अर्थमन्त्रीमा पौडेलको उच्च सम्भावना

नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेल नयाँ अर्थमन्त्री बन्ने सम्भावना उच्च रुपले बढेको छ । एमालेसहित सात राजनैतिक दल र केही स्वतन्त्र सांसदको समर्थनमा आइतबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सोमबार ४ बजे उनको सपथ ग्रहण कार्यक्रम छ ।
प्रधानमन्त्री प्रचण्डले सपथ लिएपछि सुरुमा सानो आकारको मन्त्रिमण्डल बनाउँदै छन् । त्यसमा एमालेका तर्फबाट पौडले अर्थमन्त्री बन्न लागेका हुन् । एमालेका एक वरिष्ठ नेताका अनुसार अध्यक्ष केपी शर्मा ओलीले पौडेललाई अर्थमन्त्रीका रुपमा मन्त्रिमण्डलमा पठाएका हुन् । पौडेल यस अघि २ पटक अर्थमन्त्री बनिसकेका छन् ।
गैरअर्थशास्त्री भए पनि पौडलसँग अर्थ मन्त्रालय सम्हालेको अनुभव छ । दुई वटा कार्यकालमा उनी अर्थमन्त्रीका रुपमा विवादमा आएका थिएनन् । अहिले अर्थतन्त्र समस्यामा रहेका बेला पौडेलले यसलाई कसरी अगाडि लैजान्छन् हेर्न भने बाँकी छ । अहिलेको निर्वाचनमा पौडेल रुपन्देहीबाट सांसदमा निर्वाचित भएका थिए ।
सोमबार अर्थमन्त्रालयबाट बाहिरिंदै गर्दा निवर्तमान अर्थमन्त्री जनार्दन शमाले आफ्नो कार्यकालमा कोभिड, रुस युक्रेन युद्ध जस्ता विविध कारणले समस्या भएपनि अबको अर्थतन्त्र सहज अवस्थामा पुगेको दाबी गरे । आर्थिक वृद्धिदर ४.२ बाट ५.८ पुगेको र चालु आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि हुने उनको दाबी छ । लक्ष्यअनुसार आयात घटाइएकाले समग्रमा अर्थतन्त्र सहज अवस्थामा पुगेको उनले बताए । त्यस्तै केही बस्तुको आयातमा लगाइएको प्रतिबन्ध हटाइएकाले राजस्व पनि बढ्ने उनको भनाइ थियो ।