Logo

ढाका बुनाइबाट मनग्य आम्दानी

जुम्लाको तिला गाउँपालिकाका महिला ढाका बुनाई सीप सिकेर आत्मनिर्भर बन्न थालेका छन् । ढाकाबाट बन्ने विभिन्न कपडा बुन्ने सीप सिकेसँगै तिलाका ग्रामीण महिला आत्मनिर्भर हुन थालेका हुन् । तिला गाउँपालिका वडा नंं १ की संगिता बुढाले एक महिने ढाका बुनाई सीप सिकिसकेकी छिन् ।

सीपलाई व्यवसायिकतामा बदल्ने र आर्थिक रुपमा सक्षम बन्ने बुढाको सोच छ । सीप सिकेर पालिकाले थोरै लगानी गरे ढाका व्यवसायमै आत्मनिर्भर बन्ने उनको भनाइ छ । तिलाकै कुन्ती रावत ढाका बुनाई तालिमले आफूलाई आत्मनिर्भर बन्न प्रेरित गरेको बताइन् । घरको मेलापातमा सीमित महिलालाई उद्यमशीलतामा जोड्न तालिम कोशेढुंगा सावित भएको छ ।

उनले भनिन्, “बजारमा ढाकाको कपडाको माग बढ्दो छ । उद्यमी पर्याप्त छैनन् । थोरै आफ्नो र थोरै स्थानीय सरकारले लगानी गरिदिए व्यावसायिक रुपमा ढाका उद्योग खोल्ने तयारी छ ।” सीपलाई व्यावसायिकतामा बदलेर आर्थिक रुपमा आत्मनिर्भर बन्ने तिलाका संगिता र कुन्ती जस्तै तालिम लिएका १६ जना महिलाले सपना बुनेकी छन् ।

उद्योग तथा उपभोक्ता हित सरंक्षण कार्यालय र तिला गाउँपालिकाको आयोजनामा गत मंसिर २५ देखि पुस २५ गतेसम्म एक महिने ढाका बुनाई तालिम सञ्चालन भएको थियो । जुन तालिमबाट तिलाका १६ जना महिला प्रत्यक्ष लाभान्वित हुनु भएका छन् । तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले महिला लक्षित ढाका बुनाई व्यवसायमा स्थानीय सरकारले लगानी गर्ने बताए ।

उनले तालिमलाई व्यवहारमा कार्यान्वयन गर्न उद्यमशीलतामै जोड दिनुपर्ने उल्लेख गरे । ढाका कपडाको उत्पादन तथा बजारीकरणमा समेत पालिकाले सहजीकरण गर्ने उनको भनाइ छ । सीप सिकेर आफैँ उद्योग सञ्चालन गर्ने र ढाका बुनाइबाट आत्मनिर्भर बन्ने सोचमा रहेका महिलालाई उद्यमशीलतामा अग्रसर गर्न पालिकाले लगानी गर्नुपर्ने उद्योग तथा उपभोक्ता हित सरंक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले बताए ।

कार्यालयले पनि ढाका बुनाईलाई व्यावसायिकता दिने महिलालाई सहयोग गर्ने उल्लेख गरे । तालिममा तिलाका ३ वटाका १६ जना महिला सहभागी भएका थिए । सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले महिलालाई घरधन्दामा मात्र सीमित नगरी उद्यमशीलतामा जोड्न सीपमूलक कार्यक्रमले टेवा पुर्‍याउने विश्वास व्यक्त गरिन् । बजारमा बढ्दो ढाकाको कपडाको मागलाई पूर्ति गर्नसके महिलाले मनग्य आम्दानी गर्न सक्ने समेत उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्