Logo

महानगर र एनआरएनएको सहकार्यमा बन्ने शौचालयसँगै चमेनागृह निर्माण हुनेछ

पोखरामा एक करोडको अत्याधुनिक शौचालय

पोखरामा एक करोड लागतमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृह निर्माण हुने भएको छ । पोखरा महानगरपालिका र गैरआवासीय नेपाली संघ (एनआरएनए) को संयुक्त लगानीमा महेन्द्रपुलमा शौचालय र चमेना गृह निर्माण हुने भएको हो । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यका अनुसार उक्त स्थानमा मापदण्डविपरीत निर्माण भएको भौतिक संरचना केही समयअघि महानगरले नै भत्काएको थियो ।

सो स्थानमा रहेको कित्ता नम्बर ८२ को ५ आना जग्गामा शौचालय र चमेना गृह संरचना बनाइने उनले जानकारी दिए । पर्यटन प्रवर्द्धन तथा नागरिकको सेवाका लागि शौचालयको आवश्यकता महसुस गरी चमेना गृहसहितको सार्वजनिक शौचालय निर्माण गर्न लागिएको मेयर आचार्यको भनाइ छ । स्तनपान कक्षसहित निर्माण गर्न लागिएको शौचालयमा सेनेटरी प्याडसमेत उपलब्ध गराइने उनले बताए । शौचालय र चमेना गृह निर्माणका लागि पोखरा महानगरपालिका र एनआरएनएबीच मंगलबार सम्झौता भएको छ ।

पोखराका मेयर आचार्यको रोहवरमा भएको सम्झौतामा महानगरपालिकाको तर्फबाट सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रजंग केसी र एनआरएनएको तर्फबाट कार्यकारी अध्यक्ष रविना थापाले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार एनआरएनएले ६० प्रतिशत र पोखरा महानगरपालिकाले ४० प्रतिशत लगानी गर्नेछन् । ३ महिनाभित्र निर्माण सम्पन्न गरिने सार्वजनिक शौचालय र चमेना गृहका लागि ६० लाख एनआरएनए र ४० लाख महानगरपालिकाले खर्च गर्नेछन् ।

एनआरएनए कार्यकारी अध्यक्ष थापाले पोखरा महानगरपालिकाको महेन्द्रपुलमा आफूहरूले नेपाली शैलीको अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृह निर्माणका लागि महानगरपालिकासँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताइन् । यसले पोखरा आउने पर्यटकलाई समेत सहज हुनुका साथै पोखराको स्वच्छता प्रवर्द्धनमा योगदान पुग्ने उनको विश्वास छ । महानगरसँग थप सहकार्यका लागि पनि एनआरएनए तयार रहेको अध्यक्ष थापाले बताइन् ।

पोखरा महानगरपालिका–१७ की अध्यक्ष राधिकाकुमारी शाही योगी र पोखरा–९ का अध्यक्ष दीपेन्द्र मर्सानीले महानगरको अभियानमा यस्तो सहयोग आवश्यक भएकोमा जोड दिए । महानगरपालिकाले निर्माण गरेका १५ वटा र सार्वजनिक–निजी निजी साझेदारीमा सञ्चालन गरिएका ६० वटा सार्वजनिक शौचालय पोखरामा छन् ।

प्रतिक्रिया दिनुहोस्