Logo

१० महिनाको वस्तु आयात धान्न पुग्ने

डलरमा तीन प्रतिशत बढ्यो विदेशी विनिमय सञ्चिति

चालू आर्थिक वर्षको पाँच महिनामा विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा तीन प्रतिशतले सुधार आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंसिर मसान्तमा विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा ९ अर्ब ८२ करोड कायम भएको छ । गत असार मसान्तमा ९ अर्ब ५४ करोड रहेको डलर सञ्चिति यो मंसिरमा तीन प्रतिशतले वृद्धि भएको हो ।

मंसिर मसान्तको सञ्चिति १० महिनाको वस्तु आयात धान्न पर्याप्त हुने देखिएको छ । ‘यो सञ्चिति १० महिनाको वस्तु आयात र ८.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ,’ केन्द्रीय बैंकले भनेको छ । नेपाली रुपैयाँमा हेर्दा भने विदेशी विनिमय सञ्चितिमा ६.३ प्रतिशतको सुधार छ । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँमा बढी सञ्चिति देखिएको हो ।

मंसिर मसान्तमा नेपाली रुपैयाँमा विदेशी विनिमय सञ्चिति १२ खर्ब ९२ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तको तुलनामा यो ६.३ प्रतिशतले बढी हो । गत असार मसान्तमा सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोडबराबर रहेको थियो । राष्ट्र बैंकका अनुसार कुल सञ्चितिमध्ये केन्द्रीय बैंकमा रहेको सञ्चिति मंसिर मसान्तमा ७.८ प्रतिशतले बढेको छ । राष्ट्र बैंकमा मंसिर मसान्तमा ११ खर्ब ३९ अर्ब २२ करोड रुपैयाँ सञ्चिति रहेको छ । गत असार मसान्तमा यस्तो सञ्चिति १० खर्ब ५६ अर्ब ३९ करोड रहेको थियो ।

यस्तै, बैंक तथा वित्तीय संस्थासँग मंसिर मसान्तमा १ खर्ब ५३ अर्ब ३४ करोड रुपैयाँ सञ्चिति रहेको छ । असार मसान्तको तुलनामा यो सञ्चिति ३.८ प्रतिशतले कम हो । असार मसान्तमा बैंक तथा वित्तीय संस्थामा यस्तो सञ्चिति १ खर्ब ५९ अर्ब ४१ करोड रहेको थियो । मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

२०७९ असार मसान्तको तुलनामा मंसिर मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ३.१४ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ १.६९ प्रतिशतले अवमूल्यन भएको थियो । २०७९ मंसिर मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १३१.६४ रुपैयाँ पुगेको छ । गत असार मसान्तमा उक्त विनिमय दर १२७.५१ रुपैयाँ रहेको थियो ।

शोधनान्तर स्थिति पौने ४६ अर्ब बचतमा

चालू आर्थिक वर्षको पाँच महिनामा शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ९५ अर्ब १ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६४ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३४ करोड ६८ लाखले बचतमा रहेको छ ।

२३ प्रतिशतले बढ्यो रेमिटेन्स

चालू आर्थिक वर्षको मंसिर मसान्तमा रेमिटेन्स (विप्रेषण) आप्रवाह २३ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार मंसिर मसान्तमा रेमिटेन्स ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिटेन्स १३.१ प्रतिशतले वृद्धि भई ३ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्ष रेमिटेन्स ६.८ प्रतिशतले घटेको थियो ।

नियन्त्रणमा उपभोक्ता मुद्रास्फीति !

चालू आर्थिक वर्षको मंसिर महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.३८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.११ प्रतिशत रहेको थियो । चालू आर्थिक वर्षको कात्तिक मसान्तमा ८.८ प्रतिशत पुगेको उपभोक्ता मुद्रास्फीति मंसिर महिनामा केही नियन्त्रणमा आएको हो । राष्ट्र बैंकका अनुसार मंसिर महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.८५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.५९ प्रतिशत रहेको छ ।

थप महँगो भयो कर्जाको ब्याजदर

चालू आर्थिक वर्षको मंसिर महिनामा कर्जाको ब्याजदर थप महँगो बनेको छ । निक्षेपको ब्याजदरसँगै आधार दर (बेस रेट) बढ्दै जाँदा कर्जाको ब्याजदर थप महँगो बनेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । मंसिरमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १२.७४ प्रतिशत रहेको छ । गत कात्तिकमा यस्तो ब्याजदर १२.६५ प्रतिशत रहेको थियो ।

मंसिर महिनामा निक्षेपको भारित औसत ब्याजदर ८.४६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको मंसिर महिनामा कर्जाको भारित औसत ब्याजदर ९.२९ प्रतिशत रहेको थियो भने निक्षेपको भारित औसत ब्याजदर ६.२४ प्रतिशत रहेको थियो । २०७८ मंसिरमा ८.२५ प्रतिशत रहेको वाणिज्य बैंकहरुको औसत आधारदर बढ्दै २०७९ मंसिरमा १०.६९ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ ।

कर्जा विस्तार न्यून

चालू आर्थिक वर्षको मंसिर महिनामा बैंक तथा वित्तीय संस्थाहरूले ७३ अर्ब ३० करोड कर्जा विस्तार गरेका छन् । चालू आर्थिक वर्षको मौद्रिक नीतिले निजी क्षेत्रमा जाने कर्जा विस्तार १२ प्रतिशतले वृद्धि गर्ने लक्ष्य राखेको थियो । तर, पाँच महिनासम्म आइपुग्दा कर्जा जम्मा १.६ प्रतिशतले मात्रै वृद्धि भएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १०.४ प्रतिशतले बढ्दै ४ खर्ब २३ अर्ब १३ करोड रुपैयाँले विस्तार भएको थियो । वार्षिक बिन्दुगत आधारमा पनि २०७९ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.१ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्