अन्तर्राष्ट्रिय व्यापार मेला चैत पहिलो साता

आउँदो चैत पहिलो साता अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ । मेलामा भाग लिन चाहनेका लागि बिहीबारबाट स्टल बुकिङ खुला गरिएको जानकारी आयोजकले दिएको छ । यो नवौं संस्करणको अन्तर्राष्ट्रिय व्यापार मेला हो । यस वर्षको मेलाका लागि चीन, भारत, पाकिस्तान, बंगलादेश र भुटानबाट सहभागिता रहने छ । मेलामा नेपाली हस्तकला र एनटीआइएस प्रडक्टका साथै मेड इन नेपाल वस्तुहरुको प्रदर्शनी गरिने छ ।
यस वर्ष पहिलो पटक महासंघका १२३ वटा सदस्य वस्तुगत संघहरुका उत्पादन तथा सेवाको विशेष प्रदर्शनी समेत हुनेछ । नेपाल सरकार/उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रवर्द्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा क्यालेन्डर इभेन्टको रूपमा उक्त मेला आयोजना हुन लागेको हो । कुल ३०० भन्दा बढी स्टल मार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिने छ ।
मेलामा नेपालसहित सार्क मुलुकहरु, चीन, थाइल्यान्ड, म्यानमार, लगायतका देशहरुको सहभागिता रहने छ । मेलाका अवसरमा अन्तर्राष्ट्रिय खरिदकर्तासँग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्यसमेत रहेको छ । मेलामा हस्तकला, पर्यटन, सूचना तथा प्रविधि एवं व्यावसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण सम्बन्धी, शिक्षा आदिका छुट्टाछुट्टै स्टलहरु राखिने छन् ।
मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरुसँग भेटघाट तथा द्विपक्षिय व्यापार प्रवर्द्धन तथा लगानीबारे छलफल समेत हुने र यस वर्षको मेलामा स्वदेशी र विदेशी गरी करिब ५० हजार अवलोकनकर्ताहरुले अवलोकन गर्ने लक्ष्य राखिएको छ । विभिन्न जिल्लाहरुमा आयोजना भएका मेलाहरुबाट छानिएका उत्कृष्ट स्टल तथा उत्पादनलाई मेलामा निःशुल्क स्टल उपलब्ध गराइने छ ।
आगामी एक दशकभित्र मुलुकको अर्थतन्त्र एक सय अर्ब अमेरिकी डलर पुर्याउने, अतिरिक्त २२ लाख मानिसलाई औपचारिक निजी क्षेत्रमा रोजगारी सिर्जना गर्ने, व्यापार घाटा र अर्थतन्त्रको अनुपात आधा घटाउने लगायतका उद्देश्यले महासंघले ल्याएको भिजन पेपर २०३० को सफल कार्यान्वयनमा समेत अन्तर्राष्ट्रिय व्यापार मेलाले सघाउ पुर्याउने विश्वास महासंघको छ ।
मेलामा जेष्ठ नागरिक तथा फरक रुपले सक्षम नागरिकहरुलाई निःशुल्क तथा विद्यार्थीहरुलाई उनीहरुको प्रवेशपत्रका आधारमा ५० प्रतिशत प्रवेश छुटको व्यवस्था समेत गरिएको छ । ०५६ सालदेखि अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्दै आएको छ । प्रारम्भमा नेपाल बिजनेस एक्स्पो नाम दिइएको उक्त मेलापछि नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाका नाउँमा महासंघले निरन्तर रुपमा आयोजना गर्न थाल्यो ।
महासंघको नेतृत्वमा महासंघका सदस्य उद्योग वाणिज्य संघ संस्थाहरूको समन्वयमा स्थानीय र प्रादेशिक तहमा समेत वर्षेनी करिव ५ दर्जन जति मेला महोत्सव आयोजना हुँदै आएका छन् । यसबाट सरकारको राजस्वमा समेत सहयोग पुग्न गएको छ । महासंघकै पहलमा अहिले केन्द्रमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलादेखि स्थानीय तहसम्मै क्षेत्रगत मेला महोत्सव समेत आयोजना हुन थालेका छन् ।