दैनिक बढ्दै महँगी, नियन्त्रणमा छैन चासो

कोभिड महामारी, पेट्रोलियम पदार्थको मूल्यवृद्धि र रुस–युक्रेन युद्धलाई देखाएर दैनिक उपभोग्य वस्तुमा दैनिकजसो महँगी बढिरहेको छ । महँगीले उपभोक्ताको चुलो बल्न मुस्किल छ । तर, महँगी नियन्त्रणमा कसैले चासो देखाएका छैनन् ।
नेपाल राष्ट्र बैंकको तथ्यांकलाई मात्र आधार मान्ने हो भने पनि यस वर्ष ८ प्रतिशतभन्दा बढी महँगी पुगेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार कात्तिकसम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.०८ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो मुद्रास्फीति ६.०४ प्रतिशत थियो । उपभोक्ता भने यो तथ्यांकभन्दा बजारमा धेरै गुणाले महँगी बढेको दाबी गर्छन् ।
राष्ट्र बैंकका अनुसार यो बेला खाद्य तथा पेय पदार्थ समूहको महँगी ७.३८ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको महँगी ८.६३ प्रतिशत छ । खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेष्टुरेण्ट तथा होटल उपसमूहको १५.९७ प्रतिशत, सुर्तीजन्य पदार्थको ११.८१ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको ९.३३ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.१९ प्रतिशत र मदिराजन्य पेय पदार्थको ८.८४ प्रतिशत मूल्य बढेको छ ।
कात्तिकसम्ममा काठमाडौं उपत्यकामा ७.५६ प्रतिशत, तराईमा ८.५२ प्रतिशत, पहाडमा ८.०३ प्रतिशत र हिमालमा ६.६८ प्रतिशत महँगी पुगेको छ । गत वर्ष यी क्षेत्रहरुमा क्रमशः ६.१४, ५.४२ , ७.१४ र ५ प्रतिशत महँगी थियो । खुद्रा व्यवसायीहरुका अनुसार गत भदौमा १ हजार ८ सय पर्ने २५ केजी जिरा मसिनो चामलको मूल्य अहिले २२ सय ५० रुपैयाँ पुुगेको छ ।
यस्तै, गत वर्ष ८५ रुपैयाँ प्रतिकेजी रहेको त्रिशूलीको पोखरेली चामल यो वर्ष ९५ पुुगेको छ । अघिल्लो वर्ष प्रतिकेजी ७५ रहेको स्टिम जिरा मसिनो चामलको मूल्य बढेर यो वर्ष ९० रुपैयाँ पुुगेको छ । सबै खालका चामलको मूल्य अहिले बढिरहेको छ । चामलमात्र होइन, दाल–तेलको पनि मूल्य बढेको छ ।
गत वर्ष १ सय ८० प्रतिकेजी रहेको मासको दाल यो वर्ष १ सय ९० रुपैयाँ पुगेको छ । गत वर्ष सनफ्लावर तेलको मूल्य प्रतिलिटर २ सय ४० रहेकोमा यो वर्ष २ सय ५० रुपैयाँ पुुगेको छ । अदुवाको मूल्य पनि प्रतिकेजी ३५ बाट ५६ रुपैयाँ पुुगेको छ । रातो आलु प्रतिकेजी ३२ रुपैयाँबाट बढेर ४९ पुुगेको छ । यो सबै थोक व्यापारको मूल्य हो । खुद्रा व्यापारमा यी सबै वस्तुको मूल्य झनै बढी छ ।
मासु व्यवसायी संघका अध्यक्ष रमेश खक्डीले मासुको मूल्यमा भने खासै परिवर्तन नआएको बताए । “दुई वर्षअघि पनि खसीको मूल्य १३ सय रुपैयाँ प्रतिकेजी थियो, अहिले पनि उत्ति नै छ,” उनले भने । उनका अनुसार वाणिज्य मन्त्रालयले नयाँ मूल्यसूची तोकेको छैन । केही स्थानमा भने व्यवसायीहरुले ५०–१०० रुपैयाँ आफूूखुसी बढाएका छन् । उपभोक्तालाई ठग्ने र अनुचित व्यापारिक क्रियाकलाप गर्नेलाई कारबाही गर्नसमेत उनले माग गरेका छन् ।
खुद्रा व्यापार संघका अनुसार गत भदौको तुलनामा असोजमा चामल, दाल, गहुँ, मैदा, पिठोलगायतका खाद्य पदार्थमा थोक विक्रेताले मूल्य बढाएका छन् । संघका पूर्वअध्यक्ष पवित्रमान बज्राचार्यले थोक बिक्रेताले आफूखुसी मूल्य बढाएर बजारमा खाद्यवस्तु पठाएको जानकारी दिए । “ठूला व्यापारीको कब्जामा सरकार छ, व्यापारीले आफूखुसी मूल्य बढाउँछन् अनि उपभोक्ता ठगिन्छन्,” उनले भने ।
भारतले कर बढाएको र चामल निर्यात नगर्ने निर्णय गरेका कारण अहिले चामलको मूल्य ह्वात्तै बढेको उनको भनाइ छ । “मागअनुसार आपूर्ति कम भएकाले चामलको मूल्य बढेको हो, आगामी दिनमा अझै महँगो हुनेछ,” उनले भने । ठूला व्यापारीले कालोबजारी गरेको भन्दै बज्राचार्यले नियन्त्रणका लागि सरकारले अध्ययन र अनुुगमन बढाउन आवश्यक रहेकोमा जोड दिए ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले भने कालोबजारी नियन्त्रण गर्न प्रभावकारी अनुुगमन भएको दाबी गरे । “सरकारले महँगी नियन्त्रणका लागि अनुुगमन गरिरहेको छ,” उनले कारोबारसँग भने, “कालोबजारी भएको थाहा पाए सबै उपभोक्तालाई खबर गर्न अनुरोध गरिएको छ । खबर पाए हामी तुरुन्तै कारबाही गर्छौं ।”
