिसभा तर्फ ३३ लाख, प्रदेश सभा १ तर्फ २३ लाख र २ तर्फ १९ लाख रुपैयाँ खर्च सीमा निर्धारण भएको थियो । उम्मेदवारहरूले आयोगले तोकेको सीमाभित्रै खर्च भएको विवरण बुझाए पनि अनौपचारिक रूपमा हदभन्दा धेरै रकम खर्च गर्ने गरेको गुनासो आउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्