Logo

निजी क्षेत्रको बाध्यकारी रणनीति

केन्द्रमा लबिङ, जिल्लाबाट दबाब

निजी क्षेत्रका दुई छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भटेका छन् । दाहालले प्रधानमन्त्रीको शपथ ग्रहण गरेको भोलिपल्टै व्यवसायी उनीसमक्ष समस्या अवगत गराउन पुगेका हुन् । यी दुवै संस्थाका टोलीले अर्थमन्त्री विष्णु पौडेललाई पनि मंगलबार नै भेटेर समस्या र त्यसलाई समाधान गर्ने सुझाव राखेका थिए ।

अर्थतन्त्र मन्दीतर्फ गएको र सबै क्षेत्रमा समस्या देखिए पनि उद्योगी–व्यवसायीले मुख्य रुपमा २ वटा माग राखेका छन् । राष्ट्र बैंकले विभिन्न उपकरणहरु प्रयोग गरेर बैंक तथा वित्तीय संस्थाले अहिले लिँदै आएको चर्को ब्याजदरलाई कम गराउन भूमिका खेल्नुपर्ने र चालू पुँजी कर्जाको पछिल्लो निर्देशनलाई कम्तिमा दुई वर्षसम्म स्थगित गर्नुपर्ने उनीहरुका प्रमुख माग हुन् ।

यसअघि पनि दुवै संस्थाले तत्कालिन प्रधानमन्त्री, अर्थमन्त्री र अहिलेका गभर्नरलगायतलाई भेटेर यही माग राखेका थिए । निजी क्षेत्रको अहिलेको रणनीति केन्द्रबाट लबिङ गर्ने र जिल्लाबाट दबाब दिने देखिएको छ । महासंघका एक उच्च पदाधिकारीका अनुसार सुरुमै महासंघ नेतृत्व सडकमा जाँदा एकातिर त्यसको सन्देश राम्रो देखिँदैन भने अर्कोतिर आन्दोलनलाई निष्कर्षमा नपुर्‍याई फर्कन गाह्रो हुन्छ ।

यही कारण अहिले केन्द्रबाट लबिङ र जिल्लाबाट दबाब दिने रणनीति लिइएको हो । यो व्यवसायीको रहर नभएर बाध्यता भएको उनले जानकारी दिए । “यति गर्दा पनि राज्यले सुनेन भने भोलि केन्द्र पनि सडकमा आउन बाध्य हुनेछ,” महासंघका ती पदाधिकारीले भने ।

प्रतिक्रिया दिनुहोस्