‘नो रेमिट्यान्स’ अभियानपछि मोबाइलमा नयाँ व्यवस्था स्थगित «

‘नो रेमिट्यान्स’ अभियानपछि मोबाइलमा नयाँ व्यवस्था स्थगित

मोबाइल फोनको अनधिकृत आयात रोक्न भन्दै लामो तयारीपछि लागू भएको नयाँ व्यवस्था मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) अन्तिम समयमा स्थगित भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबारदेखि लागू गर्ने भने पनि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को निर्देशनपछि यो व्यवस्था स्थगित भएको हो ।

एमडीएमएससँगै विदेशबाट फर्केका नेपालीले उपहारस्वरुप ल्याउने मोबाइलका हकमा पनि नयाँ व्यवस्था लागू नहुने भएको छ । सरकारले एमडीएमएस र भन्सारमा कडाईसम्बन्धी दुई नयाँ व्यवस्था लागू गरेको विरुद्ध विदेशमा रहने नेपालीले स्वदेशमा रकम नपठाउने ‘नो रेमिट्यान्स’ अभियान सुरु गरेपछि सरकार प्रधानमन्त्री दाहालले नै हस्तक्षेप गर्नुपरेको थियो ।

प्रधानमन्त्री दाहालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलमार्फत भन्सारमा प्रज्ञापनपत्र लिनुपर्ने व्यवस्था हटाउन निर्देशन दिएका थिए भने प्रधानमन्त्रीको निर्देशनपछि प्राधिकरणले शुक्रबार नै एमडीएमएस तत्काल लागू नहुने सूचना जारी गरेको थियो । मन्त्रिमण्डल विस्तार नभएका कारण सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारीसमेत प्रधानमन्त्री दाहालले नै सम्हालिरहेका छन् ।

प्रधानमन्त्रीको निर्देशनसँगै विदेशबाट आउने नेपाली नागरिकले आफूले प्रयोग गर्दै आएकोबाहेक अर्को एउटा मोबाइलमा अब कुनै भन्सार लाग्ने छैन । यद्यपि यो व्यवस्थालाई कानुनी रूपमा भने सम्बोधन गरिएको छैन । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सरकारको निर्देशनपछि एमडीएमएस तत्कालका लागि स्थगित गरिएको जानकारी दिए ।

अध्यक्ष खनालले प्राधिकरणबाट पौष १५ देखि लागू गरिने भनिएको एमडीएमएस प्रणाली हाललाई स्थगित गरिएको बताए । “अब यो कहिले लागू हुन्छ भनेर हामीले तत्काल भन्नसक्ने अवस्था छैन,” अध्यक्ष खनालले भने, “यस सम्बन्धमा आवश्यक समग्र अवस्थाको विश्लेषण गरी सरकारको नीति निर्देशनअनुसार हामी उपयुक्त निर्णय लिनेछौं ।”

मोबाइलको अवैध व्यापार बढेको र चोरी अथवा हराएको अवस्थामा फेला पार्न सहज हुने भन्दै एमडीएमएस प्रणाली सञ्चालनमा ल्याउन लागिए पनि त्यसविरुद्ध अतिरञ्जित प्रचार गरिएका कारण निर्णय फिर्ता लिन बाध्य भएको प्राधिकरणका अधिकारीहरु बताउँछन् । यो प्रणाली लागू भएपछि विदेशबाट आउने हरेकले नेपालमा मोबाइल अनिवार्य रूपमा दर्ता गर्नुपर्ने प्रावधान राखिएको थियो ।

दर्ताका लागि व्यक्तिगत मोबाइलका लागि पनि भन्सारमार्फत प्रज्ञापनपत्र लिनुपर्ने व्यवस्था गरिएको थियो । जसका कारण मोबाइलको सुरक्षासमेत हुने भए पनि गलत बुझाइका कारण गम्भीर परिस्थिति सिर्जना भएको अधिकारीहरु बताउँछन् । एमडीएमएस कार्यान्वयन नहुने भएपछि आयातकर्ताले भने पुरानै प्रणालीअनुसार आईएमईआई नम्बर दर्ता गराउनुपर्नेछ ।

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री विष्णुप्रसाद पौडेलमार्फत तत्काललाई यो व्यवस्था लागू नगराउन निर्देशन दिएका थिए । मोबाइल दर्ता गर्नुपर्ने र भन्सारमा समेत कडाइ गर्ने नियमको आलोचना चर्किएपछि तत्काललाई यो व्यवस्था स्थगित गर्न प्रधानमन्त्रीबाटै निर्देशन दिइएको उनले जानकारी दिए ।

विदेशबाट फर्कने अधिकांश नेपालीले उपहारस्वरुप आफन्त र साथीभाइलाई मोबाइल ल्याइदिने गरेका छन् । यद्यपि, यो सुविधा कानुनमा छैन । निजी गुन्टा, झिटी भारीसम्बन्धी व्यवस्थाले एकभन्दा बढी मोबाइल ल्याउँदा त्यसको भन्सार तिर्नुपर्ने व्यवस्था गरेको भए पनि हालसम्म एउटाबाहेक अर्को मोबाइल ल्याएको हकमा लचकता अपनाएर भन्सार छुट दिने गरिएको थियो ।

भन्सार विभागले पनि शुक्रबारदेखि नै यो व्यवस्थामा कडाइ गर्दै एउटाबाहेक अर्को मोबाइल ल्याएको अवस्थामा त्यसमा ५ प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाउने तयारी गरेको थियो । यस्तो व्यवस्थाले उपहारका रूपमा ल्याइने फोनमा अनावश्यक कर थपिने र दर्ताको व्यवस्था पनि झन्झटिलो हुने भन्दै सर्वसाधारणबाट आलोचना भएको थियो ।

विदेशमा बस्ने नेपालीले यो व्यवस्थाको विरोधमा सामाजिक सञ्जालमा ‘नो रेमिट्यान्स’ अभियान सुरु गरिसकेका थिए । विदेशी विनिमय सञ्चितीमा चाप बेहोरिइरहेको नेपालले अभियान अघि बढ्न नदिन तत्काल निर्णय सच्याउन बाध्य भएको छ ।

प्राधिकरणको ७८ करोड खेर जाने जोखिम

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली स्थापना गर्न ७८ करोड लागत खर्चिसकेको छ । एमडीएमएस लागू नहुने भएसँगै प्राधिकरणको लगानीसमेत जोखिममा परेको छ ।

मलेसियाली कम्पनी न्युमेरा जेभीलाई प्राधिकरणले तीन वर्षअघि एमडीएमएसको पूर्वाधार निर्माणसम्बन्धी जिम्मा दिएको थियो । २०७६ असारमा न्युमेरा जेभीसँग सम्झौता गरेको प्राधिकरणले विवादास्पपद मलेसियाली कम्पनीलाई यसको जिम्मा दिएको भन्दै आलोचनासमेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्