समृद्धिको सम्भावना बोकेको कर्णाली «

समृद्धिको सम्भावना बोकेको कर्णाली

कर्णाली भन्नेबित्तिकै नेपालको पुरानो सभ्यता भन्ने बुझिन्छ । यो सभ्यता कर्णाली नदीसँग जोडिएको छ भने कर्णालीको सभ्यता मानव सभ्यता र संस्कृतिसँग जोडिएको छ । यो प्रदेशको समृद्धिमा जल, जमिन, जडीबुटी, जलस्रोत, जनशक्ति, पर्यटन, वेशभूषा, भाषा, संस्कृति जोडिएको छ ।

यहाँ रहेका मुगु हुँदै बग्ने मुगु कर्णाली, हुम्ला हुँदै बग्ने हुम्ला कर्णाली, डोल्पा र जाजरकोट हुँदै बग्ने भेरी तथा जुम्ला हुँदै बग्ने तीला नदीको पानीको उपयोग गरेर प्रशस्तै जलविद्युत् उत्पादन र प्रदेशमा खानेपानी तथा सिँचाइको व्यवस्था गरी जलस्रोतलार्ई सही सदुपयोग गर्न सकेमा समृद्धिको आधार बन्न सक्छ ।

त्यसैगरी यो प्रदेशमा रहेको पर्यटनको अपार सम्भावनालाई मात्रै सदुपयोग गर्न सकियो भने पनि प्रदेशको समृद्धि खोज्न अन्त जानु पर्दैन । कर्णाली प्रदेशमा रारा र शे फोक्सन्डोजस्ता राष्ट्रिय निकुञ्ज तथा अन्य वनजंगल पनि प्रशस्तै मात्रामा पाइन्छन् । यहाँ रहेको वनलाई वैज्ञानिक ढंगले उपयोग गर्ने हो भने धेरै जनशक्तिलाई वनमा नै रोजगारी दिन सकिन्छ ।

दिगो विकासको अवधारणाअनुसार वनमा रहेका पुराना सबै काठलाई झिकेर त्यहाँ नयाँ बिरुवा रोप्नुपर्छ । यसो गर्न सकियो भने देशमा काठको अभाव पूरा गर्न सकिनुका साथै यसकोे आयातलाई प्रतिस्थापन गर्न पनि सकिन्छ । कर्णालीका वनपाखाहरूमा यार्सागुम्बा, पाँचऔंले, जटामसी, पदमचाल, पाखनवेद, फरन लसुन, तीतो कटुको, सेतो चिनीजस्ता बहुमूल्य र लोप हुन लागेका जडीबुटीहरू पाइन्छन् ।

यी बहुमूल्य जडीबुटीहरूको वैज्ञानिक ढंगले संकलन र प्रशोधन गरी बिक्री–वितरण गरी आय आर्जनको दिगो स्रोत बनाउन सके यो प्रदेशले ठूलो आर्थिक लाभ लिनुका साथै रोजगारीमा वृद्धिसमेत गर्न सकिने अवस्था छ । हिमाली अग्ला ढुङ्गे चट्टान र भिरालो पहाडी भूबनोटका कारण यहाँका बस्तीहरू छरिएर रहेका छन् । यसलाई एकीकृत रूपमा बस्ती विकास गर्न भने चुनौती रहेको छ ।

यो प्रदेशमा स्वर्गको टुक्रा भनेर चिनिने रारा ताल पर्छ भने शे फोक्सुन्डो ताल, पचाल झरना र मानसरोवर पनि यही प्रदेशमा रहेका छन् । चन्दननाथ, त्रिपुरासुन्दरी, पाण्डव गुफा, योगी नरहरिनाथको जन्मस्थल कालीकोट, गोठी काँडा, दैलेखको ज्वाला, श्रीस्थान, छायानाथ, नाभीस्थान, काँक्रे विहार, बुलबुले ताल, देउती बज्यैजस्ता धार्मिक र पर्यटकीय स्थलहरू पनि यही प्रदेशमा पर्ने हुनाले धार्मिक र अन्य पर्यटकहरूलाई पनि यो प्रदेशले आकर्षित गरिरहेको छ ।

प्राकृतिक सौन्दर्यसँगै साहसिक पर्यटनको पनि उत्तिकै सम्भावना बोकेको यो प्रदेशमा स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गर्ने यहाँको मौलिक खानेकुरा, पुराना र लोपोन्मुख जातजाति तथा विभिन्न प्रकारका बस्तीहरू, नेपाली भाषाको उद्गम स्थान, आफ्नै प्रकारको नेपाली वेशभूषा, जनजीवन, घरहरूको बनोट, पिरामिडजस्ता देखिने पहाडहरू, दुर्लभ वन्यजन्तु र चराचुरुङ्गी तथा बोटबिरुवा र जडीबुटी पनि रहेको हुनाले विश्वका पर्यटकहरूलाई आकर्षित गरी पर्यटन विकास गर्ने अपार क्षमता देखिन्छ ।

पर्याप्त सम्भावना हुँदाहुँदै पनि रोजगारीका अवसरहरू सिर्जना गर्न नसक्दा बेरोजगारी दिन–प्रतिदिन बढ्दो अवस्थामा रहेको छ । उद्योगधन्दाको सुरुवात हुन नसक्दा र प्रदेशको आन्तरिक उत्पादन नहुँदा पनि यो अवस्था झन् भयावह बन्दै गएको छ ।

राराताललाई मात्र व्यवस्थित गर्ने हो भने पनि कर्णालीका अधिकांश युवालाई रोजगारी खोज्न अन्यत्र जानु नै पर्दैन, तर यसका लागि मुक्तिनाथ, राराताल र खप्तडलाई एकीकृत पर्यटन विकासको अवधारणा अगाडि ल्याउनुपर्छ । यसो गर्न सकियो भने कर्णाली प्रदेश नेपालको पहिलो पर्यटकीय गन्तव्य बन्न सक्छ । विकासको सम्भावना बोकेको कर्णाली भर्जिन ल्यान्ड भए पनि यहाँको जमिनमध्ये खेतीयोग्य जमिन १८ प्रतिशतमात्र छ, जसको २३ प्रतिशतमा मात्र सिँचाइ सुविधा पुगेको छ ।

देशको कुल गार्हस्थ्य उत्पादनमध्ये कृषि उत्पादनको हिस्सा २४ प्रतिशत रहेकोमा कर्णाली प्रदेशले ४ प्रतिशतभन्दा कम योगदान दिएको छ, जुन सबैभन्दा कम हो । यो प्रदेशमा स्याउ र ओखर उत्पादन हुने जुम्लाजस्ता ठाउँहरू पनि छन् । यो क्षेत्रको विकासका लागि यी ठाउँहरूमा प्राङ्गारिक मल र हरियो मलको प्रयोग गरी देशको अन्य भागमा उत्पादन नहुने कृषि उत्पादन बढाएर देशभरि निर्यात गर्न सकिन्छ ।

तर, यत्रो अपार सम्भावना हुँदाहँुदै पनि अहिलेसम्म प्रदेशको राजधानी सुर्खेतभन्दा माथि राकमसम्म मात्र जेनतेन बाटो बनेको छ, त्योभन्दा माथि जुम्ला र मुगुको रारासम्म जाने बाटो सहज छैन । यो प्रदेशको विकास गर्ने हो भने बाटोलाई कमसेकम दुई लेनको बनाउनुपर्छ । अहिले तपाईं यो क्षेत्रको यात्रामा जानुभयो भने राकमदेखि कालीकोटको नाग्मा बजारसम्म कालोपत्रे त गरेको छ, तर यो भत्किएर कहींकहीं मात्र कालोपत्रे देख्न पाइन्छ ।

नाग्माभन्दा माथि रारातालसम्म जाने ९३ किमि बाटो कालोपत्रे हुन बाँकी नै छ भने केही समयअघिको वर्षामा पहिरो झरेर यात्रा एकदमै कठिन हुन पुगेको छ । सडक सञ्जालको र जनजीवनको हिसाबले हुम्ला र डोल्पाको अवस्था झन् योभन्दा भयावह छ । हुम्लाका जनताले प्रदेश राजधानी सुर्खेत आउनुपर्‍यो भने नजिकै जोडिएको जिल्ला मुगु, जुम्ला, कालीकोट र दैलेख हुँदै आउन सक्ने अवस्था छैन ।

यसका लागि सुदूरपश्चिम प्रदेशको बाजुरा, अछाम, डोटी, बैतडी, कैलालीको अत्तरिया हुँदै कोहलपुरबाट उत्तर लागी तीन दिन लगाएर आउनुपर्छ । यसो हुँदा त्यहाँका जनतालाई समय र खर्चका हिसाबले प्रदेश राजधानीको काम अत्यन्तै कष्टकर र महँगो हुने गरेको छ । यी क्षेत्रका जनताले संघीयताको खासै अनुभूति गर्न पाएको जस्तो लाग्दैन । जुम्लामा जुम्ला विमानस्थल र मुगुमा ताल्चा विमानस्थल त छन्, तर यी खासै सञ्चालनमा रहेका छैनन् ।

राजधानी सुर्खेतस्थित विमानस्थल पनि भर्खरै सञ्चालनमा आए पनि दिनमा एक/दुई उडानमात्र हुने र जहाजको एकाधिकार भएको हुनाले भाडादर महँगो पर्ने गरेको अवस्था छ । सडक सञ्जाल गतिलो नहुँदा र हवाई मैदानको भर पर्न सकिने अवस्था नहुँदा यहाँ ढुवानी महँगो भई जनता सधैं महँगीको मारमा पर्नुपरेको अवस्था छ भने यहाँ उत्पादन हुने स्याउ, ओखर, मार्सी चामल, चिनो, कागुनो, जुनालो, सिमी, जिम्मु, मह, सिस्नुको धूलो आदिले बजार पनि पाएको अवस्था छैन ।

तसर्थ एकातिर जमिनको बनोटले भनेजति उत्पादन हुन नसक्ने, अर्कातिर भएको उत्पादन पनि बजारसम्म पुर्‍याउन नसकिने तथा सुर्खेतलगायतका बजारहरूबाट खाद्यान्नलगायतका सामग्री गन्तव्यमा पुर्‍याउँदा महँगो पर्ने र आम्दानीको ठूलो हिस्सा उपभोग्य वस्तुमै खर्चिनुपर्ने कारणले कर्णालीका जनता तेहेरो मारमा परेका छन् भने महँगीका कारणले सम्भावना भए पनि पर्यटकहरू यो क्षेत्रको यात्रा गर्न इच्छा हुँदाहुँदै पनि कम जाने गरेको तथ्यांकले देखाउँछ ।

सन् २०२२ को मात्र तथ्यांकलाई हेर्ने हो भने मुस्ताङको भ्रमण जाने विदेशी पर्यटकहरूको संख्या ६५ हजार ९ सय ४० रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय, जोमसोमले जनाएको छ, तर पर्यटनको सुन्दर गन्तव्य भनेर चिनिने रारातालमा जानेको तथ्यांक हेर्ने हो भने यसको तुलनामा एकदमै कम छ । गत वैशाखदेखि यता मैले देशको विभिन्न ठाउँको गरिबी, भूगोल, अर्थतन्त्र र शिक्षालाई नजिकबाट हेर्ने र बुझ्ने मौका पाएँ ।

यसमा गरिबी र विकासका बारेमा मेरो निष्कर्ष के हो भने गरिबी भन्नाले कर्णालीका दुर्गम ठाउँहरू दैलेख, कालीकोट, मुगु, हुम्ला, जुम्ला, डोल्पा तथा सुदूरपश्चिमका बझाङ, बाजुरा, डँडेलधुरा, डोटी, दार्चुलालगायतका सकेसम्म सडक सञ्जालले नछोएका सबै ठाउँ र सडकले छोएका पनि केही ठाउँका मानिसहरूको जीवन भोगाइमा तपाईंले जे पाउनु वा देख्नुहुन्छ त्यो नै गरिबी हो भने ती ठाउँहरूमा एक छाक अघाउन्जेल खान पाउनु, एकसरो कपडा लगाउन पाउनु र बिरामी हुँदा सिटामोल खान पाउनु नै विकास हो ।

देशका विकसित भनिएका अन्य सहरहरूमा चिल्लो बाटो, चिल्ला गाडीहरू, ठूला–ठूला वातानुकूलित सेमिनार हल, छिटो चल्ने इन्टरनेट, ठूला–ठूला हवाई मैदान नै विकास हो । यति सानो देशमा पनि ठाउँअनुसार विकास र गरिबीको परिभाषा नै फरक गर्नुपर्ने देखें मैले । यहाँका जनताले बिरामी हुँदा सदरमुकाम वा राजधानी धाउनुपर्छ तर बाटोको अवस्था यस्तो हुँदा बिरामीले अति सास्ती भोग्नुपरेको अवस्था छ । यो क्षेत्रमा अस्पताल नै नभएको भने होइन तर डाक्टर र औषधिको अभावमा जनता राजधानी धाउन बाध्य छन् भने सुत्केरी हुन नसक्दा वा अन्य बिरामीको बर्सेनि अकालमा ज्यान जाने गरेको छ ।

यहाँ त्रिभुवन विश्वविद्यालयको सुर्खेत बहुमुखी क्याम्पस र मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय पनि यहीं रहेर उच्च शिक्षाको क्षेत्रमा योगदान दिइरहेका त छन् तर सदरमुकामबाहेकका ठाउँहरूमा गुणस्तरीय शिक्षाको अभाव देखिन्छ । यदि यस्ता समस्याहरूबाट यो प्रदेशलाई छुट्कारा दिने हो भने यो प्रदेशको छुट्टै गुरुयोजना बनाई यसलाई कार्यान्वयनमा लैजानुको विकल्प छैन । यो प्रदेशको ४० प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको सरकारी तथ्यांकले नै देखाएको छ ।

कर्णाली प्रदेशमा शिक्षा, स्वास्थ्य, खानेपानी, आवास, सरसफाइ, विद्युत्जस्ता आधारभूत र नभइनहुने सुविधाहरूबाट वञ्चित रहेको अवस्था छ । पर्याप्त सम्भावना हुँदाहुँदै पनि रोजगारीका अवसरहरू सिर्जना गर्न नसक्दा बेरोजगारी दिन–प्रतिदिन बढ्दो अवस्थामा रहेको छ । उद्योगधन्दाको सुरुवात हुन नसक्दा र प्रदेशको आन्तरिक उत्पादन नहुँदा पनि यो अवस्था झन् भयावह बन्दै गएको छ ।

अन्त्यमा, यो प्रदेशको विकास र समृद्धिका लागि दूरदर्शी नेतृत्व, ऊर्जाशील जनशक्ति, कुशल प्रशासक, सशक्त, इमानदार र अर्गानिक नागरिक समाजको आवश्यकता देखिन्छ । यो प्रदेशको स्थलगत भ्रमण गर्दा यहाँका अधिकांश जनता निराशामा बाँचेका देखिन्छन् तर अब चुप लागेर बस्नेवाला भने छैनन् । नेतृत्वले जतिसक्दो चाँडो यिनीहरूको जीवनमा आशाको दियो जलाउनुपर्छ । यसका लागि यहाँ रहेका मुगु कर्णाली, हुम्ला कर्णाली, भेरी तथा तीला नदीहरूबाट अत्यधिक मात्रामा विद्युत् उत्पादन गरेर राष्ट्रिय प्रसारणलाइनमा जोड्न सके विदेश निर्यात गरी प्रशस्त विदेशी मुद्रा आर्जन गर्न सकिन्छ, जसले गर्दा व्यापारघाटा घटाउन मद्दत गर्छ ।

त्यसैगरी खाली रहेका पहाडका डाँडाहरूमा जडीबुटीका बिरुवाहरू रोपी यसको उत्पादन बढाउन सकिन्छ । साहसिक पर्यटहरूका लागि यो प्रदेश वरदान हुन सक्छ । यदि यसो गर्न सके यो प्रदेशको विकास भई रोजगारीमा वृद्धि आउँछ । एक जना विदेशी पर्यटक आउँदा यो भेगका नौ जना र स्वदेशी पर्यटकहरू आउँदा ६ जनाले रोजगारी पाउने सम्भावना देखिन्छ । त्यसकारण पनि यहाँको भौगोलिक विविधतालाई अवसरका रूपमा उपयोग गर्नुपर्छ ।

अहिले लगानीको अभाव र अलिअलि भएको रकम पनि विभिन्न खाले रूप बिग्रिएको जनावर र अन्य खाले मूर्ति बनाउने जस्ता अलोकप्रिय र अनावश्यक ठाउँमा खर्च गरेर यो प्रदेशमा रहेकोे प्रचुर सम्भावनालाई यसैमा सीमित नराखी यसलाई विकासको अवसरका रूपमा लिनुपर्छ । यो प्रदेशमा यी सबै खाले विकासका लागि सरकारी र निजी क्षेत्र दुवै हातेमालो गरी अगाडि बढ्न सके चाँडै यो प्रदेश समृद्धि पथमा अघि बढ्नेछ ।

(डा. दंगाल त्रिविमा प्राध्यापनरत अर्थशास्त्री हुन् ।)

प्रतिक्रिया दिनुहोस्