ग्रामीण पर्यटन उद्देश्यबाहिर ?

यो नभुलौँ कि पर्यटन क्षेत्र नेपालको अर्थतन्त्रको विकासका लागि उच्च सम्भावना बोकेको क्षेत्र हो । यो गतिशील र तीव्र रूपमा विकास भएको एक अत्यन्तै प्रतिस्पर्धी उद्योग हो । रोजगारीका अवसर वृद्धि, गरिबी निवारण, वैदेशिक मुद्रा आर्जन, राष्ट्रिय पहिचान र जनताको जीवनस्तरमा सुधार ल्याई आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न यस क्षेत्रको महत्त्वपूर्ण स्थान रहेको स्पष्टै छ ।
कोभिडको प्रत्यक्ष असरका दिनबाहेक पर्यटकको बसाइ लम्बाइ (१२.७ दिन), पर्यटक खर्च ४८ अमेरिकी डलर, देशको कुल गार्हस्थ्य उत्पादनमा यसको योगदान झन्डै ३ प्रतिशत पुग्नु र प्रत्यक्ष रोजगारीमा २ लाख नाघ्नु उज्यालोका संकेत हुन् । पर्यटन मनोरञ्जन, खाली समय र व्यापारिक प्रयोजनका लागि गरिने यात्रा हो, विश्वको गतिलो र व्यवस्थित बन्दै गएको उद्योग हो । यसले बहुआयामिक पक्षहरूलाई समेटेको हुन्छ ।
अंग्रेजी भाषाको टुरिजम शब्द ल्याटिन भाषाको टोरनस शब्दबाट उत्पत्ति भएकोे हो, जसको अर्थ हुन्छ-वृत्त देखाउने उपकरण, घुमन्तेको चक्र वा चक्रकार यन्त्र । यस शब्दबाट के बुझिन्छ भने टुरिजम अर्थात् पर्यटन शब्द घुम्ने/घुमाउने र मनोरञ्जनात्मक क्रियाकलापहरूसँग सम्बन्धित छ । यसै शब्दबाट नै राउन्ड ट्रिप वा प्याकेज टुरको अवधारणा विकास भएको थियो । समयक्रमसँगै १३ औँ शताब्दीबाट सुरु भएको पर्यटन शब्दको विकसित रूप भने १९ औँ शताब्दीबाट मात्र भएको थियो ।
त्यसपछि यात्रा आनन्दका लागि घुम्ने उत्सुकता पूरा गर्न घुम्ने तथा घुम्नेबाहेक अन्य क्रियाकलापहरूमा संलग्न व्यक्तिलाई पर्यटक भनी परिभाषित गरिएको थियो । अहिले आएर क्रमशः ऋण गरेरै भए पनि देशाटन गर्नुपर्छ भन्नेको संख्या बढ्दै गएको छ । पर्यटनका विभिन्न महत्त्वपूर्ण तत्त्वहरूमध्ये आकर्षण, बासस्थान, पहुँचगाम्यता र थप सेवासुविधा पर्छन् । कोभिडका केही विषम अवस्थाबाहेक नेपालमा पर्यटन क्षेत्र एक अब्बल दर्जाको उद्योगका रूपमा विकास हुँदै गएको छ ।
साथै, विदेशी मुद्रा आर्जन र सङ्कलनमा पनि बढी योगदान दिने व्यवसायको रूपमा उदाउँदो छ । नेपालमा सन् १९५० देखि मात्र तेस्रो मुलुकबाट पर्यटकहरू यहाँ आउन थालेको स्पष्ट छ । यसभन्दा अगाडि भारतका मात्र पर्यटकहरू तीर्थाटन गर्ने हिसाबले नेपाल आउने गरेको तथ्यांक छ । जेजस्तो भए पनि पर्यटन उद्योगको विकास गर्नका लागि विभिन्न आयोजनाहरूमा यसलाई प्राथमिकीकरणमा राखेको पाइन्छ ।
पर्यटन उद्योगमा देखिएका चुनौतीहरूको सम्बोधन गर्नका लागि सरकार, निजी क्षेत्र तथा गैरसरकारी क्षेत्रसमेतको संयुक्त लगानी, तत्परता र सोचमा परिवर्तनको आवश्यकता हुन्छ । यसो हुन सकेको खण्डमा नेपालमा रहेका सम्पदाहरूको सम्वर्द्धन, संरक्षण र प्रवर्द्धन गरी पर्यटक आगमन, पर्यटक बसाइ र खर्चमा वृद्धि गराई रोजगारीका अवसरको गरी पर्यटन क्षेत्रको माध्यमद्वारा आर्थिक विकासमा सहयोग पुग्छ ।
संस्कृत साहित्यमा टुरिजम शब्दलाई तीर्थाटन, देशाटन र पर्यटन शब्दावलीहरूसँग जोडिएको पाइन्छ र समयानुकूलको व्याख्या पनि अभ्यासका क्रममा गरिँदै आइएको पाइन्छ । तीर्थाटनले विशुद्ध धार्मिक उद्देश्यले गरिने यात्रा, देशाटनले बाह्य देशीय आर्थिक वृद्धिको यात्रा र पर्यटनले ज्ञान र मनोरञ्जनको यात्रालाई समेट्छ । समयअनुसार यसका विभिन्न स्वरूप र क्षेत्रहरूमा फैलँदै गएको छ । कुनै समय ज्ञान, धर्म आदिका लागि यात्रा गरिने परम्परा अहिले परिवर्तन भएर मनोरञ्जनका लागि पनि पर्यटन हुन्छ भन्ने कुरामा बहुमत जुटाउन सफल भएका छन् ।
हुँदाहुँदा ९० को दशकपछाडि त ग्रामीण जीवनस्तरमा ग्रामीण स्थान, परिकार र उत्पादनको सहायताले वृद्धि गराउने उद्देश्यले ग्रामीण पर्यटनको आगमन भएको पाइन्छ । ग्रामीण पर्यटन गाउँ तथा इलाकागत पर्यटन हो । स्थानीय स्रोत तथा साधनहरूको महत्तम प्रयोग तथा तिनको उचित परिचालन गर्दै समग्र गाउँको विकासका लागि ग्रामीण पर्यटन आजको समयमा कोसेढुङ्गा साबित भएको छिपाउन सकिँदैन । नेपाल भौगोलिक विविधता भएको मुलुक हो । त्यसमा पनि ग्रामीण पर्यटन गन्तव्य स्थलको प्रचुर सम्भावना रहेको देश हो ।
हामी नेपाली आर्थिक स्रोतसाधनमा त धनी छौँ तर सीप, प्रविधि र प्रयोगको कमीका कारण गरिब छौँ । तसर्थ, देशको उज्ज्वल भविष्यका लागि हामीसँग भएका स्थानहरू, दुर्लभ एवं लोपोन्मुख सम्पदाहरूको संरक्षण, नवीकरणीय स्रोतहरू, तिनको सम्वर्द्धन, प्रवर्द्धन साथै उचित उपयोगबाट हामीले धैरै फाइदा लिन सक्छौँ र लिइराखेका छौँँ । यसका लागि उत्तम विकल्प नै ग्रामीण पर्यटन साबित भएको छ । ग्रामीण पर्यटनका विभिन्न स्वरूप छन् । गाउँका स्थान तथा पर्यटकीय क्रियाकलापहरूजति सम्पूर्ण प्रकारहरू नै यसका प्रकार र क्षेत्रहरू हुन् ।
होमस्टे, पदयात्रा, प्याराग्लाइडिङ, तलाउ, विहार, जलयात्रा, रक क्लाइम्बिङ, क्यानोनिङ, धार्मिक तीर्थस्थल, बन्जी जम्पिङ, स्काई डाइभिङ, जंगल सफारी, हिमाल यात्रा, गुफाको यात्रा, गाउँका उत्पादन, जंगली जनावर, आतिथ्य सत्कारजस्ता विविध पक्षहरू नै ग्रामीण पर्यटनका मुख्य आधारहरू हुन् । देशमा पर्यटनका बहसहरू धेरै भए, तर कुन क्षेत्रको नमुना र कुन क्षेत्रको बढी योगदान रह्यो भन्ने कुरामा सधैं द्विविधा देखिन्छ ।
धार्मिक पर्यटनको यात्रालाई देवताहरूको पालादेखि भगवान् श्रीकृष्णसँग जोड्दै मनोरञ्जनात्मक अभिप्रायका साथ पर्यटनलाई जोड्दासम्म उल्लेख्य परिवर्तनहरू हाम्रा सामु आइपुगेका छन् । आज पर्यटन एक अब्बल र दरिलो उद्योगको रूपमा विकास भएको छ । यसले धान्ने जनसंख्यामा पनि उल्लेख्य बढोत्तरी गराएको कसैबाट छिप्न सक्दैन ।
विकासको दरिलो साथी भएको छ अहिले यो क्षेत्र । गाउँका उत्पादनदेखि चिनारीसम्म र प्राकृतिक सौन्दर्यतादेखि कृत्रिम क्रियाकलापहरूसम्म अहिले अभिन्न मित्रु बनेका छन् । प्रकृतिका स्वर्णिम उपहार र कृत्रिम स्थलहरूको महत्तम परिचालन र सही उपयोगबाट देशको अर्थतन्त्रमा ठूलो सहयोग पुग्न सक्छ । जंगल, जमिन, जडीबुटी, जल र खनिजहरू नै देशका प्रमुख आकर्षणका आधारहरू हुन् ।
यससँगै आकर्षक गाउँ, आधुनिक सहर, वातावरणप्रेमी स्थान, पार्क, स्थानीय ज्ञान र सीप, मरुभूमि, निकुञ्ज, शैक्षिक स्थान, पहाडी क्षेत्र, जंगली जनावर, फूल, स्थानीय चाडपर्व, संस्कृति र सामाजिक जीवन, कम खर्चिलो खाना, खोलानाला, हाते उत्पादन, पुरातात्त्विक वस्तु, खेलकुद, जनजाति र तिनको जनजातीयता, पदयात्राका स्थान, जलयात्रा, यातायात, रात्रि र दिवा जीवनशैली, मनोरञ्जन, गल्फिङ, ग्रामीण तथा सहरी बजार, मौलिक पहिरन र लुगाहरू, होमस्टे आदि ग्रामीण पर्यटनका मुख्य सम्भावनाका क्षेत्रहरू हुन् ।
स्थान र परिवेशअनुसार यसको उद्देश्य र किसिमहरू पनि थपिँदै गएका छन् । अनवरत यात्रा र अनुसन्धानको परिणाम आज ग्रामीण पर्यटन सहयात्री बन्न पुगेको छ । नेपाल राष्ट्र बैंकले ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पुर्याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि प्रवाह भएको कर्जा २०७९ कात्तिक मसान्तमा रु. ८५ करोड ९४ लाख बक्यौता रहेको बताउँछ ।
तर, बैंकको ब्याज अचाक्ली बढेको र महँगी थामिनसक्नु हुँदा यो क्षेत्रको यात्रामा पूर्ण मुस्कान देख्न सकिएको छैन । सबै सामग्री आयात गरिँदा र हाम्रा उत्पादनहरू कम निर्यात हुँदा घाटाको जीवन बढेको छ । पर्यटकको बसाइ र खर्च रकमको मुद्दा पनि हाम्रा सामु देखिएका छन् । असली पर्यटनमा नक्कली कारोबारीको प्रवेशले सहुलियत ऋणका गुनासा पनि चुलिएको कथा देख्न पाइन्छ । पर्यटन उद्योगमा देखिएका चुनौतीहरूको सम्बोधन गर्नका लागि सरकार, निजी क्षेत्र तथा गैरसरकारी क्षेत्रसमेतको संयुक्त लगानी, तत्परता र सोचमा परिवर्तनको आवश्यकता हुन्छ ।
यसो हुन सकेको खण्डमा नेपालमा रहेका सम्पदाहरूको सम्वर्द्धन, संरक्षण र प्रवर्द्धन गरी पर्यटक आगमन, पर्यटक बसाइ र खर्चमा वृद्धि गराई रोजगारीका अवसरको गरी पर्यटन क्षेत्रको माध्यमद्वारा आर्थिक विकासमा सहयोग पुग्छ । तर, त्यसका लागि यहाँ छरिएर रहेका प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्त्विक सम्पदाहरूको संरक्षण र सम्वर्द्धनमा सबैको सहभागितामा चाहिन्छ । साथै पर्यटन क्षेत्रको विकास गरी प्राप्त प्रतिफललाई न्यायोचित तरिकाले वितरण गर्न संयन्त्र बनाएर कार्यान्वयन गरिनुपर्छ ।
नयाँ पर्यटकीय गन्तव्यको पहिचान तथा पूर्वाधारहरूको विकास गरी कनेक्टिभिटी बढाउनु त्यत्तिकै आवश्यक हुन्छ । यसका अतिरिक्त आन्तरिक पर्यटनले अहिले पनि कुल पर्यटन उद्योगको ८० देखि ८२ प्रतिशत योगदान गर्दै आएको सन्दर्भमा आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने कार्यमा समेत लाग्नुपर्ने हुन्छ । त्यसो गर्न सकिएको खण्डमा पर्यटन उद्योगको माध्यमद्वारा देशको अर्थतन्त्रमा देखिएको कालो धब्बा र संकट चिर्ने निश्चित छ । तर, हामी अझै दोधारे यात्रामा छौँ, त्यो विडम्बना बनेको छ ।
पर्यटन क्षेत्रबाट प्राप्त लाभको समन्यायिक वितरण गर्ने, पर्यटकीय सेवा तथा सुविधाहरूको विकास, विस्तार एवं विविधीकरण गर्ने, पर्यटन प्रर्वद्धन गर्न छिमेकी देशहरू चीन तथा भारतलाई केन्द्रित गरी व्यापक रूपमा प्रचारप्रसार गरिनु प्रथम कार्यभित्र राखिनुपर्छ । पर्यटकहरूलाई उपलब्ध गराइने सेवासुविधाको गुणस्तरको सुनिश्चितता गर्दै दिगो पर्यटन विकासको कार्यलाई प्राथमिकीकरण गर्नु अहिलेको आवश्यकता हो । तर, स्थानीय निकायलाई पर्यटन विकासका सन्दर्भमा बढीभन्दा बढी सचेत, सक्षम, जागरुक र क्रियाशील नबनाउँदासम्म अपेक्षित प्रतिफल सम्भव छैन ।
आन्तरिक तथा बाह्य पर्यटकहरू आकर्षित हुने गरी पर्यटन प्रवर्द्धन गर्न नेपालको आफ्नै आकर्षक ब्रान्डहरू निर्माण गर्न आवश्यक छ । विश्वासिला सञ्चार साझेदारहरूको पहिचान र परिचालन गरी गन्तव्यहरूका बारेमा नयाँ र ताजा जानकारी दिने तथा नेपालका प्राकृतिक सामीप्य, सांस्कृतिक सत्यता, आत्मीय सुख र सामाजिक मेलजस्ता उत्साहप्रद मूल्यहरूलाई पर्यटनसँग कसिलोसँग जोड्न जरुरी छ, किनकि यी हाम्रा मौलिकता हुन् ।
ग्रामीण पर्यटनका विभिन्न सम्भावनाहरू भएर पनि त्यसको उचित व्यवस्थापन र प्रयोगमा उल्लेख्य प्रगति नहुँदा यस क्षेत्रमा विविध समस्या तथा थप चुनौतीहरू रहेको देखिएको छ । पर्यटन बहुसरोकारवालाहरूको अन्तरसम्बन्धबाट चल्ने क्षेत्र हो । त्यसैले पर्यटनको प्रवद्र्वन र विकासका लागि सरकारी, गैरसरकारी, निजी तथा साझेदारीको प्रयास आवश्यक छ । स्थानीय, प्रदेश र संघीय सरकार तथा निजी क्षेत्रको पूर्ण सहयोगसहित पर्यटनमा गुणस्तर मापदण्डको विकास गरी इमानदार कार्यान्वयन गर्न आवश्यक देखिन्छ ।
संस्थागत संरचना, नीतिगत व्यवस्था, व्यवस्थापन प्रणाली एवम् समन्वय र नियमन पद्धतिमा सुधार गर्दै पर्याप्त सहकार्य र उपयुक्त गृहकार्यको साथमा अगाडि बढ्दा समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्तिमा पर्यटन क्षेत्रले महत्त्वपूर्ण योगदान पुर्याउन सक्ने कुरामा दुईमत नहोला । देशको विभिन्न कारणहरूले गर्दा यस क्षेत्रमा जति मात्रामा विकास हुनुपर्ने हो त्यो भने महसुस गर्न पाइएको छैन ।
सरकारी दीर्घकालीन रणनीति साथै आर्थिक र राजनीतिक प्रतिबद्धता र तिनको प्रभावकारी कार्यान्वयनमा भएको कमी, अनुदान अभाव, समयानुसारका पूर्वाधार विकास नहुँदा र दक्ष जनशक्ति बिदेसिएका कारण बूढापाकाले यो क्षेत्र थाम्नुपर्ने बाध्यतालगायतका विभिन्न चुनौतीहरू देखिएका छन् । ग्रामीण उत्पादनहरूको कम प्रयोग भएको पाइँदै गएको छ र देखावटी र अर्काका उत्पादनहरू पर्यटकलाई पस्किनु र स्थानीय उत्पादनहरू लोप हुँदै जानुले ग्रामीण पर्यटनको उद्देश्य हामीले कतै बिर्सन थालेका त हैनौँ ? भन्ने प्रश्न उब्जिएको छ ।