ट्रम्पको विरोधमा ठूला अमेरिकी कम्पनी

अमेरिकाका ठूला टेक कम्पनीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोध गरेका छन् । उनीहरूले चिनियाँ सामानहरूमा ल्यापटप, कम्प्युटर र ट्याब्लेटमा अतिरिक्त भन्सार शुल्क लगाउन खोजेको ट्रम्पको प्रस्तावको विरोध गरेका हुन् ।
कम्प्युटर ल्यापटप, ट्याब्लेट र भिडियो गेम बनाउने अमेरिकी टेक कम्पनीहरूमा डेल टेक्नोलोजि इंक, एचपी इंक, माइक्रोसफ्ट कर्प र इन्टेल कर्पले संयुक्तरूपमा एक विज्ञप्ति निकाली राष्ट्रपति ट्रम्पको सो योजनाको विरोध गरेका हुन् ।
अमेरिकामा बेचिने नोटबुक र डेटाच्याबल ट्याब्लेट बिक्रीको ५२ प्रतिशत डेल, एचपी र माइक्रोसफ्टले हिस्सा ओगटेका छन् । अमेरिकाले यसमा अतिरिक्त महशुल थपे यसको मूल्य वृद्धि अमेरिकामा बढेर जाने र यो बिक्रीको मौसममा कम्पनीलाई घाटा हुनेछ ।
ट्रम्पको यो कदमबाट बिक्री, उपभोक्ता र उद्योगलाई समेत हानी पु¥याउने छ । अमेरिका र चीनबीच व्यापार युद्ध जारी रहेको र यी दुई देशले एक अर्का देशमा एक अर्काका उत्पादनहरूको प्रवेशमा अतिरिक्त भन्सार महशुल थप्दै आएका छन् ।
ट्रम्प प्रशासकले फेरि अतिरिक्त भन्सार महशुल बढाउने योजना बनाइरहेको र त्यसमा ल्यापटप र भिडियो गेमहरूमा अतिरिक्त भन्सार थप्ने योजना बनाइरहेको छ । अतिरिक्त भन्सार शुल्क लगाइए अमेरिकामा ल्यापटपको मूल्यमा १९ प्रतिशतले वृद्धि भई १२० अमेरिकी डलर औसतरूपमा खुद्रा मूल्य थपिने देखिएको र यसबाट उद्योगलाई मात्रै होइन, हजारौं रोजगार जोखिममा पर्ने उनीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । चीनसँगको व्यापार सहमतिमा कुरो नमिले ट्रम्पले फेरि ३ खर्ब अमेरिकी डलर बराबरको चिनियाँ वस्तुहरूमा अतिरिक्त भन्सार शुल्क थप्ने योजना बनाइरहेको यसअघि चेतावनी दिएका थिए ।