गोरखाका उम्मेदवारको खर्च दुई करोडभन्दा बढी

मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा गोरखाका उम्मेदवारहरूले दुई करोडभन्दा बढी खर्च गरेका छन् । जिल्ला निर्वाचन कार्यालयमा बुझाइएको खर्च विवरणअनुसार जिल्लाका ४८ जना उम्मेदवारको कुल चुनाव खर्च दुई करोड १८ लाख नौ हजार रुपैयाँ रहेको छ । निर्वाचन आयोगले चुनावको अन्तिम परिणाम घोषणा भएको ३५ दिनभित्र निर्वाचनमा भएको खर्चको विवरण बुझाउन भनेको थियो ।
सोहीअनुसार जिल्लाका प्रतिनिधिसभाका २१ जना र प्रदेशसभाका २७ जना उम्मेद्वारले खर्च विवरण बुझाएका हुन् । कुल ४९ जना उम्मेदवारमध्ये प्रतिनिधिसभा क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार विष्णु पुडासैनीले मात्रै खर्च विवरण बुझाउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले बताए ।
कार्यालयमा बुझाइएको विवरणअनुसार गठबन्धनबाट गोरखा क्षेत्र नम्बर १ का उम्मेदवार राजेन्द्र बजगाईंले सबैभन्दा धेरै २६ लाख ५६ हजार रुपैयाँ खर्च गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार बजगाईं प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । यस्तै गोरखा क्षेत्र नम्बर २ बाट गठवन्धनका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले २२ लाख ६४ हजार रुपैयाँ खर्च भएको विवरण पेस गरेका छन् ।
नेपाल मजदुर किसान पार्टीबाट गोरखा क्षेत्र नम्बर १ की प्रतिनिधिसभाकी उम्मेदवार लीलाकुमारी बुढाथोकी र सोही पार्टीबाट क्षेत्र नम्बर २ का उम्मेदवार प्रल्हाद लामिछाने र तथा स्वतन्त्र उम्मेदवार प्रकाश थापाले भने निर्वाचनमा कुनै पनि खर्च नगरिएको विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएका छन् । निर्वाचन आयोगले देशभरका निर्वाचन क्षेत्रको मतदाता संख्या, भौगोलिक बनावट लगायतका आधारमा उम्मेदवारहरूले खर्च गर्न पाउने रकमको सीमा तोकेको थियो ।
गोरखामा प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारले १७ लाख रुपैयाँदेखि ३३ लाख रुपैयाँसम्म मात्रै खर्च गर्न पाउने गरी सीमा निर्धारण भएको थियो । उम्मेदवारहरूले आयोगले तोकेको सीमाभित्रै खर्च भएको विवरण बुझाए पनि अनौपचारिक रूपमा हदभन्दा धेरै रकम खर्च गर्ने गरेको गुनासो आउने गरेको छ ।
आयोगले तोकेको अधिकतम हदभन्दा बढी खर्च गर्ने वा तोकिएको अवधिमा खर्च विवरण पेस नगर्ने राजनीतिक दल वा उम्मेदवारलाई निजले गरेको निर्वाचन खर्च वा आयोगद्वारा निर्धारित खर्चको हदमध्ये जुन बढी हुन्छ सोही बराबरको रकम जरिवाना गर्नसक्ने निर्वाचन ऐनमा व्यवस्था छ ।