Logo

बिचौलिया अन्त्य गर्न सहकारी संघद्वारा तरकारी बजार सञ्चालन

किसानहरु तरकारी उत्पादनमा संक्रिय भएपनि किसानहरुले भन्दा बढी मुनाफा बिचौलिया (व्यापारीले) कमाउने आरोप उत्पादनक र उपभोक्ताको गुनासो निरन्तर सुन्दै आएका छौं । किसान र उपभोक्ता दुवैको गुनासो सम्बोधन गर्ने उद्देश्यले जिल्ला सहकारी संघ धादिङले जिल्ला सदरमुकाम धादिङवेस्थित सरकारी परिसरमा सहकारी तरकारी बजार शुभारम्भ गरेको छ ।

बिहीबार राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले एक समारोहबीच उदघाटन गरे लगत्तै तरकारी तथा फलफूल बिक्री शुभारम्भ गरिएको छ । बागमती प्रदेश सरकार, कृषि विकास तथा पशुपंक्षी विकास मन्त्रालयले कृषि ज्ञान केन्द्र धादिङको खाली भवन जिल्ला सहकारी संघलाई सहकारी तरकारी बजार सञ्चालन गर्न दिएपछि संघले सहकारी बजार विकास कार्यक्रमको आर्थिक सहयोगमा भवन मर्मत सम्भार गरी तरकारी बजार सञ्चालन गर्न योग्य बनाएको हो ।

भवन मा अहिले एक/एक टनको दुईवटा कुलङि सेन्टर जडान गरिएको छ भने तरकारी बजारका सञ्चालन गर्न चारवटा कोठामा र्‍याक र ट्रे जडान गरिएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको साझेदारीमा सञ्चालित सहकारी बजार विकास कार्यक्रमको ७० लाख आर्थिक सहयोगमा भवनको मर्मत तथा संभार गरी नयाँ स्वरुप दिइएको छ ।

सहकारी तरकारी बजार सञ्चालन गर्न कृषि ज्ञान केन्द्रका प्रमुख संयोजक, कृषि ज्ञान केन्द्रकै योजना शाखा प्रमुख सदस्य सचिव, जिल्ला सहकारी संघका अध्यक्ष पदेन सदस्य र प्रारम्भिक सहकारी संस्थाबाट दुई जना सदस्य रहने व्यवस्थासहित सहकारी तरकारी बजार सञ्चालक समिति गठन भएको छ ।

यस बजारमा ताजा तरकारी तथा फलफूल, दलहन, दुधजन्य पर्दाथ, मासु लगायत किसानहरुले उत्पादन गरेका तरकरी र फलफूलहरु बिक्री गर्ने तयारी गरिएको कार्यक्रम संयोजक शेरबहादुर गुरुङले बताए । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय अन्तरगत यूएनडिपीको सहयोगमा सञ्चालिन सहकारी बजार विकास कार्यक्रम धादिङ जिल्लामा पाँच वर्षअघि धुनीवेसी नगरपालिका, गजुरी गाँउपालिका र वेनीघाट रोराङ गाउँपालिकामा सञ्चालित छ ।

यस कार्यक्रममा तीनै पालिकाका चार∕चार वटा कृषि सहकारीहरु सामेल छन् । कार्यक्रममा संलग्न सहकारीलाई तरकारी संकलन केन्द्र निर्माण गर्न न्यूनतम १२ लाख, एक∕एक टनको चिस्यान केन्द्र र तरकारी ढुवानी गर्न एक∕एक वटा गाडी अनुदानमा दिएको छ । यद्यपि यूएनडिपीको सहयोगमा सञ्चालिन कार्यक्रम यहि पुष १६ गतेबाट जिल्लामा सकिदैछ ।

प्रतिक्रिया दिनुहोस्