Logo

कहिलेसम्म सडक आन्दोलन ?

नेपाल राष्ट्र बैंकले जारी गरेको पछिल्लो चालू पुँजी कर्जा मार्गदर्शन, चर्को ब्याजदरलगायत विषय उठाएर अहिले निजी क्षेत्र असन्तुष्ट छ । यही विषयलाई अघि सारेर मंसिर ४ को निर्वाचनअघि नेपाल उद्योग वाणिज्य महासंघ मातहतका जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, तथा नाडा अटोमोबाइल्स एसोसिएसनलगायत वस्तुगत संघ सडकमा ओर्लिएका थिए ।

होटल संघ नेपाल मातहत विभिन्न पर्यटकीय क्षेत्रका संघसंस्थाले पनि विभिन्न माग राख्दै आएका छन् । व्यवसायीहरु सडक आन्दोलनमा निस्केको अहिले मात्र होइन । चालू आर्थिक वर्षको बजेट आएसँगै उद्योगी–व्यवसायी बेखुसी बन्न सुरु भएको हो । बजेट ल्याउँदा केही व्यवसायीलाई मात्र फाइदा पुग्ने गरी करका दर हेरफेर गरिएपछि मर्कामा पर्ने व्यवसायीले विरोध जनाएका थिए ।

वनस्पति घिउतेल उत्पादक, वायर रड उद्यमी, कपडा उत्पादक, तयारी पोशाक निर्यातकर्ता, स्यानिटरी प्याड उत्पादकलगायत व्यवसायीहरुले सार्वजनिक रुपमै असन्तुष्टि जनाए । अघिल्लो वर्ष पनि स्पन्ज आइरनमा भन्सार दर कम र एमएस बिलेट आयातमा अन्तःशुल्क थप गर्दा व्यवसायी आन्दोलित भएका थिए । त्यसबेला उद्योगको तालाचाबी सरकारलाई बुझाउने चेतावनी दिइएको थियो ।

विगतमा सरकारप्रति असन्तुष्टि जनाउँदै माग पूरा गराउन सडक आन्दोलनको चेतावनी दिएका व्यवसायी सडकमा ओर्लेनन् । तर अहिले भने ब्याजदर र चालू पुँजी कर्जा मार्गदर्शनका विषयमा व्यवसायीहरु देशैभर आन्दोलित छन् । उद्योगी–व्यवसायीले चालू पुँजी कर्जामा गलत भएको स्वीकार्दै यसलाई सच्चाउन समय मागेका छन् । अहिले जारी भएको मार्गदर्शन कम्तिमा २ वर्ष पछि लागू गरेर सहयोग गर्न उनीहरुको माग छ ।

यस्तै बैंक तथा वित्तीय क्षेत्रले कर्जामा लिएको चर्को ब्याजदर कम गर्न व्यवसायीले राष्ट्र बैंकको भूमिका खोजेका छन् । खुला बजार अर्थनीति भए पनि राष्ट्र बैंकले मौद्रिक उपकरणहरु प्रयोग गरेर चर्को ब्याजलाई केही तल झारोस् भन्ने व्यवसायीको माग छ । तर यी माग पूरा गराउन उद्योगी-व्यवसायी सडकमा आउनु र त्यो क्रम पनि लामो समय चल्नुमा भने प्रश्नचिह्न लागेको छ- उद्योगी व्यवसायी सधैं सडकमा गए मुलुकको भविष्य कता जान्छ ?

सडक आन्दोलनका सदावहार विरोधी उद्योगी-व्यवसायी सडकमा उत्रनुलाई कतिपय व्यवसायीहरुले नै आलोचना गरिरहेका छन् । “व्यवसायी भएर आफैं सडकमा उत्रँदा भोलि अरुले गर्ने सडक आन्दोलनको क्षतिका विषयमा प्रश्न गर्न नैतिक रुपमा गाह्रो हुन्छ,” नेपाल उद्योग वाणिज्य महासंघका एक पदाधिकारी भन्छन्, “महासंघले निजी क्षेत्रको समस्याका विषयमा विभिन्न सरोकारवाला निकायमा कडाइका साथ आवाज उठाइरहेका बेला सडकमा देखिएको प्रदर्शनले थप जटिल अवस्था उत्पन्न गर्न सक्छ भनेर हामी सचेत हुनुपर्छ ।”

पछिल्लो समय नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको अगुवाइमा भइरहेको आन्दोलन चुनावका कारण रोकिए पनि अटोमोबाइल व्यवसायीहरु प्रत्येक दिनजसो सडकमा आएका छन् । महासंघ नेतृत्व भने सडक आन्दोलनका निमित्त जिल्ला तथा नगर उद्योग वाणिज्य संघलाई आफूहरुले प्रेरित र अवरोध दुवै नगरेको बताउँछ ।

महासंघ अध्यक्ष शेखर गोल्छा भन्छन्, “जिल्ला तथा नगर उद्योग वाणिज्य संघ महासंघका सदस्य हुनु भए पनि उहाँहरु आफ्नै विधिविधान अनुसार स्थापित संस्था हुनुहुन्छ र उहाँहरु आफ्ना गतिविधि अघि बढाउन स्वायत्त भएकाले महासंघले निर्देशन दिने वा हस्तक्षेप गर्ने भन्ने कुरा गलत हो ।”

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल बैंकको ब्याजदर विरुद्धको आन्दोलन वा व्यवसायी र बैंक सञ्चालक एकै हुनु हुँदैन भन्ने विषयको आन्दोलनलाई ‘मौसमी’को संज्ञा दिन्छन् । ब्याजदर बैंकले मात्र चाहेर घटाउन सक्ने अवस्था नभएको र यसका लागि महासंघले प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरसँग गम्भीर भएर कुरा राखेको वरिष्ठ उपाध्यक्ष ढकालले जानकारी दिए ।

सडक आन्दोलनले निजी क्षेत्रको सार्वजनिक छविमा भने क्षति पुग्नेमा व्यवसायीहरु चिन्तित देखिन्छन् । पहिलो संविधान सभापछि माओवादीले आम हड्ताल गर्दा व्यवसायीहरुकै अग्रसरतामा शान्ति भेला आयोजना गरिएको थियो । यसले हड्ताल फिर्ता गर्न माओेवादीलाई दबाब परेको थियो । यो घटनाले महासंघको छवि र व्यवसायीको सामाजिक प्रतिष्ठा बढाउन सहयोग गरेको थियो ।

हालको सडक आन्दोलनको केन्द्रमा रहेका महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ भने आफूहरुले वर्षौंदेखि ब्याजदरको विषयमा आवाज उठाइरहे पनि सुनुवाइ नभएको र पछिल्ला दिनमा अस्वाभाविक रुपमा बढेको ब्याजदर र बैंकको ताकेताका कारण सडकमा आउन बाध्य भएको बताउँछन् ।

“यहाँ वर्षौंदेखि साना व्यवसायीले उठाइरहेको कुरा सुनिँदैन,” उनले भने, “जब व्यवसायीहरु आफ्ना माग सुनाउन सडकमै आउनुपर्ने बाध्यता हुन्छ, तब अनेकौं बहाना बनाएर रोक्न खोजिन्छ ।” आफूहरु शान्तिपूर्ण रुपमा मागपत्र पेश गरेर तथा वार्ता र छलफलबाट समस्या समाधान होस् भन्ने पक्षमा रहेको भन्दै उनले सडकमा ओर्लेपछि मात्र मागका विषयमा ध्यानाकर्षण भएको बताए ।

प्रतिक्रिया दिनुहोस्