Logo

पर्खाैं र हेरौंको अवस्थामा पर्यटन र मुलुक

मनोमालिन्यता, खिन्नता र कुण्ठाबाट ग्रसित कुनै पनि व्यक्तिका लागि पर्यटन रामवाण ओखती सिद्ध हुन सक्छ भन्ने तथ्यलाई आजको चिकित्साशास्त्रले पनि स्विकारेको छ । कुनै मेसिनसरहको जीवन बाँचिरहेकाहरूलाई त आन्तरिक होस् वा बाह्य पर्यटनले ठूलो मनोविनोदका रूपमा महत्त्वपूर्ण राहत दिन सक्ने क्षमता राख्छ । यसो भन्नुका पछाडि अनगिन्ती मनोवैज्ञानिक आधारहरू छन्, जुन हाम्रा आध्यात्मिक चिन्तकहरूले समेत संकेत गर्दै आएका छन् । यो त भयो एउटा प्राकृतिक चिकित्सामा पर्यटनको भूमिका ।

धेरैले जानेर अथवा अन्जानमा यस प्रकारको चिकित्सकीय पद्धतिबाट लाभ लिएको पनि जिकिर गर्न सकिन्छ । पर्यटनलाई मुलुकको आर्थिक मेरुदण्ड हो भन्ने विषयमा अनेकौं व्याख्यानहरू पढ्न पाइन्छ । पर्यटनले मानव सभ्यताको, जातीय संस्कृतिको र पर्यावरणको प्रवर्द्धनमा के–कति योगदान गरेको छ भन्ने विषय छलफलमा ल्याइनु जरूरी छ । पर्यटनको दिगो जगेर्नाले प्राकृतिक विनाशबाट मानव बस्तीहरूको संरक्षण गर्न सहयोग पुर्‍याउँछ । वनविनाशका गतिविधिहरूलाई रोक्न सक्छ ।

बाढीपहिरो र नदी कटानजस्ता विध्वंसकारी घटनाहरूमा ह्रास ल्याउन पर्यटनको दिगो विकासप्रतिको हाम्रो प्रयास निकै महत्त्वपूर्ण हुन्छ । मुलुक पर्यटकीय सम्पदाहरूले भरिभराउ छ, यद्यपि यसको समुचित विकासका लागि र लक्ष्य प्राप्तिका लागि हाम्रा विकास योजनाहरूले कहीं पनि सम्बोधन गरेको पाइँदैन ।

जलस्रोतमा अत्यधिक धनी कहलिएका हाम्रा खोलानालाहरूमा ‘हाइड्रो’ सम्बन्धी परियोजनाहरूले सरकारको समर्थन पाउँछन् तर त्यस्ता परियोजनाहरूले सम्बन्धित क्षेत्रको पर्यटकीय सम्पदाबारेको यथास्थितिलाई कसरी मूल्यांकन गरेको हुन्छ भन्ने जानकारी योजनाविद्हरूलाई नगण्य मात्रामा नै होला भन्न सकिन्छ ।

पर्यटन त एउटा निरन्तर र अनवरत चलिरहने प्रक्रिया हो, जसमा प्रत्येक देशवासीको संलग्नता रहनु अत्यन्तै आवश्यक छ । परोक्ष रूपमा पर्यटन प्रक्रियामा हाम्रो संलग्नता नदेखिएला तर अपरोक्ष रूपमा हामी त्यसमा आबद्ध रहेका हुन्छौं ।

किनभने यसतर्फ सम्बन्धित निकायबाट कहीँ कुनै व्यत्तव्यहरू आएको देखिँदैन । हामी अहिले नेपालमा भ्रमण दशकको अत्यन्तै प्रारम्भिक चरणमा छौं । पर्यटनकर्मी र व्यवसायीहरूलाई आगामी दस वर्षसम्म मनाइने भ्रमण दशकको नारा दिएर दिग्भ्रमित पारिएको भान हुन्छ । अहिलेसम्म भ्रमण वर्ष मनाउनेबारे सरकारका तर्फबाट कुनै योजनाबद्ध कार्यक्रम पञ्जिका तयार भएको छैन ।

‘क्यालेन्डरअफ इभेन्टस’ कसले तयार पार्ने हो, के-कस्ता प्याकेजहरूको प्रवद्र्धनमा हामी जुट्नुपर्ने हो, हाम्रा सेवाहरू कहिले मूल्यमा आधारित हुने हुन्, बाह्य पर्यटकहरूले आफ्नो भ्रमण तालिका तयार पार्दा नेपाललाई के-कति कारणले आफ्नो प्राथमिकतामा राख्नुपर्ने हो, अन्यत्र नगई नेपाल भ्रमणमा आउँदा उनीहरूले के-कस्तो नौलो वा नयाँ सेवा-सुविधा उपभोग गर्न पाउने हुन् आदि अनेक प्रश्नहरू अहिलेसम्म निरुत्तरित छन् ।

फेरि पनि हामी २५ लाख पर्यटक र ३० लाख पर्यटकको रटानमा व्यस्त छौं । यसै पत्रिकाको तेह्रौं वार्षिकोत्सवको विशेष अंक पढ्ने अवसर जुर्‍यो । राष्ट्रिय आर्थिक पत्रिका भएकाले यस अंकमा पर्यटन विषयको विचार/अवधारणा निकै पठनीय एवम् मननीय रहेको पाएँ । वास्तवमा नेपालसँग रहेका अनगिन्ती अद्भुत प्राकृतिक उत्पादनहरू अन्य कुनै मुलुकमा सायदै होलान् !

नेपालले संघीयतामा प्रवेश गरिसकेपछि पर्यटन प्रवर्द्धनका लागि मुलुकभित्रका १ सयवटा उपयुक्त पर्यटकीय गन्तव्यहरूको पहिचान गरी तिनको सम्वर्द्धनमा जुट्न स्थानीय निकायहरूलाई आह्वान गरिएको थियो । स्थानीय निकायहरूले आफूलाई जे ठीक लाग्यो, त्यही गरे । कसैले भ्यूटावरको निर्माण उपयुक्त ठाने, कसैले (पर्यटकबिनाका) होम–स्टे मा लगानी पोखे । पर्या–पर्यटनका आधारभूत धेरै सम्पदाहरू त्यसै–त्यसै बिलाउँदै गए ।

कुनै अभिमुखीकरण कार्यशालाहरूको आयोजना नगरी हचुवाका भरमा स्थानीय सरकारलाई पर्यटन प्रवर्द्धन र सम्वर्द्धनमा जुट्न प्रोत्साहित गर्नु नै एउटा अयोग्य कदम थियो । पञ्चायतकालमा चितवनलाई स्वस्थ–सहर (सीटी अफ हेल्थ) र धुलिखेललाई शिक्षा–सहर (सीटी अफ एजुकेसन) का रूपमा विकसित गरिनुपर्ने विचार फैलाइयो । तर, कालान्तरमा ती विचारहरू ओझेलिए । धुलिखेल पर्यटकहरूका लागि ‘हिल स्टेसन’ का रूपमा र चितवन खेलकुद र माइस टुरिजम (सभा–सम्मेलन पर्यटन) र सफारीलगायत अन्य पर्यटनका आकर्षणतर्फ अग्रसर देखिन्छ ।

सन् १९९८ को ऐतिहासिक नेपाल भ्रमण वर्षले जनमानसमा नेपाली सन्दर्भको पर्यटनबारे स्पष्ट छाप पारेको यथार्थलाई बिर्सन सकिँदैन । अतिथि देवो भवःको भावनालाई प्रत्येक देशवासीले आत्मसात् गर्दै आ–आफ्नो गाउँ–ठाउँलाई सफा राखेर मात्र पर्यटकहरूको स्वागतमा जुट्न सिकायो नेपाल भ्रमण वर्ष, १९९८ ले । वन, प्रकृति तथा प्राचीन मठमन्दिर, गुम्बा र चैत्यहरूको सम्वर्द्धनमा जुट्न सिकायो । आफ्नो वेशभूषा र भाषा–संस्कृतिको संरक्षण गर्नुपर्ने अपरिहार्यताको पाठ पढायो ।

लोप हुँदै गइरहेका वनस्पति र पशुपन्छीहरूको संरक्षणको महत्त्वबारे बोध गरायो । आन्तरिक पर्यटनको अकाट्य भूमिकाबारे जनचेतना फैलायो नेपाल भ्रमण वर्ष–१९९८ ले । पर्यटन प्रवर्द्धनमा निजी क्षेत्र र सरकारले मिलेर मात्र देशमा पर्यटनको विकास हुन्छ भन्ने जनभावनालाई सुदृढ पार्न सबैलाई तत्पर बनायो नेपाल भ्रमण वर्षले । ग्रामीण पर्यटन विकासको अवधारणालाई नेपाल सरकारको कार्यक्रम तथा पञ्चवर्षीय योजनामा समाविष्ट पार्न सक्यो नेपाल भ्रमण वर्षले ।

पर्यटन मेला र महोत्सवहरू ठाउँ–ठाउँमा आयोजना हुन थाले र स्थानीय उत्पादनहरूले बजार विस्तार गर्ने सुयोग पाए । यसरी हाम्रो पर्यटनलाई नेपाल भ्रमण वर्ष–१९९८ ले व्यापकता प्रदान गर्न सक्षम साबित भएको सत्य/तथ्यलाई लुकाइराख्न सकिँदैन । पर्यटनउपर अनेकौं विधाका साहित्य सिर्जना भए । ‘लौन केही गरौं’ भन्ने पुस्तिका प्रत्येक सांसद र कर्मचारी तथा सार्वजनिक संघ-संस्थाहरूमा पुर्‍याइने अथक प्रयासहरू भए । स्थानीय स्तरमा पर्यटन महोत्सव आयोजना गर्ने लहर सुरु भयो ।

रारा महोत्सव, निग्लिहवा महोत्सव, धनकुटा महोत्सव, लेखनाथ महोत्सव, सौराहा महोत्सव, जनकपुर महोत्सव आदि केही महोत्सवहरू हुन्, जसमा पंक्तिकार स्वयंले पनि सहभागी हुने अवसर पाएको थियो । आज पुनः मुलुकका विभिन्न स्थानमा महोत्सव आयोजना गरी स्थानीय कृषक, उद्यमी र विभिन्न क्षेत्रमा संलग्न सबैलाई सहभागी गराउँदै स्थानीय आर्थिक गतिविधि बढाउनेतर्फ प्रयासहरू भइरहेका छन् ।

यो सराहनीय हो र यसको दूरगामी प्रभावहरूले मुलुकको अर्थतन्त्रको सुधारतर्फ उल्लेख्य योगदान पुर्‍याउने निर्विवाद छ । नेपाल भ्रमण वर्ष–१९९८ पश्चात् नेपाल गन्तव्य वर्ष र पोखरा भ्रमण वर्षहरू पनि मनाइए र पुनः नेपाल भ्रमण वर्ष–२०२० मनाउने नेपाल सरकारले निर्णय गर्‍यो । तर, योजनाविहीन यो कार्यक्रम सुरु हुनुअगावै तुहिएर गयो । पूर्वाधारतर्फ अनकौं सुधार नभएका होइनन् ।

तैपनि कोभिङ–१९ महामारी र त्यसपूर्वको विध्वंसकारी महाभूकम्पले गर्दा हाम्रा पर्यटन प्रवर्द्धनका प्रयासहरू अकस्मात् रोकिएको अवस्थालाई पार गर्दै पर्यटनले फेरि कोल्टे फेर्न लागेको छ । हालै सम्पन्न हाम्रो दोस्रो आमनिर्वाचनमा प्रत्याशी सबैजसो राजनीतिक दलले पर्यटन क्षेत्रलाई बडो महत्त्वका साथ आफ्ना घोषणापत्रहरूमा उल्लेख गरेको पाइयो । अब हेर्नु छ, कति गम्भीर रूपमा ती उल्लेख गरिएका विकासे नाराहरूको कार्यान्वयनमा दलहरू केन्द्रित रहने हुन् ।

पर्यटन त एउटा निरन्तर र अनवरत चलिरहने प्रक्रिया हो, जसमा प्रत्येक देशवासीको संलग्नता रहनु अत्यन्तै आवश्यक छ । परोक्ष रूपमा पर्यटन प्रक्रियामा हाम्रो संलग्नता नदेखिएला तर अपरोक्ष रूपमा हामी त्यसमा आबद्ध रहेका हुन्छौं । सरसफाइ, वातावरण, स्थानको सौन्दर्यीकरण, माग–आपूर्ति, उत्पादकत्व, उत्पादन, बजारीकरण, आगन्तुकहरूप्रतिको हाम्रो आचरण, व्यवहार र आतिथ्यता आदि । सम्पूर्ण कुराको सम्पादन सर्वसाधारणबाट धेरै प्रभावकारी रूपमा हुन सक्छ, न कि व्यवसायी र उद्योगीहरू वा सरकारबाट मात्र ।

तसर्थ, अहिलेको चरणमा सरोकारवालाहरूले ध्यान दिनुपर्ने केही विषयहरू यस प्रकार छन् । पहिलो, स्थानीय सरकार एवम् नेपाल पर्यटन बोर्डद्वारा पर्यटन सेवामा संलग्नहरूलाई मात्र होइन, स्थानीय जनसमुदायलाई पनि उपयुक्त तालिमको व्यवस्था गरिनुपर्ने । दोस्रो, नेपाल पर्यटन बोर्डसँग समन्वय गरी स्थानीय सरकारद्वारा आ–आफ्नो गाउँठाउँलाई नमुना गन्तव्यका रूपमा विकसित बनाउने परियोजनाहरूको द्रुत कार्यान्वयन हुनुपर्ने ।

तेस्रो, विभिन्न स्थानमा रहेका पर्यटकीय गन्तव्यहरूको बजारीकरण अर्थात् राजधानी वा अन्य क्षेत्रहरूमा रहेका पर्यटन उद्यमी र विशेष गरी टुर अपरेटर तथा सञ्चारमाध्यमहरूका लागि अवलोकन भ्रमणको व्यवस्था गरी उनीहरूलाई आफ्नो गाउँठाउँमा कम्तीमा तीन–चार दिनको आतिथ्यता प्रदान गर्ने ।

चौथो, स्वस्थ खानेपानी, अर्गानिक खाद्य–उत्पादन, पदयात्रुका लागि ठाउँठाउँमा दुर्गन्धरहित आधुनिक शौचालय निर्माण र पर्यावरणको संरक्षण, तथा साइनेज (मार्गदर्शक बोर्डहरू) को व्यवस्था गर्ने । संक्षिप्तमा भन्नुपर्दा, न्यूनतम आधारभूत मानवीय सेवाहरूको उपलब्धताबारेको प्रत्याभूतिबिना, पर्यटनको प्रक्रिया पूरा भएको कदाचित मान्न सकिँदैन । पर्यटक पुग्ने ठाउँहरूमा सुविधासम्पन्न प्राकृतिक पार्क, बगैंचा, चौर र क्याम्पिङ साइटहरू पनि रहनु जरुरी छ ।

पर्यटन स्वयं उत्पादन होइन, राष्ट्रको उत्पादकत्व वृद्धि गर्ने एउटा माध्यम हो, त्यसैले त हामी पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड भन्छौं । सन् २०२२ का पछिल्ला दिनहरूमा बाह्य पर्यटकहरू अनपेक्षित रूपले बढेको देखिन्छ । विशेष गरी आरोहण र पदयात्राका निम्ति आउने पर्यटकहरू बढेका छन् । मित्रराष्ट्र चीनबाट भने अझै पनि पर्यटकहरूको आगमन अवरुद्ध छ । यो खुल्नासाथ २०२३ को पर्यटक आगमनको आँकडा बढ्ने निश्चित छ ।

नेपालमा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलको कमीले विदेशी हवाई सेवाहरू नेपाल आउन नसकेको कारण देखाइयो । अहिले हामीसँग लुम्बिनी (भैरहवा) र पोखरामा विमानस्थल तयार भइसके, यद्यपि विदेशी हवाई सेवाको अवतरण एकदमै न्यून छ । राष्ट्रिय ध्वजावाहकलाई र निजी क्षेत्रका हवाई सेवाहरूलाई नीतिगत रूपमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलतर्फ धकेल्ने प्रयास भइरहेको छ । जबकि हामीले राष्ट्रिय ध्वजावाहकलाई वायुयान थपेर सशक्तीकरण गर्नुपर्ने बेला हो यो ।

सीमित वायुयान रहेको राष्ट्रिय ध्वजावाहकलाई पाखा लगाएर हामीले हवाई सेवाबाट हुन सक्ने आर्थिक लाभ गुमाउँदै जानुपर्ने हुन्छ र पर्यटनमा त्यसको प्रभाव पनि निश्चित रूपमा नकारात्मक हुँदै जाने देखिन्छ । देशको आमनिर्वाचन सकियो । समानुपातिकको अंकगणित पनि मिल्यो । दुर्भाग्यवश मुलुकले कुनै पनि राजनीतिक दललाई स्पष्ट बहुमतका आधारमा सरकार गठन गर्न सक्ने क्षमता भने प्रदान गरेन । सत्ताको हानालुछ कहिले र कहाँ टुंगिने हो भन्न सकिदैन । राष्ट्रपतीय पद च्याँखेमा परेको छ ।

सरकार गठन नहुँदै, नीति निर्माताहरूले राजनीतिमा चतुर खेलाडीको भूमिका निर्वाह गरिरहेका छन् । अहिले मात्र पर्खाैं, हेरौं अनि फेरि जनाधारबाट आउने विषयहरूउपर विचार–विमर्श गरौंला । सरकार त देशभक्त युवाहरूलाई श्रम एवं रोजगारीकोे खोजीमा दिनहुँ हजारौंको संख्या विदेशीएको तथ्यांक हेर्दै रेमिट्यान्सको आकलनमा मक्ख छ । देशको अर्थतन्त्र दुरुह अवस्थाबाट गुज्रिरहेको छ । उद्योग, वाणिज्य–व्यापार शनैःशनैः लोपावस्थामा पुगिसकेका छन् ।

नेपालको अर्थतन्त्रलाई सदाबहार बनाइराख्न पञ्चायत कालमा नै सक्षम रूपले चलिआएका, सधैं फाइदामा रहेका, देशको अर्थतन्त्रलाई निरन्तर ऊर्जा पर्‍याइरहेका हाम्रा उद्योगहरूलाई एकपछि अर्को गर्दै सम्पूर्ण सखाप पार्ने, नेपालका प्राकृतिक सम्पदाहरूलाई विदेशीहरूसँग सम्झौता गरी आफ्नो झोली भर्ने पुनरुत्थानवादीहरूको हातमा देशको नेतृत्व फेरि पनि जाने देखिएको छ । यस्तो अवस्थामा देशवासीहरूले नै सचेत भई मुलुकको संरक्षणका लागि आवश्यक किल्ला निर्माण नगर्ने हो भने सन्ततिको श्रापले के भन्ला, थाहा छैन । सतीको श्राप त भोगिरहेकै छौं । अस्तु ।

प्रतिक्रिया दिनुहोस्